सुर्खेत, माघ २ कर्णाली प्रदेशका कुल ७९ स्थानीय तहमध्ये ३२ पालिकामा बालविवाह अन्त्य गर्ने रणनीति तयार भइसकेको छ । बालविवाहको दर उच्च हुने र त्यसले बालिकाको सामाजिक, शारीरिक, मानसिक र शैक्षिक जीवनमा नकारात्मक प्रभाव पार्ने भएकाले प्रदेशमा यस विषयलाई प्राथमिकताका साथ सम्बोधन गरिँदैछ ।बालविवाह विरुद्धको साझा सञ्जाल (क्याक्मा) को सहकार्यमा तीन वर्षको अवधिमा ती पालिकामा रणनीति निर्माण भएको हो । सञ्जालका वकालत अधिकृत निकिता कठायतका अनुसार, कर्णालीका एक सयभन्दा बढी सङ्घ संस्था सञ्जालमा आबद्ध छन् र यसको मुख्य लक्ष्य बालविवाह अन्त्य गर्नु रहेको छ ।
सञ्जालको सहयोगमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, लेकबेँसी नगरपालिका, वराहताल गाउँपालिका, रुकुमको चौरजहारी नगरपालिका, डोल्पाको जगदुल्ला गाउँपालिका, हुम्लाको खार्पुनाथ गाउँपालिका लगायतमा रणनीति तयार भइसकेको छ । यससँगै कर्णाली प्रदेश सरकारले पनि बालविवाहविरुद्धको रणनीति निर्माण गरेको छ र बाँकी पालिकामा यस कार्यलाई विस्तार गर्ने काम जारी छ ।
रणनीति तयार भएपछि स्थानीय तहले बालविवाह अन्त्यमा प्रभावकारी काम गर्न सहज हुने विश्वास गरिएको छ । त्यस्तै, सञ्जालले यही अवधिमा २० वर्षमुनिका बालविवाह गरिसकेका १२० बालिकालाई अत्यावश्यक उद्धार र सहयोग पनि उपलब्ध गराएको छ ।क्याक्मा र प्रदेश सरकारको प्रयासले आगामी दिनमा कर्णालीमा बालविवाहमा कमी आउने अपेक्षा गरिएको छ ।















