नेपालगन्ज, चैत ४ बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद इस्तियाक राईले चुनावी प्रतिबद्धता अनुसार मालपोत कार्यालयमा निःशुल्क हेल्प डेस्क स्थापना गरेका छन् । सेवा लिन आउने सर्वसाधारणलाई सहजता प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको उक्त हेल्प डेस्कले जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) को श्रेस्ता कायम गर्न निःशुल्क सहयोग गर्नेछ । चुनावी अभियानका क्रममा राईले जितेको १५ दिनभित्र मालपोत कार्यालयमा हेल्प डेस्क स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए । सोही वाचा पूरा गर्दै उनले प्रदेश सरकार र नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरी सेवा सुरु गराएका हुन् । हेल्प डेस्क सञ्चालनमा आएपछि सेवाग्राहीले लेखापढी व्यवसायीलाई तिर्नुपर्ने अतिरिक्त खर्चबाट मुक्ति पाउने अपेक्षा गरिएको छ ।
हेल्प डेस्कको उद्घाटन कार्यक्रममा बोल्दै सांसद राईले हाल जनशक्ति अभावका कारण सीमित सेवाग्राहीलाई प्राथमिकतामा राखिएको बताए । ‘अहिले जनशक्ति कम भएकाले सबैलाई एकैपटक समेट्न सकिँदैन,’ उनले भने, ‘विशेषगरी आर्थिकरूपमा कमजोर र लेखापढी शुल्क तिर्न नसक्ने नागरिकले यस सेवाबाट लाभ लिनुहोस् ।’ उनले आगामी दिनमा आवश्यक जनशक्ति थप गर्दै सेवाको दायरा विस्तार गरिने पनि जानकारी दिए । हालैको जनआन्दोलनका क्रममा धेरै नागरिकका लालपूर्जा जलेर नष्ट भएपछि त्यसको पुनःनिर्माणका लागि मालपोत कार्यालयमा सेवाग्राहीको भीड बढेको छ । यस्तो अवस्थामा श्रेस्ता कायम गर्न लेखापढी व्यवसायीले २ हजारदेखि ३ हजार रुपैयाँसम्म लिने गरेको गुनासो आइरहेका बेला हेल्प डेस्कको स्थापना सेवाग्राहीका लागि राहतको रूपमा हेरिएको छ ।
उद्घाटन कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री आदेश अग्रवाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट तथा मालपोत कार्यालयका प्रमुख सविनसिंह चौधरीलगायतको उपस्थिति रहेको थियो । सहभागीहरूले सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हेल्प डेस्क सञ्चालनसँगै मालपोत कार्यालयमा सेवा प्रवाहलाई पारदर्शी, सहज र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ ।





















