२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

सरकारी बाँकी रकम नतिर्ने कोहलपुरका रानासहित ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक

कोहलपुर, माघ १२ नेपाल सरकार अर्थ मन्त्रालयअन्तर्गत महालेखा नियन्त्रक कार्यालयले सरकारी बाँकी रकम नतिर्ने कोहलपुरका एकजनासहित ५२ जना व्यक्ति तथा संस्थाको तीनपुस्ते विवरण सार्वजनिक गरेको छ । कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय, बबरमहलले पटकपटक सूचना प्रकाशित गर्दा र सम्बन्धित व्यक्तिहरूलाई व्यक्तिगतरूपमा पत्राचार गर्दा पनि सरकारी रकम असुल हुन नसकेपछि बाध्य भएर नाम सार्वजनिक गर्नुपरेको जनाएको छ ।

कार्यालयले प्रथमपटक आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै सरकारी बाँकी रकम तिर्न बाँकी रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र कार्यालयमा सम्पर्क गरी साँवा रकम तथा नियमानुसार लाग्ने ब्याजसहित रकम बुझाउन आग्रह गरेको छ । सूचनामा उल्लेख भएअनुसार तोकिएको अवधिभित्र रकम नबुझाएमा सम्बन्धित व्यक्तिको चल तथा अचल सम्पत्ति दाबी गरी प्रचलित कानुन बमोजिम असुल उपर गरिने चेतावनी दिइएको छ ।

कोहलपुर–२ स्थित केआर कन्स्ट्रक्सनका पालिका सञ्चालक अभिनास रानासहित विभिन्न ठेकेदार, व्यवसायी तथा व्यक्ति सरकारी रकम तिर्न बाँकी सूचीमा रहेका छन् । कार्यालयका अनुसार यी व्यक्तिहरूले विगत वर्षदेखि राज्यलाई बुझाउनुपर्ने राजस्व तथा अन्य सरकारी बाँकी रकम नतिरेकाले सरकारी खातामा असर परेको छ । यसअघि पनि कार्यालयले सरकारी बाँकी हुनेहरूको नाम वेबसाइटमा प्रकाशन गर्ने, घर ठेगानामा पत्र पठाउने तथा उपस्थित गराउन पटकपटक सूचना जारी गर्ने प्रयास गरेको थियो । तर, सम्बन्धित व्यक्तिहरूले बेवास्ता गर्दै रकम नबुझाएकोले कानुनी प्रक्रियाअनुसार तीनपुस्ते विवरण सार्वजनिक गरिएको हो ।

महालेखा नियन्त्रक कार्यालयले सरकारी बाँकी रकम नतिर्ने प्रवृत्तिले राज्यको आर्थिक अनुशासन कमजोर बनाउने भन्दै समयमै राजस्व तथा बाँकी रकम तिर्न सबैलाई अनुरोध गरेको छ । कार्यालयले सरकारी रकम समयमै असुल हुन नसक्दा विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा असर पर्ने जनाएको छ । सूचनामा भनिएको छ, तोकिएको समयभित्र बाँकी रकम फरफारक नगरेमा सम्बन्धित व्यक्तिको सम्पत्ति रोक्का गरी लिलाम प्रक्रियामार्फत असुली गरिनेछ । यसो गर्दा आर्थिक तथा सामाजिक क्षति भएमा कार्यालय जिम्मेवार नहुने स्पष्ट पारिएको छ ।

सरकारले पछिल्लो समय सरकारी बाँकी रकम असुली प्रक्रियालाई तीव्र बनाउँदै आएको छ । सार्वजनिक सूचना र कानुनी कारबाहीमार्फत सरकारी बाँकी रकम असुल गर्ने अभियानलाई थप प्रभावकारी बनाइने सम्बन्धित निकायले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।