चौराह क्षेत्रमा सुरक्षा घेरा, रेलिङ वा अन्य भौतिक अवरोध निर्माण गरेर मानिसहरूलाई सिधै सडकको बीचमा जानबाट रोक्न सकिन्छ । त्यसैगरी, ‘नो फोटो जोन’ जस्ता स्पष्ट सन्देशहरू राखेर जनचेतना फैलाउन सकिन्छ । ट्राफिक संकेतहरूलाई थप प्रभावकारी बनाउँदै नियमित निगरानी बढाउन आवश्यक छ । केवल आग्रह र चेतावनीले मात्र यस्तो समस्या समाधान हुँदैन, नियम उल्लंघन गर्नेलाई कडाइका साथ कारबाही गर्नुपर्छ । जरिवाना र निगरानीको संयोजनले मात्र व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारका रूपमा परिचित कोहलपुर चौराह यतिबेला विकास, भीडभाड र असावधानीको संगम बनेको छ । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको यो चोक दिनहुँ हजारौँ सवारी साधनको आवागमनले सधैँ व्यस्त रहन्छ । यात्रु चढ्ने–ओर्लिने, बजारको चहलपहल र पीपल चौतारामा हुने मान्छेको जमघटले यस क्षेत्रलाई झन् चलायमान बनाएको छ ।
यही चहलपहललाई व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले कोहलपुर नगरपालिकाले चौराहमा बाघ, हात्ती लगायतका जनावरका प्रतिमा स्थापना गरेको छ । ती प्रतिमाले चोकको सौन्दर्य बढाएका छन्, आगन्तुकका लागि फोटो खिच्ने र हेर्ने आकर्षण सिर्जना गरेका छन् । शहरको पहिचान निर्माणमा यस्ता संरचनाले सकारात्मक भूमिका खेलेका छन् भन्नेमा दुईमत छैन ।
तर, पछिल्लो समय यही सौन्दर्य जोखिमको कारण बन्दै गएको छ । सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै मानिसहरू प्रतिमासँग फोटो खिच्न, टिकटक वा रिल बनाउन सडकको बीच भागसम्म पुग्ने क्रम बढ्दो छ । सवारी साधन तीव्र गतिमा गुडिरहेको अवस्थामा मानिसहरू जथाभावी सडक पार गर्दै भिडियो बनाउने, पोज दिने र रमाइलो गर्ने दृश्य सामान्य जस्तै बन्न थालेको छ । यसरी सडकको बीचमा उभिएर फोटो वा भिडियो खिच्नु केवल असावधानी मात्र होइन, ज्यानै जोखिममा पार्ने काम हो । गाडीको चाप उच्च रहेको कोहलपुर चौराहमा यस्तो गतिविधि हुँदा दुर्घटना हुन समय लाग्दैन । चालकले अचानक ब्रेक लगाउन नसक्ने अवस्था आउन सक्छ, जसले ठूलो क्षति निम्त्याउन सक्छ ।
समस्या केवल व्यक्तिको लापरबाहीमा सीमित छैन । यसले समग्र यातायात व्यवस्थापनलाई समेत प्रभावित गरिरहेको छ । एकातिर सवारी साधनको लामो लाइन, अर्कोतिर मानिसहरूको अनियन्त्रित आवतजावतले चौराह झन् अव्यवस्थित बन्दै गएको छ । ट्राफिक प्रहरीहरू खटिए पनि यस्ता गतिविधि पूर्ण रूपमा नियन्त्रण गर्न कठिन भइरहेको देखिन्छ । सामाजिक सञ्जालमा लोकप्रिय बन्ने चाहना अहिलेको पुस्तामा तीव्र रूपमा देखिन्छ । राम्रो फोटो वा भिडियोका लागि जोखिम उठाउन पनि धेरै तयार देखिन्छन् । कोहलपुर चौराहका प्रतिमाहरू यस्तै मानसिकताको केन्द्र बन्न पुगेका छन् । तर, केही सेकेन्डको भिडियो वा केही लाइकका लागि आफ्नो जीवन दाउमा राख्नु कुनै पनि हिसाबले स्वीकार्य हुन सक्दैन ।
यस्तो अवस्थामा स्थानीय सरकारको भूमिका अत्यन्त महŒवपूर्ण हुन्छ । सौन्दर्यीकरणसँगै सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता स्पष्ट देखिएको छ । प्रतिमा राख्दा त्यस वरिपरि सुरक्षात्मक संरचना निर्माण गरिएको भए सायद यस्तो जोखिम कम हुन सक्थ्यो । अहिले पनि ढिलो भएको छैन । चौराह क्षेत्रमा सुरक्षा घेरा, रेलिङ वा अन्य भौतिक अवरोध निर्माण गरेर मानिसहरूलाई सिधै सडकको बीचमा जानबाट रोक्न सकिन्छ । त्यसैगरी, ‘नो फोटो जोन’ जस्ता स्पष्ट सन्देशहरू राखेर जनचेतना फैलाउन सकिन्छ । ट्राफिक संकेतहरूलाई थप प्रभावकारी बनाउँदै नियमित निगरानी बढाउन आवश्यक छ । केवल आग्रह र चेतावनीले मात्र यस्तो समस्या समाधान हुँदैन, नियम उल्लंघन गर्नेलाई कडाइका साथ कारबाही गर्नुपर्छ । जरिवाना र निगरानीको संयोजनले मात्र व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ ।
दीर्घकालीन रूपमा हेर्ने हो भने पैदल यात्रुका लागि सुरक्षित पूर्वाधार निर्माण अपरिहार्य छ । व्यवस्थित फुटपाथ, ओभरपास वा अन्डरपासको व्यवस्था भएमा मानिसहरूलाई सुरक्षित रूपमा सडक पार गर्न सहज हुन्छ । सवारी साधनको गति नियन्त्रण गर्ने उपायहरू पनि त्यत्तिकै महŒवपूर्ण छन् । तर, सबैभन्दा ठूलो परिवर्तन नागरिककै व्यवहारमा आउनु आवश्यक छ । सडक कुनै मनोरञ्जन गर्ने ठाउँ होइन, यो साझा सार्वजनिक संरचना हो जहाँ सबैले नियम पालना गर्नुपर्छ । आफ्नो ज्यानभन्दा ठूलो कुनै पनि फोटो वा भिडियो हुन सक्दैन भन्ने कुरा प्रत्येकले बुझ्न जरुरी छ ।
कोहलपुर चौराहको सौन्दर्यले शहरको पहिचान बढाएको छ, तर त्यसलाई सुरक्षित राख्नु अझ ठूलो चुनौती बनेको छ । यदि समयमै आवश्यक कदम चालिएन भने कुनै पनि बेला दुर्घटनाले दुःखद अवस्था निम्त्याउन सक्छ । त्यसैले अबको आवश्यकता सौन्दर्यसँगै सुरक्षालाई सन्तुलनमा राख्ने हो । स्थानीय सरकार, ट्राफिक निकाय र नागरिकबीचको सहकार्यबाट मात्र कोहलपुर चौराहलाई साँच्चिकै सुरक्षित र व्यवस्थित बनाउन सकिन्छ । अन्यथा, सुन्दर देखिने यही चौराह कुनै दिन पीडादायी दुर्घटनाको प्रतीक बन्न सक्ने खतरा टार्न सकिने छैन ।



















