२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

सेयर कर्जा उकालो, एक वर्षमै ३७ अर्बभन्दा बढी वृद्धि

काठमाडौं, वैशाख ७  सेयर धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने प्रवृत्ति पछिल्ला महिनामा तीव्र रूपमा बढ्दै गएको छ । न्यून ब्याजदर, प्रणालीमा देखिएको अधिक तरलता र नियामकीय नीतिमा आएको लचकताले लगानीकर्तालाई सेयर बजारतर्फ आकर्षित गरिरहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार २०८२ फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल एक खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ मार्जिन प्रकृतिको सेयर कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७ अर्ब ७७ करोड रुपैयाँले बढी हो । २०८१ फागुन मसान्तसम्म यस्तो कर्जा एक खर्ब १८ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । कर्जा प्रवाहको यो वृद्धिले बैंकिङ प्रणालीमा तरलता बढी रहेको र त्यसको ठूलो हिस्सा सेयर बजारमा केन्द्रित हुँदै गएको संकेत गरेको अर्थविशेषज्ञहरू बताउँछन् । उत्पादनशील क्षेत्रमा अपेक्षाकृत कर्जा विस्तार सुस्त हुँदा सेयर बजारतर्फको आकर्षण झन् बढेको उनीहरूको भनाइ छ ।

चालू आर्थिक वर्षको फागुन मसान्तसम्म वाणिज्य बैंकहरूले मात्रै सेयर धितोमा आधारित कर्जा एक खर्ब ३३ अर्ब ६८ करोड रुपैयाँ पुर्‍याएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ३७ अर्ब २९ करोड ६० लाख रुपैयाँले बढी हो । गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरूको यस्तो कर्जा ९६ अर्ब ३९ करोड रुपैयाँमा सीमित थियो । त्यसैगरी विकास बैंकहरूको योगदान पनि बढ्दो क्रममा देखिएको छ । फागुन मसान्तसम्म विकास बैंकहरूले १९ अर्ब ५२ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । यो गत वर्षको तुलनामा एक अर्ब ६५ करोड २० लाख रुपैयाँले बढी हो । गत वर्ष विकास बैंकहरूले १७ अर्ब ८७ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह गरेका थिए ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले सेयर बजारसँग सम्बन्धित नीतिमा लचकता अपनाउँदै गएको छ । सेयर कर्जाको जोखिम भार (च्ष्कप ध्भष्नजत) घटाइएपछि बैंकहरूलाई यस्तो कर्जा प्रवाह गर्न सहज भएको छ । साथै, ब्याजदर पनि तुलनात्मक रूपमा न्यून रहेको र बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहँदा लगानी सेयर बजारतर्फ मोडिएको विश्लेषण गरिएको छ । अर्थतन्त्रका अन्य उत्पादनशील क्षेत्रमा कर्जा विस्तार अपेक्षाकृत गति लिन नसकिरहेका बेला सेयर बजारमा भने निरन्तर वृद्धि देखिएको छ । मौद्रिक नीतिका विभिन्न चरणमा गरिएका लचक व्यवस्थाले पनि लगानीकर्ताको मनोबल बढाएको बैंकिङ क्षेत्रका जानकारहरू बताउँछन् ।

यद्यपि चालू आर्थिक वर्षको चैतसम्म राजनीतिक अनिश्चितता र केही नीतिगत अन्योलका कारण सेयर बजार प्रभावित बनेको थियो । तर पछिल्ला दिनमा बजार पुनः सुधारतर्फ उन्मुख भएको देखिएको छ । हालैको कारोबार दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.३६ अंकले बढ्दै २८३८.४० बिन्दुमा पुगेको छ । सो दिन कुल ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
बजार विश्लेषकहरूका अनुसार छोटो अवधिमा सामान्य करेक्सन वा उतारचढाव देखिए पनि दीर्घकालीन रूपमा बजारमा ठूलो गिरावट आउने सम्भावना कम देखिन्छ । बैंकिङ प्रणालीमा तरलता सहज रहनु, ब्याजदर न्यून हुनु र लगानीकर्ताको सहभागिता बढ्नुजस्ता कारणले बजारलाई आधारभूत रूपमा बलियो बनाइरहेको उनीहरूको विश्लेषण छ । यसरी सेयर कर्जा विस्तारसँगै बजारमा देखिएको सक्रियताले निकट भविष्यमा लगानी प्रवाह अझ बढ्ने संकेत गरेको छ । तर विशेषज्ञहरूले लगानीकर्तालाई जोखिम मूल्यांकन गरी मात्र कर्जा लिएर लगानी गर्नुपर्ने सुझाव पनि दिएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।