बाँके, वैशाख ९ पश्चिम तराई क्षेत्रमा पछिल्ला केही दिनयता तापक्रम निरन्तर उकालो लाग्दै गएको छ । मंगलबारसम्म आइपुग्दा भैरहवामा ४२ डिग्री सेल्सियससम्म पुगेको छ भने नेपालगन्ज र धनगढीमा तापक्रम ४१ डिग्री सेल्सियससम्म आसपास कायम छ । सोमबार पनि नेपालगन्ज र धनगढीको तापक्रम यति नै कायम गरिएको थियो । केही दिनअघिदेखि नै बढ्न थालेको गर्मीले तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेको छ । उपलब्ध तथ्यांकअनुसार वैशाख ७ गते नेपालगन्ज र धनगढीमा न्यूनतम तापक्रम ३९ डिग्री र अधिकतम ४१ डिग्री सेल्सियस मापन गरिएको छ । सोही दिन भैरहवामा न्यूनतम ३६ र अधिकतम ३८ डिग्री सेल्सियस तापक्रम रहेको थियो । त्यस्तै वैशाख ६ गते नेपालगन्ज र धनगढीमा ४० डिग्रीसम्म तापक्रम पुगेको थियो भने भैरहवामा ३८ डिग्री सेल्सियस कायम रहेको थियो ।

वैशाख ५ गतेको तथ्यांक हेर्दा नेपालगन्ज र धनगढीमा अधिकतम तापक्रम ३८ डिग्री र भैरहवामा ३७ डिग्री सेल्सियस थियो । वैशाख ४ र ३ गते भने तीनै क्षेत्रमा करिब समान रूपमा ३९ डिग्री सेल्सियससम्म तापक्रम पुगेको देखिन्छ । वैशाख २ गते पनि तापक्रम उच्च नै रहेको थियो, जहाँ भैरहवामा ४० डिग्री सेल्सियस पुगेको थियो भने नेपालगन्ज र धनगढीमा ३८ डिग्री सेल्सियस मापन गरिएको थियो । यसरी केही दिनयताको अवस्थाले पश्चिम तराईमा गर्मी क्रमशः चर्किंदै गएको स्पष्ट देखिन्छ । विशेषगरी दिउँसोको समयमा गर्मी अत्यधिक महसुस हुन थालेको स्थानीयले बताएका छन् । बिहानको समय तुलनात्मक रूपमा सहज भए पनि दिउँसो ११ बजेदेखि अपराह्न २ बजेसम्म तातो हावाको प्रभाव बढ्न थालेको छ । हालसम्म ‘लु’ अर्थात् अत्यधिक तातो र सुख्खा हावा औपचारिकरूपमा सुरु नभए पनि सामान्य तातो हावा बहन थालेको छ । मौसममा देखिएको यो परिवर्तनले आगामी दिनमा अझै तापक्रम बढ्ने संकेत दिएको छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार यस्तो अवस्थामा विशेष सावधानी अपनाउन आवश्यक हुन्छ । गर्मीका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू बढी जोखिममा पर्ने भएकाले उनीहरूलाई दिउँसो बाहिर ननिस्कन सुझाव दिइएको छ । साथै प्रशस्त पानी पिउने, हल्का तथा सादा कपडा लगाउने र प्रत्यक्ष घामबाट जोगिने उपाय अपनाउन आग्रह गरिएको छ । कृषि क्षेत्र पनि बढ्दो तापक्रमको असरबाट अछुतो रहन सकेको छैन । लामो समयसम्म उच्च तापक्रम कायम रहँदा बालीमा असर पर्ने तथा पानीको अभाव झन् बढ्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन् । यद्यपि, हालसम्म वर्षा नभएकाले खेतबारी सुक्खा बन्दै गएको छ । मौसमविद्हरूले पश्चिम तराई क्षेत्रमा अझै केही दिन तापक्रम उच्च रहने अनुमान गरेका छन् । त्यसैले स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूले आवश्यक सतर्कता अपनाउन र जनचेतना फैलाउनुपर्ने देखिएको छ ।





















