बुटवल, फागुन ११ रूपन्देही–२ निर्वाचन क्षेत्र आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशभर चुनावी माहौल अत्यधिक तातिरहेको छ । बुटवल बजार, तिलोत्तमा र सैनामैना नगरपालिकाका २३ वटै वडा समेटिएको यस क्षेत्रमा उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष संवाद गर्दै प्रचारप्रसार तीव्र पारेका छन् । मतदाता घरदैलो, चौपारी, चिया पसल र खेतबारीसम्म पुगेर आफ्नो अपेक्षा, नाराजगी र नयाँ उम्मेदवारप्रति आकर्षण व्यक्त गरिरहेका छन् ।
बुटवल–११ बुद्धनगर चौपारीमा भेटिएका ८२ वर्षीय थम्मनबहादुर विश्वकर्माले आफू लामो समयदेखि नेकपा एमालेमा विश्वास राख्दै मतदान गर्दै आएको बताए । तर, उनले यसपटक भोटको निर्णय अझै गर्न नसकेको उल्लेख गरे । उनका घरका अन्य सदस्यले नयाँ उम्मेदवारलाई भोट दिन सुझाइरहेका छन् । ‘पछिल्लो समय विकास निर्माणका केही काम भए पनि सर्वसाधारणको जीवनस्तरमा ठोस परिवर्तन देखिएको छैन’, विश्वकर्माले भने ।
त्यस्तै, ६७ वर्षीय लालबहादुर नेपालीले विगतमा नेताहरूबाट आश्वासन मात्र पाइए पनि सुकुम्बासी समस्या, लालपुर्जा नपाउनु र उद्योग बन्द जस्ता समस्याको समाधान नभएको बताए । ‘अब जनताको समस्या समाधान गर्नसक्ने उम्मेदवारलाई भोट दिनुपर्छ’, उनले भने । होमनाथ डोटेल र कृष्णचन्द्र पौडेलले भने आफू पहिलेदेखि नै एमालेलाई भोट दिने बताउँदै यसपटक पनि पुरानै उम्मेदवार विष्णु पौडेललाई नै समर्थन गर्ने स्पष्ट पार्नुभयो । डोटेलले पूर्वअर्थमन्त्री पौडेलले क्षेत्रका विकासमा महत्वपूर्ण योगदान पुर्याएको उदाहरण दिएका छन् ।
तर, सिर्जना नगर, तिलोत्तमा–३, र मजुवा क्षेत्रका मतदाताहरू भने नयाँ दल र नयाँ उम्मेदवारप्रति आकर्षित देखिन्छन् । गणेश थापा, शंकर गैरे र प्रकाश रानाले भोट परिवर्तन गर्ने योजना बनाएका छन् । उनीहरूले पुराना दलले पटकपटक चुनाव जिते पनि जनताको वास्तविक समस्या समाधान गर्न नसकेको कारण नयाँ दलमा भोट दिनुपर्ने धारणा राखेका छन् । मतदाता रामबहादुर–मतिसरा कुमालले तिनाउ नदी कटान र बस्ती जोगाउन तटबन्ध निर्माण जस्ता माग पुरा नभएको भन्दै नयाँ उम्मेदवारको उम्मेदवारीलाई समर्थन गर्न सक्ने बताएका छन् ।
उक्त निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल, नेपाली कांग्रेसबाट महासमिति सदस्य चुन्नप्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शुलभ खरेल, नेपाली कम्युनिस्ट पार्टीबाट सुवास पाण्डे (विश्वदीप) लगायत ३९ जना उम्मेदवार मैदानमा छन् । यस क्षेत्रका मतदातामा ‘यसपटक नयाँलाई’ भन्ने धारणा बढेको देखिन्छ । तर, पुराना दलहरूको स्थायित्व र स्थानीय मतदाताको पारंपरिक सम्बन्धले नयाँ दलको चुनाव जित सहज बनाएको छैन ।
पूर्वमन्त्री विष्णु पौडेलले यही क्षेत्रबाट पटकपटक चुनाव जित्दै शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन र पूर्वाधारमा महत्वपूर्ण कामहरू सम्पन्न गरिसकेका छन् । बुटवल अन्तर्राष्ट्रिय सभा हल (बीआईसीसी), अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल, लुम्बिनी सभा हल, बुटवल–भैरहवा छ लेन सडक, सिद्धबाबा सुरुङमार्ग, बुटवल–नारायणगढ र बुटवल–चन्द्रौटा सडक, तिनाउ नदीमा सिग्नेचर ब्रिज, मोतिपुर औद्योगिक क्षेत्र र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलगायत परियोजना उनका योगदानका उदाहरण हुन् ।
२०७९ सालको निर्वाचनमा विष्णु पौडेलले २७ हजार १४७ मत प्राप्त गर्दै चौथोपटक विजयी भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल २५ हजार ७८१ मतसहित दोस्रो भएका थिए । तत्कालीन सत्ता गठबन्धनको समर्थन पाएको राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले २२ हजार ८ मत पाएका थिए । यसपटक मतदाता संख्या १ लाख ३५ हजार ५० रहेको रूपन्देही–२ मा मतदाताको प्राथमिकता र मतदान शैली निर्णायक हुनसक्नेछ ।
मतदाताले पार्टी भन्दा पनि उम्मेदवारको क्षमता, पूर्व योगदान र विकास निर्माणमा साकारात्मक प्रभाव हेर्ने प्रबल संकेत देखिएका छन् । नयाँ दल र उम्मेदवारप्रति आकर्षण बढेको भए पनि पुराना दलका अनुभवी नेताहरूको प्रभाव र स्थानीय विश्वास अझै निर्णायक छ । मतदाता आफ्नै विवेक प्रयोग गर्दै निर्वाचन दिनसम्म आफ्नो निर्णय सुरक्षित राख्ने प्रवृत्ति देखिन्छ ।
यसरी रूपन्देही–२ मा चुनावी माहौल सक्रिय बनेको छ । मतदाताले पुराना दल र नयाँ उम्मेदवारको तुलना गरी आगामी निर्वाचनमा आफ्नो मत दिने तयारी गरिरहेका छन् । यस क्षेत्रको परिणाम देशका अन्य निर्वाचन क्षेत्रका लागि पनि सूचक बन्न सक्ने देखिन्छ ।





















