लामो समयदेखि अनुभवी र उमेर पुगेका नेताहरूको वर्चस्व रहँदै आएको प्रतिनिधिसभा निर्वाचनमा यसपटक भने ४० वर्षभन्दा मुनिका उम्मेद्वारहरूको उल्लेखनीय उपस्थिति देखिएको छ । युवाहरूको बढ्दो सहभागिताले जिल्लाको राजनीतिक माहोल तातिएको छ भने मतदातामा पनि नयाँ उत्साह देखिएको छ।
नेपालगन्ज, माघ १३ बाँके जिल्लाका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा यसपटकको चुनावले फरक राजनीतिक सन्देश दिइरहेको छ । लामो समयदेखि अनुभवी र उमेर पुगेका नेताहरूको वर्चस्व रहँदै आएको प्रतिनिधिसभा निर्वाचनमा यसपटक भने ४० वर्षभन्दा मुनिका उम्मेद्वारहरूको उल्लेखनीय उपस्थिति देखिएको छ । युवाहरूको बढ्दो सहभागिताले जिल्लाको राजनीतिक माहोल तातिएको छ भने मतदातामा पनि नयाँ उत्साह देखिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बाँकेका तीनवटै क्षेत्र गरी ५६ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्, जसमा १७ जना युवा छन् ।
बाँके निर्वाचन क्षेत्र नम्बर १ मा १४ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । जसमध्ये तीनजना उम्मेदवार ४० वर्षभन्दा मुनिका छन् । तीमध्ये कुमाख–२, सल्यानका २९ वर्षीय दिपक बुढा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट उम्मेद्वार बनेका छन् । उनी उमेरका हिसाबले यस क्षेत्रका सबैभन्दा कान्छा उम्मेद्वारमध्ये एक हुन् । बुढाले बेरोजगारी, शिक्षा, स्वास्थ्य र ग्रामीण विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । उनीजस्तै कोहलपुर–११ का ३९ वर्षीय दिवाकर शर्मा स्वतन्त्र उम्मेद्वारका रूपमा चुनावी प्रतिस्पर्धामा छन् । शर्मा दलीय राजनीतिभन्दा बाहिर रहेर स्थानीय समस्या संसदमा उठाउने प्रतिबद्धता जनाउँदै आएका छन् । कोहलपुर–११ कै ४० वर्षीया सुर्जा थापा नेपाल मजदुर किसान पार्टीबाट उम्मेद्वार बनेकी छन् । महिला सहभागिता, श्रमिक हित र सामाजिक न्यायका विषय उनका मुख्य एजेन्डा हुन् ।

बाँके निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेद्वारको संख्या झन् बढी छ । यहाँ २० जना उम्मेद्वारबीच प्रतिस्पर्धा हुँदैछ । यीमध्ये पाँचजना ४० वर्षमुनिका उम्मेदवार हुन् । डुडुवा–६ का ४० वर्षीय इरफान अहमद शेख राष्ट्रिय जनमोर्चा पार्टीबाट उम्मेद्वार बनेका छन् । शेखले किसानका समस्या, सीमा क्षेत्रका चुनौती र सामाजिक न्यायका विषयलाई जोड दिँदै आएका छन् । नेपालगन्ज–४ का ३७ वर्षीय दिपेन्द्र विष्ट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेद्वार बनेका छन् । उनले युवा रोजगारी, सहरी पूर्वाधार विकास र सुशासनलाई प्राथमिकता दिएको बताउँछन् । नेपालगन्ज–२२ का ३४ वर्षीय मोहम्मद आजाद साई जनमत पार्टीबाट उम्मेद्वार बनेका छन् । अल्पसंख्यक समुदायको प्रतिनिधित्व र समान अधिकार उनका मुख्य एजेन्डा हुन् ।
यसै निर्वाचन क्षेत्रमा नेपालगन्ज–१८ का ३७ वर्षीय विपेन्द्र लामा तामाङ स्वतन्त्र उम्मेद्वारका रूपमा चुनावी मैदानमा छन् । उनी स्थानीय तहबाट उठेका समस्यालाई केन्द्रसम्म पुर्याउने उद्देश्यसहित उम्मेद्वार बनेको बताउँछन् । नेपालगन्ज–१० का ३७ वर्षीय सौभाग्य जंग शाह पनि स्वतन्त्र उम्मेद्वार हुन् । स्वतन्त्र उम्मेद्वारहरूको उल्लेखनीय उपस्थितिले दलीय राजनीतिप्रति मतदाताको भरोसा कमजोर हुँदै गएको र विकल्प खोज्ने प्रवृत्ति बढ्दै गएको संकेत गर्ने विश्लेषकहरू बताउँछन् ।
सबैभन्दा बढी उम्मेद्वार रहेको बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा २२ जना उम्मेद्वारबीच कडा प्रतिस्पर्धा हुँदैछ । २२ जनामध्ये नौजना ४० वर्षमुनिका युवा छन् । यस क्षेत्रमा पनि युवा उम्मेद्वारहरूको बाहुल्य देखिन्छ । नारायण–५, दैलेखका ३५ वर्षीय खगेन्द्र सुनार राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका छन् । उनले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको एजेन्डालाई केन्द्रमा राखेर प्रचार अभियान अघि बढाएका छन् । बढैयाताल–१, बर्दियाका २९ वर्षीय चेतबहादुर ओली स्वतन्त्र उम्मेद्वारका रूपमा चुनावी मैदानमा छन् । उनी युवा पुस्ताको आवाज संसदमा पुर्याउने दाबी गर्छन् ।
बैजनाथ–१ का ३९ वर्षीय ध्रुवराज थारु उन्मुक्ति पार्टी नेपालबाट उम्मेद्वार बनेका छन् । थारु समुदायका अधिकार, भूमि समस्या र सामाजिक न्याय उनका प्रमुख एजेन्डा हुन् । बढैयाताल–१, बर्दियाका २८ वर्षीय पदमबहादुर घर्ती मगर स्वतन्त्र उम्मेद्वार हुन् । जानकी–३ का २९ वर्षीय फिरोज खाँ जनमत पार्टीबाट उम्मेद्वार बनेका छन् । खजुरा–३ की ४० वर्षीया भूमि महत्तरा नेपाल मजदुर किसान पार्टीबाट उम्मेद्वार बनेकी छन्, जसले श्रमिक हित र महिला अधिकारका विषय उठाउँदै आएकी छन् ।
यसै क्षेत्रका बैजनाथ–३ का ३७ वर्षीय मनोजकुमार थारु मंगोल नेशनल अर्गनाइजेशनबाट उम्मेद्वार बनेका छन् भने नेपालगन्ज–१६ का ३६ वर्षीय मुवारक अली दर्जी राष्ट्रिय जनमत पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन् । खजुरा–४ का ३७ वर्षीय रुपककुमार चन्द मितेरी पार्टी नेपालबाट उम्मेद्वार बनेका छन् । यी सबै उम्मेद्वारको साझा विशेषता भनेकै उमेर र परिवर्तनको चाहना हो ।
बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा ४० वर्षमुनिका उम्मेद्वारको वर्चस्वले मतदातामा आशा र चासो दुवै बढाएको छ । युवा उम्मेद्वारहरूले बेरोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन र पारदर्शिताजस्ता विषयलाई प्रमुख एजेन्डा बनाएका छन् । विशेषगरी युवा मतदाताको संख्या धेरै रहेको बाँकेमा युवै उम्मेद्वार मैदानमा उत्रिनुले चुनावी परिणाममा असर पार्ने अनुमान गरिएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको निर्वाचन दलहरूबीचको मात्र प्रतिस्पर्धा नभई पुस्तान्तरण र राजनीतिक संस्कृतिमा परिवर्तनको संकेत पनि हो । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बाँकेका तीनवटै क्षेत्रमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । युवाहरूको यो बलियो उपस्थितिले बाँकेको राजनीतिक भविष्य कुन दिशामा जान्छ भन्ने चासो सबैमा बढेको छ ।












