ढकेरीका किसानहरूको अनुभवले एउटा स्पष्ट सन्देश दिन्छ, कृषि र पशुपालनलाई व्यवस्थित र व्यावसायिक बनाउने हो भने आत्मनिर्भरता सम्भव छ । विदेश रोजगारी मात्रै समाधान होइन, आफ्नै गाउँमा पनि सम्मानजनक जीवन जिउन सकिन्छ । दूधले ढकेरीका किसानहरूको जीवन बदलिँदैछ । अब आवश्यक छ, घोषणामा सीमित अनुदान होइन, व्यवहारमा देखिने सरकारी सहयोग । त्यसो भयो भने ढकेरी मात्रै होइन, बाँकेका धेरै गाउँहरू आत्मनिर्भर कृषिको उदाहरण बन्न सक्छन् ।
राप्तीसोनारी, पुस ९ राप्ती सोनारी गाउँपालिका–९ ढकेरीका किसानहरू आजभोलि दूध बिक्रीबाट आत्मनिर्भर बन्दै गएका छन् । परम्परागत कृषिमा सीमित आम्दानी गर्दै आएका यहाँका किसानहरूले व्यवस्थित दुग्ध व्यवसाय सुरु गरेपछि उनीहरूको जीवनशैली मात्र होइन, सोच र भविष्यप्रतिको भरोसा समेत बदलिएको छ ।ढकेरीका करिब ४० घरधुरी किसानहरू बुचापुरस्थित कालिका दूध डेरी मार्फत दैनिक दूध बिक्री गर्दै आएका छन् । बिहान र साँझ गाई–भैंसीको दूध संकलन गरी डेरीमा पुर्याउने यी किसानहरू भन्छन्, ‘अब घरखर्च चलाउन, छोराछोरी पढाउन वा भविष्य सुरक्षित गर्न विदेश जानु पर्ने बाध्यता हट्दै गएको छ ।’ ढकेरीकी किसान दीप्ति परियार दुग्ध व्यवसायबाट आत्मनिर्भर बन्दै गएकी प्रतिनिधि पात्र हुन् । उनीसँग हाल चारवटा जर्सी गाई छन् । ती गाईबाट बिहान–साँझ गरी दैनिक करिब ३० लिटर दूध उत्पादन हुन्छ ।
‘म नजिकैको कालिका दूध डेरीमा दूध बिक्री गर्छु,’ दीप्ति भन्छिन्, ‘त्यही दूध बेचेर घरखर्च चलिरहेको छ । अब त छोराछोरीलाई विदेश पठाउनुपर्छ भन्ने बाध्यता नै छैन ।’ दुग्ध व्यवसायबाट उनले मासिक करिब ५२ हजार रुपैयाँ आम्दानी गर्ने बताउँछिन् । उनका श्रीमान् सरकारी सेवामा कार्यरत छन् । ‘मेरो मेहनतबाट हुने आम्दानी श्रीमान्को तलबभन्दा दोब्बर छ,’ उनी गर्वका साथ भन्छिन्, ‘घरमै बसेर यस्तो सम्भव हुँदो रहेछ भन्ने उदाहरण मैले आफैंले देखेकी छु ।’

दीप्ति जस्तै ढकेरीका अन्य किसानहरूले पनि दुग्ध व्यवसायलाई मुख्य आम्दानीको स्रोत बनाउँदै लगेका छन् । पहिले खेतीपातीमा सीमित रहेका किसानहरू गाई–भैंसी पाल्न थालेपछि नियमित नगद आम्दानीको बाटो खुलेको उनीहरूको अनुभव छ । कालिका दूध डेरी उद्योगका व्यवस्थापक जितबहादुर कार्की बिहान ४ बजे नै डेरी पुगेर किसानहरूको दूध संकलन गर्ने गर्छन् । उनका अनुसार ढकेरी आसपासका किसानहरूबाट दैनिक ठूलो परिमाणमा दूध संकलन हुन्छ, जसलाई कोहलपुर बजारमा आपूर्ति गरिन्छ । ‘किसानहरू बिहानै दूध लिएर आउनुहुन्छ, हामी संकलन गरेर बजार पुर्याउँछौं,’ कार्की भन्छन्, ‘यसले किसानलाई निश्चित बजार र नियमित आम्दानी सुनिश्चित गरेको छ ।’
तर दुग्ध व्यवसाय विस्तारसँगै किसानहरूले समस्या पनि भोगिरहेका छन् । प्रदेश सरकारले दूध बिक्रीमा प्रतिलिटर तीन रुपैयाँ अनुदान दिने घोषणा गरे पनि त्यसको कार्यान्वयन हुन नसकेको किसान र डेरी सञ्चालकहरूको गुनासो छ । ‘सरकारले अनुदान दिने भनेको धेरै भइसक्यो,’ कार्की भन्छन्, ‘तर व्यवहारमा किसानले त्यो रकम पाएका छैनन् । यदि अनुदान कार्यान्वयन भयो भने किसान अझ उत्साहित हुने थिए ।’ उनका अनुसार देशमा बढ्दो वैदेशिक पलायनको विकल्प खोज्न दुग्ध व्यवसाय प्रभावकारी माध्यम बन्न सक्छ ।
‘यही ठाउँमा, यही माटोमा पसिना बगाएर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण ढकेरीका किसानहरू हुन्,’ कार्कीको भनाइ छ । स्थानीय किसानहरू पनि राज्यको सहयोगप्रति आशावादी छन् । उनीहरू भन्छन्, ‘यदि दूधमा अनुदान, पशु बीमा, सहुलियत ऋण र प्राविधिक सहयोग सुनिश्चित भयो भने अझ धेरै युवालाई गाउँमै रोक्न सकिन्छ ।’ राप्ती सोनारी गाउँपालिकाले पछिल्ला वर्षहरूमा पशुपालन प्रवद्र्धनका लागि केही कार्यक्रम सञ्चालन गरे पनि किसानहरूका अनुसार त्यो पर्याप्त छैन । दुग्ध उत्पादनसँग जोडिएका पूर्वाधार, चिस्यान केन्द्र र बजार विस्तारमा अझै राज्यको भूमिका आवश्यक छ ।
ढकेरीका किसानहरूको अनुभवले एउटा स्पष्ट सन्देश दिन्छ, कृषि र पशुपालनलाई व्यवस्थित र व्यावसायिक बनाउने हो भने आत्मनिर्भरता सम्भव छ । विदेश रोजगारी मात्रै समाधान होइन, आफ्नै गाउँमा पनि सम्मानजनक जीवन जिउन सकिन्छ । दूधले ढकेरीका किसानहरूको जीवन बदलिँदैछ । अब आवश्यक छ, घोषणामा सीमित अनुदान होइन, व्यवहारमा देखिने सरकारी सहयोग । त्यसो भयो भने ढकेरी मात्रै होइन, बाँकेका धेरै गाउँहरू आत्मनिर्भर कृषिको उदाहरण बन्न सक्छन् ।
















