दाङ, चैत ९ रोजगारीका लागि विदेशिने युवाको संख्या बढ्दै गइरहेका बेला दाङका एक शिक्षकले स्वदेशमै सम्भावना खोज्दै सफल उद्यमीको उदाहरण प्रस्तुत गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–१७ निवासी राजन लामिछानेले शिक्षण पेसासँगै बदिया भाले उत्पादन व्यवसाय सञ्चालन गर्दै आत्मनिर्भरता र उद्यमशीलताको नमूना देखाएका हुन् । लामिछाने विगत केही वर्षदेखि कलेजमा अध्यापन गरिरहेका छन् । बिहानैदेखि कक्षा लिन व्यस्त हुने उनी दिनको समय विद्यार्थीहरूसँग बिताउँछन् भने बाँकी समय कुखुरा पालनमा लगाउँछन् । शिक्षण र व्यवसायलाई सन्तुलित रूपमा अघि बढाउँदै आएका उनले आफ्नो दैनिक जीवनलाई व्यवस्थित बनाएका छन् । उनको दिन बिहान ६ बजेदेखि सुरु हुन्छ । कलेजमा कक्षा लिएर घर फर्किएपछि उनी कुखुराको खोरतर्फ लाग्छन् । भालेलाई खोरबाट निकालेर करिब दुई घण्टा खुला ठाउँमा चराउने र त्यसपछि पुनः खोरमा राख्ने उनको नियमित काम हो । यसपछि उनी विद्यालय तथा कलेजका अन्य जिम्मेवारीमा जुट्छन् ।
लामिछानेले २०७५ सालमा सामान्य रूपमा दुई–तीनवटा भालेबाट बदिया बनाउने अभ्यास सुरु गरेका थिए । सुरुमा सानो स्तरमा थालेको यो काम पछिल्ला पाँच वर्षमा व्यवस्थित व्यवसायमा रूपान्तरण भएको छ । हाल उनको फर्ममा करिब एक सयको हाराहारीमा बदिया भाले उत्पादन भइरहेका छन् । उनका अनुसार बदिया भाले पालनमा धेरै ठूलो लगानी आवश्यक पर्दैन । ‘मुख्य कुरा इच्छाशक्ति र निरन्तरता हो,’ उनले भने । दैनिक ११–१२ पिरियडसम्म पढाउने व्यस्त समयतालिकाबीच पनि उनले व्यवसायलाई निरन्तरता दिइरहेका छन् ।
बजार व्यवस्थापनको दृष्टिले पनि उनको अनुभव सकारात्मक छ । उत्पादन भएका भाले छिट्टै बिक्री हुने गरेका छन् । जिल्लाभित्र मात्र नभई छिमेकी जिल्लाबाट समेत माग आउने गरेको उनले बताए । पुराना ग्राहकहरू फर्ममै पुगेर खरिद गर्ने र केहीले फोनमार्फत अर्डर गर्ने गरेका छन् । लामिछानेले उत्पादनका लागि आवश्यक भाले गाउँमै खरिद गर्छन् । उनी मकै र पिनाको दाना आफैं तयार गरेर खुवाउने गर्छन् । औषधिको प्रयोग नगरी उत्पादन गरिने भएकाले उनका बदिया भाले अर्ग्यानिक मानिन्छन् । यही कारण ग्राहकहरूको आकर्षण बढ्दो छ ।
उनको व्यवसायमा पारिवारिक सहकार्य पनि उत्तिकै महŒवपूर्ण छ । उनकी श्रीमती विष्णु शर्मा पनि शिक्षिका हुन् । बिहान र साँझ कुखुराको हेरचाहमा उनी सक्रिय रहन्छिन् भने दिनको समयमा आवश्यक व्यवस्थापनको जिम्मेवारी सम्हाल्छिन् । लामिछानेले आफ्नो व्यवसायलाई व्यक्तिगत मात्र नभई सामुदायिक रूपमा विस्तार गर्ने प्रयाससमेत गरेका छन् । उनले गाउँका केही परिवारलाई निःशुल्क पोथी कुखुरा दिएका छन् । ती कुखुराबाट उत्पादन भएका भाले पुनः खरिद गरेर उनले व्यवसाय विस्तार गर्दै आएका छन् । यसले अन्य स्थानीयलाई समेत आयआर्जनको अवसर प्रदान गरेको छ ।
प्राविधिक सहयोगमा बदिया बनाइएका भाले करिब ६ महिनामा बिक्रीयोग्य हुन्छन् । लामिछानेले वर्षमा दुईपटक—वैशाख १ र असोज १ गतेदेखि—बिक्री गर्ने गरेका छन् । उत्पादन सुरु भएको केही समयमै सबै भाले बिक्री हुने भएकाले उनी निरन्तर नयाँ उत्पादन चक्रको तयारीमा लागिरहन्छन् । यस व्यवसायबाट उनले सन्तोषजनक आम्दानी गरिरहेका छन् । साथै, व्यस्त जीवनशैलीसँगै आत्मनिर्भर बन्ने अवसर पनि प्राप्त भएको उनी बताउँछन् । लामिछानेको अनुभवले देशभित्रै मेहनत, योजना र लगनशीलता भए सफल हुन सकिने सन्देश दिएको छ ।





















