दाङ, चैत ११ लुम्बिनी प्रदेशमा क्षयरोग (टिबी) अझै उच्च दरमा फैलिरहेको पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांकअनुसार पछिल्ला वर्षमा टिबीका केही सूचकमा सुधार भए पनि संक्रमण दर अझै चुनौतीपूर्ण अवस्थामा छ । आर्थिक वर्ष २०७६/७७ मा प्रति एक लाख जनसंख्यामा ११२ जना संक्रमित रहेकोमा, २०७८/७९ मा यो संख्या १५८ पुगेको थियो । त्यसपछि केही उतारचढाव भए पनि २०८०/८१ मा १६४ पुगेको संक्रमण दर २०८१/८२ मा घटेर १५१ मा झरेको छ । उपचार सफलता दर भने निरन्तर सुधार गर्दै २०७६/७७ मा ९१ प्रतिशत रहेकोमा २०८१/८२ मा ९४ प्रतिशत पुगेको छ । तर मृत्युदर ३–४ प्रतिशतमा स्थिर रहनु र समयमै पहिचानमा चुनौती हुनुले रोग नियन्त्रणमा अझै समस्या रहेको देखिन्छ ।
जिल्लागत विवरणअनुसार रुपन्देहीमा सबैभन्दा बढी टिबीका बिरामी भेटिएका छन्, जहाँ १,११५ केस दर्ता भएका छन् । दाङमा ७७४, बाँकेमा ५७९, कपिलवस्तुमा ५६२ र बर्दियामा ३८० केस रहेका छन् । पहाडी जिल्लामा संख्या कम देखिए पनि सेवा पहुँच सीमित भएकाले वास्तविक संख्या अझ बढी हुन सक्ने स्वास्थ्य अधिकारीको अनुमान छ । प्रदेशभर कुल ४,५८० टिबी बिरामी दर्ता भएका छन् । स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन कृष्ण गोपाल चौधरीका अनुसार कुल केस दर ८५.९५ प्रतिशत र उपचार सफलता दर करिब ९० प्रतिशत पुगेको छ । त्यस्तै, टिबी र एचआईभी सह–संक्रमणका ३२ केस फेला परेका छन् भने एआरटी सेवामा रहेका २० बिरामीलाई पनि उपचार दिइँदैछ, जसले रोग नियन्त्रणमा थप चुनौती सिर्जना गरेको छ ।
यस वर्ष विश्व क्षयरोग दिवस २०२६ ‘हामी क्षयरोग अन्त्य गर्न सक्छौँः राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नारासहित लुम्बिनी प्रदेशमा मनाइएको छ । सो अवसरमा प्रदेश स्वास्थ्य निर्देशनालयले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्री खेमबहादुर सारुले साझा प्रयासबिना क्षयरोग नियन्त्रण सम्भव नहुने बताउँदै समयमै परीक्षण, नियमित उपचार र जनचेतना अभिवृद्धिमा सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए । उनले भने, ‘समयमै पहिचान र उपचार मात्रले टिबी नियन्त्रण गर्न सकिन्छ, यसमा सरकार, स्वास्थ्यकर्मी र समुदाय सबैको भूमिका महŒवपूर्ण छ ।’
विशेषज्ञहरूको चेतावनी छ कि स्थानीय तह र स्वास्थ्य संस्थाले समुदायसम्म नियमित स्वास्थ्य सेवा र सचेतनामूलक कार्यक्रम पुर्याउन नसकेमा टिबी नियन्त्रण चुनौतीपूर्ण रहनेछ । प्रदेशभरको स्वास्थ्य सेवा सुदृढीकरण र जनचेतनामा जोड दिइएको खण्डमा मात्रै संक्रमण दर घटाउने सम्भावना बढ्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।





















