२०८३ बैशाख १८ शुक्रबार
२०८३ बैशाख १८ शुक्रबार

नयाँ र पुराना दल डिजिटल ‘ट्रेन्ड’ र ‘ग्राउण्ड जिरो’ को भिन्नता !

विश्लेषकहरूका अनुसार सामाजिक सञ्जाल र भौतिक राजनीतिक सहभागिता एउटै कुरा होइनन् । सामाजिक सञ्जालमा सक्रिय प्रयोगकर्ता सबै मतदाता हुँदैनन् । डिजिटल प्लेटफर्ममा युवापुस्ता हावी छ, तर ग्रामीण भेगमा अझै पनि घरदैलो अभियान, स्थानीय नेतासँगको सम्बन्ध र संगठनात्मक संरचनाले प्रभाव पार्छ । सामाजिक सञ्जालमा आक्रामक धारणा निर्माण हुन सक्छ, तर मौन बहुमत सधैं बोल्दैन ।

 

नेपालगन्ज, फागुन १७  भदौं २३ र २४ गतेको आन्दोलनपछि देशको राजनीतिक वातावरण एकाएक तरंगित बन्यो । पुराना भनिएका दलका शीर्ष नेताहरू सार्वजनिकरूपमा देखिनै मुस्किल भयो । उत्तेजित भीडले आक्रामकरूप लिँदा नेताहरूले असुरक्षित महसुस गरे । कतिपय घरभित्रै सीमित भए, केही सुरक्षित स्थानतर्फ सरे । सामाजिक सञ्जालमा उनीहरूमाथि तीव्र आलोचना र आक्रोश पोखियो । फेसबुक, टिकटक र युट्युबका ‘लाइभ’ तथा पोस्टहरू हेर्दा लाग्थ्यो, ‘अब पुराना दलहरूको समय सकिएको छ ।’

तर राजनीति स्थिर भावनाले होइन, समयको प्रवाहले चल्छ भने झै केही सातामै दृश्य फेरिन थाल्यो । नेताहरू सामाजिक सञ्जालमै देखिन थाले । आलोचनाको प्रतिवाद गर्दै होइन, बरु संयमित प्रतिक्रिया दिँदै, कमजोरी स्वीकार्दै र सुधारको प्रतिबद्धता जनाउँदै उनीहरू पुनः सार्वजनिक बहसमा फर्किए । डिजिटल संसारमा भने नयाँ शक्ति र नयाँ अनुहारहरूको प्रभाव उच्च देखिन थाल्यो । कतिपयले त सामाजिक सञ्जालको माहोललाई नै आगामी सरकारको संकेतका रूपमा व्याख्या गर्न थाले ।

यही बीचमा दुई ठूला दलका महाधिवेशन सम्पन्न भए । नेकपा एमालेले पुरानै नेतृत्वलाई निरन्तरता दिँदा स्थायित्व र अनुभवलाई प्राथमिकता दिएको सन्देश दियो । उता नेपाली कांग्रेसभित्र भने विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भयो । युवामाझ लोकप्रिय मानिने गगनकुमार थापा सभापतिमा निर्वाचित भए । ‘बदलियौं कांग्रेस, बदल्छौं देश’ भन्ने नाराले पार्टीभित्रको रूपान्तरणलाई राजनीतिक सन्देशमा रूपान्तरण गर्ने प्रयास गरियो ।

निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालमा नयाँ दल र नयाँ अनुहारहरूको चर्चा व्यापक छ । तर चुनावी मैदानमा देखिएको भीडले डिजिटल लहरलाई सिधै परिणाममा रूपान्तरण भइसकेको निष्कर्ष निकाल्न हतारो नगर्न सचेत गराउँछ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बिहीबार आयोजित कांग्रेसको चुनावीसभामा उल्लेख्य उपस्थिति देखियो । केही दिनअघि त्यही स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी कार्यक्रममा पनि उस्तै भीड थियो । फरक दल, फरक वक्ता, तर भीडको आकार करिब समान । यसले एउटा प्रश्न उठायो, ‘के सामाजिक सञ्जालले देखाएको एकतर्फि समर्थन वास्तविक मतपरिवर्तन हो ?’
वीरेन्द्रनगरबाटै हेलिकोप्टरमार्फत बाँकेको नेपालगन्ज नजिकको जानकी गाउँपालिकामा पुगेको कांग्रेसको सभामा हजारौँ कार्यकर्ता सहभागी भए । त्यसको भोलिपल्ट बुटवलमा पनि उत्साह घटेन ।

पुराना दलविरुद्ध वितृष्णा बढेको भाष्यबीच यी कार्यक्रमहरूले संगठनात्मक बल र स्थानीय तहसम्मको पहुँच अझै सक्रिय रहेको संकेत दिए । विश्लेषकहरूका अनुसार सामाजिक सञ्जाल र भौतिक राजनीतिक सहभागिता एउटै कुरा होइनन् । सामाजिक सञ्जालमा सक्रिय प्रयोगकर्ता सबै मतदाता हुँदैनन् । डिजिटल प्लेटफर्ममा युवापुस्ता हावी छ, तर ग्रामीण भेगमा अझै पनि घरदैलो अभियान, स्थानीय नेतासँगको सम्बन्ध र संगठनात्मक संरचनाले प्रभाव पार्छ । सामाजिक सञ्जालमा आक्रामक धारणा निर्माण हुन सक्छ, तर मौन बहुमत सधैं बोल्दैन ।

सुर्खेतका नागरिक समाजका अगुवाहरूका अनुसार सामाजिक सञ्जालको भीडले धारणा निर्माण गर्छ, तर त्यसले मतपेटिकामा कस्तो परिणाम दिन्छ भन्ने निश्चित हुँदैन । कतिपय मतदाता सार्वजनिकरूपमा प्रतिक्रिया दिन हिच्किचाउँछन् । डिजिटल आक्रमण र ट्रोलिङको डरले मौन बस्नेहरू पनि छन् । यसरी हेर्दा सामाजिक सञ्जालको चित्र र वास्तविक जनमतबीच दूरी हुन सक्छ । नयाँ दलहरू डिजिटल अभियानमा दक्ष देखिएका छन् । उनीहरूले सन्देश, दृश्य र प्रविधिको प्रयोगमार्फत प्रभाव निर्माण गरेका छन् । पुराना दलहरू भने परम्परागत संगठन र प्रत्यक्ष सम्पर्कमा निर्भर छन् । यसले सामाजिक सञ्जालमा नयाँ शक्ति बलियो देखिए पनि मैदानमा पुरानै दलको उपस्थिति उल्लेख्य रहनुको कारण स्पष्ट पार्छ ।

यसबीच अर्को प्रश्न पनि उठेको छ, ‘आन्दोलनमा उत्रिएका सबै नागरिक के पुराना दल त्यागेर नयाँ दलतर्फ लागेका हुन् ?’ धेरैको तर्क छ, ‘आन्दोलन दलविरुद्धभन्दा पनि भ्रष्टाचार, कुशासन र राजनीतिक अस्थिरताविरुद्ध थियो ।’ यदि पुराना दलहरूले आत्मसमीक्षा गर्दै सुधारको प्रयास गरे भने मतदाता पूर्णरूपमा टाढा जाने अवस्था नहुन सक्छ । कांग्रेसले नेतृत्व परिवर्तनमार्फत त्यही सन्देश दिन खोजेको देखिन्छ भने एमालेले अनुभव र निरन्तरताको कार्ड खेलिरहेको छ ।

यद्यपि जनतामा परिवर्तनको चाहना प्रबल छ । टिकट वितरण, आन्तरिक लोकतन्त्र र पारदर्शिताका प्रश्नमा नयाँ भनिएका दलहरू पनि आलोचनाबाट मुक्त छैनन् । यसले केही समर्थक निराश भएको संकेतहरू देखिन्छन् । त्यसैले चुनावी प्रतिस्पर्धा अब ‘पुराना बनाम नयाँ’ को सरल विभाजनभन्दा जटिल बन्दै गएको छ । अन्ततः, सामाजिक सञ्जालले राजनीतिक बहसलाई तीव्र बनाएको छ । तर निर्वाचन परिणाम डिजिटल ‘ट्रेंड’ले होइन, मतपेटिकाले निर्धारण गर्छ । वीरेन्द्रनगर, जानकी र बुटवलका चुनावी सभाहरूले देखाएको भीडले कम्तीमा यति संकेत गरेको छ, ‘पुराना दल पूर्णरूपमा किनारामा पुगेका छैनन् ।’

अबको प्रश्न एउटै छ, ‘के उनीहरूले जनताको अपेक्षा पूरा गर्न सक्छन् ?’ यदि सके, भीड मतमा रूपान्तरण हुनेछ । नसके, सामाजिक सञ्जालमा देखिएको असन्तोष कुनै दिन मैदानमा पनि स्पष्ट देखिन सक्छ । नेपालको राजनीति अहिले यही दोधारमा उभिएको छ, जहाँ डिजिटल धारणा र भौतिक सहभागिताबीचको अन्तर अन्तिम परिणामले मात्र स्पष्ट पार्नेछ ।

नयाँ दलमा आकर्षण छ, तर मत घटेको संकेत छैन


नमस्कार शाह

नागरिक समाजका अगुवा, नेपालगन्ज
नेपालगन्जका नागरिक समाजका अगुवा नमस्कार शाह सामाजिक सञ्जालमा देखिने राजनीतिक प्रवृत्तिलाई ‘भीड–मनोविज्ञान’सँग जोडेर विश्लेषण गर्छन् । उनका अनुसार सामाजिक सञ्जाल प्रायः भीडबाट प्रभावित हुन्छ र त्यही धारतिर उभिन्छ । कुनै विषय आफूलाई चित्त नबुझे पनि धेरै नागरिक प्रतिक्रिया दिन हिच्किचाउँछन्, किनकि फरक मत राख्दा आक्रमण, ट्रोलिङ र अनावश्यक तनावको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । त्यसैले बोल्न चाहनेहरू पनि मौन बस्न बाध्य हुने परिस्थिति रहेको उनको भनाइ छ ।
शाहका अनुसार सामाजिक सञ्जालमा युवा पुस्ता बढी सक्रिय छ, तर सबै जिम्मेवार र परिपक्व मतदाता त्यहाँ प्रतिनिधित्व भएका छैनन् । कतिपय जिम्मेवार नागरिक त जानाजानी सामाजिक सञ्जाल प्रयोग नगर्ने समूहमा छन् । त्यसैले डिजिटल गतिविधिकै आधारमा कसैको वास्तविक लोकप्रियता नाप्न नमिल्ने उनको तर्क छ ।
उनी भन्छन्, ‘पुराना दलहरूको सांगठनिक आधार अझै बलियो छ । जेनजी आन्दोलनमा सहभागी धेरै नागरिकले पार्टी सदस्यता त्यागेका थिएनन्, उनीहरू भ्रष्टाचार र कुशासनविरुद्ध उत्रिएका थिए, दल परिवर्तनका लागि होइन । अहिले पुराना दलहरूले सुधार र परिवर्तनको प्रतिबद्धता जनाइरहेका छन् ।’ तर नयाँ भनिएका दलहरूले मूल मर्मअनुसार स्पष्ट संकेत दिन नसकेको र टिकट वितरणसमेत पुरानै शैलीमा भएको देखिँदा अपेक्षित परिवर्तनको सन्देश कमजोर भएको शाहको विश्लेषण छ । नयाँ दलप्रति आकर्षण भए पनि पुराना दलबाट मत उल्लेख्य रूपमा घटेको संकेत नदेखिएको उनको निष्कर्ष छ ।

नयाँ दलको बल सामाजिक सञ्जाल, पुरानाको संगठन

पीताम्बर ढकाल

नागरिक समाजका अगुवा, सुर्खेत
सुर्खेतका नागरिक समाजका अगुवा पीताम्बर ढकाल नयाँ र पुराना दलबीचको प्रतिस्पर्धालाई डिजिटल प्रभाव र सांगठनिक संरचनाको दृष्टिकोणबाट हेर्छन् । उनका अनुसार नयाँ दल सामाजिक सञ्जाल सञ्चालनको सीप र विधामा दक्ष छन् । उनीहरू सन्देश प्रवाह, दृश्य प्रस्तुति र डिजिटल अभियानमा अघि भएकाले प्रभाव धेरै देखिन्छ । पुराना दल भने सामाजिक सञ्जाल प्रयोगमा त्यति सक्रिय नभएकाले केही फिक्का देखिएका हुन् ।

सामाजिक सञ्जालका प्रयोगकर्ता धेरै देखिँदैमा मतदाता पनि त्यत्तिकै छन् भन्ने निष्कर्ष निकाल्न नमिल्ने उनको भनाइ छ । प्रयोगकर्ताको सक्रियता र मतदाताको वास्तविक झुकाव फरक हुन सक्छ । उनका अनुसार सामाजिक सञ्जालमा पुराना दलका मतदाता घटे जस्तो देखिए पनि भौतिक सभाहरूमा देखिएको भीडले मतदाता आधार घटेको पुष्टि गर्दैन ।

ढकाल भन्छन्, ‘अन्तिम निर्णय निर्वाचनले नै दिने हो । अहिलेको अवस्थाबाट ठोस परिणामको अनुमान गर्न कठिन छ ।’ तथापि, पुराना दलले आफ्नो प्रभाव पूर्ण रूपमा गुमाइसकेको निष्कर्ष निकाल्न हतारो गर्न नहुने उनको धारणा छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।