चुनाव नजिकिँदै जाँदा किसानको अपेक्षा स्पष्ट छ । उनीहरू ठूला नाराभन्दा व्यवहारिक कार्यक्रम चाहन्छन् । पशुपालनलाई उद्योगका रूपमा विकास गर्ने दीर्घकालीन योजना, सेवा पहुँच र बजार व्यवस्थापनमा सुधार भए मात्र गाउँको अर्थतन्त्र सुदृढ हुने उनीहरूको निष्कर्ष छ ।
राप्तीसोनारी, फागुन ८ बिहानको मधुरो घामसँगै गोठतिर लाग्ने यहाँका किसानको दैनिकीले गाउँको अर्थतन्त्र बोकिरहेको छ । खेतबारीसँगै पशुपालन यहाँको मुख्य आयस्रोत हो । तर चुनावी मौसम चर्किँदै जाँदा पनि किसानका वास्तविक मुद्दा भने राजनीतिक भाषणका बीच कतै हराइरहेका छन् । त्यसैले यहाँका किसान भन्छन, ‘यसपटक चुनावमा पशुपालनकै मुद्दा उठ्नुपर्छ ।’ विकासका ठूला योजना मात्र होइन, गोठका समस्या पनि चुनावी मुद्दा बन्नु पर्ने यहाँका पशुपालक किसान बताउँछन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिका १०४१.७३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यसको ठूलो भूभाग बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । वरिपरि सामुदायिक वन क्षेत्र प्रशस्त छन् । घाँसेमैदान र खुला भूगोलले चरिचरणका लागि उपयुक्त वातावरण बनाएको छ । यही कारण यहाँका अधिकांश घरधुरीले गाई, भैंसी, बाख्रा वा बंगुर पालेर जीवन धानिरहेका छन् । तर सम्भावना हुँदाहुँदै पनि पशुपालन पूर्ण व्यावसायिक बन्न नसकेको किसानहरू बताउँछन् ।
राप्तीसोनारी–३ की किसान उर्मिला थारु बिहानै गाई दुहेर फर्किंदै गर्दा भेटिइन् । उनले पशुपालनबाट घरखर्च धाने पनि यसलाई विस्तार गर्ने आत्मविश्वास भने नभएको बताइन् । ‘उन्नत जातका गाईभैंसी पाउन गाह्रो छ,’ उनले भनिन्, ‘सरकारले अनुदान दिन्छ भन्ने सुनिन्छ, तर कसरी पाउने भन्ने स्पष्ट जानकारी हुँदैन । कतिपयले पाए, कतिपयले पाएनन् ।’
उर्मिलाका अनुसार स्थानीय जातका पशुबाट उत्पादन सीमित हुन्छ । उत्पादन कम हुँदा लागत धान्नै मुस्किल पर्छ । ‘दाना, औषधि, सबै महँगो छ । दूधको मूल्य भने उस्तै,’ उनी भन्छिन् । पशु बिरामी पर्दा झन् समस्या थपिन्छ । गाउँमा नियमित पशु चिकित्सक नहुँदा सामान्य रोगले पनि ठूलो क्षति पुर्याउँछ । ‘घरदेखि टाढा लैजानुपर्छ । खर्च पनि धेरै, समय पनि धेरै,’ उनले गुनासो गरिन् ।
वीरजित थारु पनि यस्तै समस्या सुनाउँछन् । उनका अनुसार पशु रोग नियन्त्रणमा कमजोरी छ । ‘खोप कार्यक्रम सबै ठाउँमा पुग्दैन । रोग फैलिएपछि मात्र हतार हुन्छ,’ उनले भने । निजी मेडिकलबाट औषधि किन्नुपर्दा लागत झन् बढ्छ । तर दूध र मासुको मूल्य स्थिर छैन । ‘बजारमा बिचौलियाको दबाब छ । हामीले भनेजति मूल्य पाउँदैनौँ,’ उनले सुनाए ।
वीरजितको बुझाइमा बजारको अस्थिरता पशुपालनको सबैभन्दा ठूलो चुनौती हो । किसानले मेहनत गरेर उत्पादन बढाए पनि उचित मूल्य नपाउँदा निराशा बढेको छ । ‘यदि न्यूनतम समर्थन मूल्य तय हुन्थ्यो भने हामीलाई केही स्थिरता मिल्थ्यो,’ उनले भने । चिस्यान केन्द्र, भण्डारण र प्रशोधन सुविधा अभावले किसान कच्चा दूध बेच्न बाध्य छन् । ‘यहाँ नै घ्यू, पनिर, दही बनाउने उद्योग भए आय बढ्थ्यो,’ उनी भन्छन् ।
राप्तीसोनारीको भूगोलले अर्को चुनौती पनि बोकेको छ । निकुञ्ज र वन क्षेत्र नजिक हुँदा चरिचरणमा विभिन्न प्रतिबन्ध छन् । किसान धनसिंह चौधरीका अनुसार वनमा घाँस काट्न वा पशु लैजान सहज छैन । ‘कहिले अनुमति चाहिन्छ, कहिले रोक लगाइन्छ,’ उनले भने । जंगली जनावरको आक्रमणले पनि पशुधनमा क्षति पुर्याउने गरेको छ । ‘बाछाबाछी मारिन्छन् । क्षतिपूर्ति प्रक्रिया झन्झटिलो छ,’ उनले सुनाए ।
प्राकृतिक विपत्तिले पनि पशुपालनलाई अस्थिर बनाएको छ । बाढीले गोठ डुबाउने, खडेरीले घाँस सुकाउने र अत्यधिक चिसोले पशु बिरामी पार्ने समस्या दोहोरिन्छ । बीमा सेवा सहज भए जोखिम कम हुन सक्थ्यो, तर प्रक्रिया जटिल भएको किसानको भनाइ छ । सहुलियत ऋण लिन पनि कागजी झन्झट र धितोको समस्या छ ।
अनुदान वितरणमा पारदर्शिता अभाव रहेको गुनासो पनि व्यापक छ । सूचना समयमै नपुग्ने, प्रक्रिया अस्पष्ट हुने र पहुँचवालाले प्राथमिकता पाउने आरोप किसानले लगाउँछन् । तालिम र प्रविधिसम्बन्धी ज्ञानको कमीले पनि उत्पादन वृद्धि अवरुद्ध भएको उनीहरूको बुझाइ छ । आधुनिक गोठ व्यवस्थापन, पोषण र रोग नियन्त्रणबारे नियमित तालिम आवश्यक रहेको उनीहरू बताउँछन् ।
युवाशक्ति विदेश पलायन हुँदा गोठमा श्रम अभाव भएको छ । ‘युवा विदेश गएका छन् । बुढापाकाले मात्र सम्हाल्नुपर्छ,’ उर्मिला भन्छिन् । यदि पशुपालन लाभदायी र सम्मानित पेशा बने युवाहरू फर्कन सक्ने उनीहरूको विश्वास छ । चुनाव नजिकिँदै जाँदा किसानको अपेक्षा स्पष्ट छ । उनीहरू ठूला नाराभन्दा व्यवहारिक कार्यक्रम चाहन्छन् । पशुपालनलाई उद्योगका रूपमा विकास गर्ने दीर्घकालीन योजना, सेवा पहुँच र बजार व्यवस्थापनमा सुधार भए मात्र गाउँको अर्थतन्त्र सुदृढ हुने उनीहरूको निष्कर्ष छ ।
राप्तीसोनारीको माटो, वन–निकुञ्जको छेउछाउ र यहाँका किसानको अनुभवले पशुपालनका अपार सम्भावना बोकेको छ । तर नीतिगत समन्वय र प्रभावकारी कार्यान्वयन बिना त्यो सम्भावना साकार हुँदैन । गोठबाट उठेको आवाज यही हो, ‘यसपटक चुनावी बहसमा पशुपालन केन्द्रमा आउनुपर्छ ।’ किसानको पसिना र मेहनतलाई सम्मान गर्ने नीतिहरू लागू भए मात्र राप्तीसोनारीका गोठमा स्थायित्व र समृद्धिको उज्यालो फैलिनेछ ।
चुनावी मुद्दा किन बन्नुपर्छ ?
राप्तीसोनारीमा कृषिसँगै पशुपालन मुख्य आर्थिक आधार हो । तर राजनीतिक दलका घोषणापत्रमा पशुपालनका ठोस कार्यक्रम कमै देखिन्छन् । किसानहरू चाहन्छन्,–
– उन्नत जातका पशु उपलब्धता
– नियमित पशु चिकित्सक र औषधि सेवा
– प्रभावकारी खोप कार्यक्रम
– न्यूनतम समर्थन मूल्य
– चिस्यान केन्द्र र प्रशोधन उद्योग
– सहुलियत ऋण र सरल बीमा
– वन क्षेत्रसँग समन्वय गरेर चरिचरण व्यवस्था
– पारदर्शी अनुदान वितरण
– तालिम र प्रविधि विस्तार





















