बाँकेमा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण गर्ने लक्ष्य अझै टाढा देखिएको छ । पटक–पटक अभियान सञ्चालन हुँदासमेत अपेक्षित सहभागिता नआएपछि जिल्लाका चार वटा पालिकामा १६ औँ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिकाका सबै वडा तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा फेरि औषधि खुवाउने तयारी गरिएको हो । यो अभियान राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत सञ्चालन हुँदैछ । बुधवार नेपालगन्जमा आयोजित सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत
इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महत्तोले अभियान पुनः सञ्चालन गर्नुपर्ने बाध्यताको कारण स्पष्ट पारे । उनका अनुसार एकैपटक कम्तीमा ८० प्रतिशत नागरिकले औषधि सेवन नगरेसम्म हात्तीपाइले रोग निवारण सम्भव हुँदैन । तर बाँकेका लक्षित पालिकामा त्यो मापदण्ड अझै पूरा हुन सकेको छैन । ‘एकैपटक ८० प्रतिशत मानिसले औषधि नखाएकै कारण हामीलाई १६ औँ पटक पनि अभियान सञ्चालन गर्नुपरेको हो महत्तोले भने–‘यसले हात्तीपाइले रोग निवारणलाई अझ चुनौतीपूर्ण बनाइरहेको छ ।’ स्वास्थ्य कार्यालयका अनुसार बाँके जिल्लामा पछिल्लोपटक गरिएको सर्वेक्षणमा केवल ६२ प्रतिशत मानिसले मात्रै हात्तीपाइले विरुद्धको औषधि सेवन गरेका थिए । यो संख्या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार अपर्याप्त मानिन्छ । औसतमा प्रत्येक एक सय जनामध्ये ६ दशमलव ५ प्रतिशत मानिसको शरीरमा हात्तीपाइले रोगका वयस्क परजीवी रहेको पाइएको छ । अझ चिन्ताजनक कुरा के छ भने प्रत्येक एक सय जनामध्ये करिब दुई प्रतिशत मानिसमा अरुलाई रोग सार्ने क्षमता रहेको देखिएको छ । महत्तोका अनुसार रोग निवारण भएको मानिनका लागि यो दर एक प्रतिशतभन्दा तल झर्नुपर्ने हुन्छ ।
तर हालको अवस्थाले त्यो लक्ष्य हासिल गर्न अझ धेरै मिहिनत आवश्यक रहेको देखाउँछ । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार अभियानको सबैभन्दा ठूलो समस्या औषधि सेवनप्रतिको अनिच्छा हो । विशेषगरी मुस्लिम समुदाय, मधेशी समुदाय, थारु महिला तथा केही सीमावर्ती बस्तीमा औषधि नखाने प्रवृत्ति बढी देखिएको छ । ‘औषधि खाँदा साइड इफेक्ट हुन्छ, बाँझोपन आउँछ, कमजोरी हुन्छ भन्ने भ्रम अझै पनि धेरै समुदायमा छ उनले भने–‘यसले गर्दा लक्ष्य भेट्न निकै गाह्रो भइरहेको छ ।’ खुला सीमा नाका पनि अर्को चुनौतीका रुपमा देखिएको छ । भारतसँग खुला सीमा जोडिएका कारण आवतजावत धेरै हुने र बाहिरबाट आएका मानिस अभियानको दायरामा नपर्ने समस्या रहेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ । बाँकेमा हात्तीपाइले रोग विरुद्ध विगत १५ पटकभन्दा बढी औषधि खुवाउने अभियान सञ्चालन भइसकेको छ । तर परिणाम भने अझै सन्तोषजनक छैन । अभियानहरु केवल ‘औपचारिकता पूरा गर्ने कार्यक्रम’ जस्ता बनेका छन् ।
घर–घरमा औषधि पुर्याउने, समुदायसँग गहिरो संवाद गर्ने र स्थानीय अगुवालाई प्रभावकारी रुपमा परिचालन गर्ने काम पर्याप्त हुन सकेको छैन । स्थानीयस्तरका केही स्वास्थ्यकर्मी भन्छन्–‘औषधि खुवाउने दिन आउँछ, खुवाइन्छ, रिपोर्ट बन्छ, तर मानिसको मन परिवर्तन गर्ने काम प्रभावकारी गराउन सकिएको छैन । जबसम्म समुदायले आफैं यो रोगको जोखिम बुझ्दैन, तबसम्म अभियान प्रभावकारी हुँदैन ।’ हात्तीपाइले रोग केवल स्वास्थ्य समस्या मात्रै नभई सामाजिक र आर्थिक समस्या पनि हो । यो रोगका कारण हात, खुट्टा वा जननेन्द्रिय अस्वाभाविक रुपमा सुन्निने हुँदा पीडित व्यक्ति मानसिक तनाव, सामाजिक लज्जा र आर्थिक कठिनाइमा पर्छन् । विशेषगरी मजदुरी गर्ने, कृषिमा आश्रित तथा गरिब परिवारका सदस्यमा यो रोग लाग्दा परिवारको सम्पूर्ण आर्थिक चक्र प्रभावित हुन्छ । त्यसैले समयमै निवारण गर्नु अत्यन्त आवश्यक मानिन्छ । हात्तीपाइले रोग निवारण अभियानका लागि बाँकेका ४४ लाख बजेट विनियोजन गरिएको छ । उक्त बजेटको प्रभावकारी सदुपयोग समेत हुन नसकेको देखिएको छ । समुदायस्तरमा सकारात्मक प्रभाव नै नदेखिएपछि बजेटको उपयोगिता नदेखिएको हो ।

प्रारम्भिक लक्षण
लामखुट्टेको टोकाइपछि शरीरमा परजीवी प्रवेश गरे पनि सुरुमा लक्षण नदेखिन सक्छ
हल्का ज्वरो आउने
टाउको दुख्ने
शरीर दुख्ने, थकान महसुस हुने
लिम्फ नली (ग्रन्थी) सुन्निने वा दुख्ने
हात, खुट्टा वा काखी वरिपरि हल्का सुन्निनु
विकसित लक्षण
खुट्टा असामान्य रूपमा सुन्निने
हात सुन्निने र कडा हुँदै जानु
पुरुषमा अण्डकोष अत्यधिक सुन्निनु
महिलामा स्तन वा जननेन्द्रिय वरिपरि सुन्निनु
छाला बाक्लो, कडा र खस्रो देखिनु
छालामा घाउ, संक्रमण र दुर्गन्ध आउनु
जटिल अवस्था भए
पटक–पटक ज्वरो र संक्रमण
लिम्फ तरल चुहिने (खुट्टा वा छालाबाट सेतो पानीजस्तो निस्कनु
दुखाइका कारण हिँडडुल गर्न गाह्रो हुनु
औषधि कस्ताले खाने ?
२ वर्षभन्दा माथिका सबै नागरिकले
स्वस्थ देखिने, कुनै लक्षण नदेखिएका व्यक्तिले पनि
हात्तीपाइलेको जोखिम भएको क्षेत्रमा बसोबास गर्ने सबै पुरुष र महिला
एकै घरका सबै सदस्यले एकैपटक औषधि खानुपर्छ
लक्षण नदेखिए पनि रोग सार्न सकिने भएकाले औषधि अनिवार्य हो
कस्तोले नखाने ?
२ वर्षभन्दा कम उमेरका बालबालिका
गर्भवती महिला
गम्भीर बिरामी (उच्च ज्वरो, गम्भीर संक्रमण भएका)
डाक्टरले औषधि खान नहुने भनेका व्यक्ति
हात्तीपाइलेबाट जोगिने उपाय के हुन् ?
औषधि अनिवार्य रुपमा खानु
सरकारले निःशुल्क उपलब्ध गराएको औषधि स्वास्थ्यकर्मीको उपस्थितिमा खानु
डर, भ्रम वा हल्लाको पछि नलाग्नु
















