२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

भिआइए शिविरबारे फैलिएका आरोप पुष्टि नभएको राप्ती सोनारीको दाबी

राप्तीसोनारी, असार ११ — बाँकेको राप्ती सोनारी गाउँपालिकाले महिलाको पाठेघर मुखको क्यान्सर परीक्षण (भिआइए) सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबारे सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका आरोप र दाबीहरू हालसम्म पुष्टि नभएको जनाएको छ।

गाउँपालिकाले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत असार ३ गते सञ्चालन गरिएको स्वास्थ्य शिविर नेपाल सरकारका प्रचलित मापदण्ड, प्रोटोकल र कानुनी व्यवस्था पालना गर्दै सञ्चालन गरिएको स्पष्ट पारेको हो।

विज्ञप्तिअनुसार शिविरमा दक्ष स्वास्थ्यकर्मी र विशेषज्ञ चिकित्सकको उपस्थितिमा ५२ जना महिलाको भिआइए (Visual Inspection with Acetic Acid) विधिबाट पाठेघर मुखको क्यान्सर परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १७ जनामा केही असामान्य संकेत देखिएपछि उनीहरूलाई थप विशेषज्ञ परामर्श तथा उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा पठाइएको गाउँपालिकाले जनाएको छ।

ती महिलाहरूको स्वास्थ्य अवस्थाबारे निरन्तर निगरानी र चिकित्सकीय परामर्शको व्यवस्था समेत गरिएको विज्ञप्तिमा उल्लेख छ।

गाउँपालिकाले केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा तथ्यभन्दा फरक ढंगले घटनाको अतिरञ्जित व्याख्या गरी गाउँपालिका, स्वास्थ्यकर्मी तथा सेवा प्रदायक संस्थाको प्रतिष्ठामा असर पुग्ने खालका सामग्री प्रकाशन तथा प्रसारण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

“यस्ता सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै स्वास्थ्य सेवाप्रतिको विश्वासमा समेत नकारात्मक प्रभाव पार्न सक्छ,” विज्ञप्तिमा भनिएको छ, “हालसम्म प्राप्त तथ्य र प्रतिवेदनका आधारमा सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा उठाइएका आरोप तथा दाबी पुष्टि भएका छैनन्।”

गाउँपालिकाले सम्बन्धित विषयमा आवश्यक छानबिन तथा तथ्य सङ्कलनको काम जारी रहेको जनाउँदै आधिकारिक निष्कर्ष नआउँदासम्म अपुष्ट सूचना र अफवाहको पछि नलाग्न नागरिक तथा सञ्चारकर्मीलाई आग्रह गरेको छ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै तथ्य, प्रमाण र आधिकारिक स्रोतका आधारमा मात्रै समाचार प्रकाशन तथा प्रसारण गर्न सञ्चार माध्यमलाई अनुरोध गरिएको छ।

नागरिकको स्वास्थ्य सुरक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहप्रति गाउँपालिका सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा पनि स्वास्थ्य सेवा सुधारका लागि निरन्तर काम गर्ने प्रतिबद्धता विज्ञप्तिमार्फत व्यक्त गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।