२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

तातो हावाको लहर, जनजीवन प्रभावित

महाशाखाले सार्वजनिक गरेको पूर्वानुमानअनुसार नेपालगन्ज, धनगढी र दिपायलमा अधिकतम तापक्रम ३९ देखि ४४ डिग्री सेल्सियससम्म पुगेको थियो । यस्तै, वीरेन्द्रनगरमा ३७ देखि ३९ डिग्री सेल्सियससम्म तापक्रम पुग्यो । अत्यधिक गर्मीका कारण दिउँसो सडक तथा बजार क्षेत्रमा चहलपहल घट्न थालेको छ । नेपालगन्जका मुख्य सडकहरू दिउँसो सुनसानजस्तै देखिन थालेका छन् ।

कोहलपुर, जेठ ९  पश्चिम नेपालमा केही दिनदेखि तातो हावाको लहर चलेको छ । अत्यधिक गर्मीसँगैको तातो हावा अर्थात् ‘लु’ चल्दा यहाँको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि तातो हावा चल्न थालेपछि नेपालगन्ज, भैरहवा, धनगढी, बर्दिया, दाङ, कैलालीलगायतका तराई जिल्लामा सर्वसाधारण घरबाहिर निस्कनै मुस्किल हुन थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो हावाको लहर चल्ने पूर्वसूचना जारी गरेको थियो । महाशाखाका अनुसार पश्चिम तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने र वर्षाको सम्भावना न्यून रहेकाले तापक्रम अझै बढ्न सक्ने देखिएको छ । महाशाखाले सार्वजनिक गरेको पूर्वानुमानअनुसार नेपालगन्ज, धनगढी र दिपायलमा अधिकतम तापक्रम ३९ देखि ४४ डिग्री सेल्सियससम्म पुगेको थियो । यस्तै, वीरेन्द्रनगरमा ३७ देखि ३९ डिग्री सेल्सियससम्म तापक्रम पुग्यो ।

अत्यधिक गर्मीका कारण दिउँसो सडक तथा बजार क्षेत्रमा चहलपहल घट्न थालेको छ । नेपालगन्जका मुख्य सडकहरू दिउँसो सुनसानजस्तै देखिन थालेका छन् । सर्वसाधारण अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किने गरेका छन् । नेपालगन्ज–१० का स्थानीय अर्जुन शर्मा भन्छन्, ‘बिहान ९–१० बजेदेखि नै घाम सहन नसक्ने हुन्छ । दिउँसो तातो हावा चल्दा सडकमा हिँड्नै गाह्रो हुन्छ ।’ गर्मीका कारण वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा दीर्घरोगीहरू बढी प्रभावित भएका छन् । अस्पतालहरूमा पनि गर्मीजन्य स्वास्थ्य समस्या भएका बिरामीको संख्या बढ्न थालेको चिकित्सकहरूले बताएका छन् ।

भेरी अस्पताल नेपालगन्जका चिकित्सकहरूका अनुसार अत्यधिक गर्मीका कारण डिहाइड्रेसन, ज्वरो, टाउको दुख्ने, चक्कर लाग्ने, कमजोरी हुने तथा ‘हीट स्ट्रोक’ का बिरामी बढ्न थालेका छन् । शरीरमा पानीको मात्रा घट्दा गम्भीर स्वास्थ्य समस्या हुन सक्ने भएकाले पर्याप्त पानी पिउन चिकित्सकहरूले सुझाव दिएका छन् । चिकित्सकहरूका अनुसार दिउँसोको समयमा लामो समय घाममा बस्दा शरीरको तापक्रम असन्तुलित हुन सक्छ । समयमै सावधानी नअपनाए बेहोस हुने, रक्तचाप घट्ने तथा ज्यानसमेत जोखिममा पर्न सक्ने चेतावनी उनीहरूले दिएका छन् । मौसमविद्हरूका अनुसार भारतको उत्तर प्रदेश तथा राजस्थान क्षेत्रबाट आएको तातो हावाको प्रभाव नेपालतर्फ फैलिएकाले पश्चिम तराईमा ‘हिट वेभ’ को अवस्था बनेको हो । वर्षा नहुँदा र आकाश खुला रहँदा तापक्रम झन् बढिरहेको उनीहरूको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाले अत्यधिक गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । महाशाखाले दिउँसो अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का तथा सुती कपडा लगाउन र लामो समय घाममा नबस्न सुझाव दिएको छ । स्वास्थ्यकर्मीहरूले बालबालिका र वृद्धवृद्धालाई विशेष ध्यान दिन आग्रह गरेका छन् । विद्यालय जाने बालबालिकालाई टोपी लगाउने, पानी बोकेर हिँड्ने तथा दिउँसो लामो समय बाहिर खेल्न नदिने सुझावसमेत दिइएको छ ।

मौसमविद्हरूका अनुसार आगामी केही दिन पश्चिम तराईमा गर्मी अझै बढ्न सक्ने सम्भावना रहेको छ । तत्काल वर्षाको सम्भावना कम रहेकाले तातो हावाको प्रभाव कायम रहने अनुमान गरिएको छ ।

चर्को गर्मीसँगै नेपालगन्ज र कोहलपुरमा विद्युत् संकट

बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढिरहेका बेला अनियमित विद्युत् आपूर्तिले सर्वसाधारण थप सास्तीमा परेका छन् । नेपालगन्जको तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको अवस्थामा दिनहुँजसो विद्युत् आउनेजाने समस्या बढेपछि नागरिकस्तरबाट दबाब सुरु भएको छ ।

नेपालगन्ज देशकै सबैभन्दा बढी गर्मी हुने क्षेत्रमध्ये पर्छ । यहाँ हरेक वर्ष जेठ सुरु भएसँगै तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथिसम्म पुग्ने गरेको छ । यस्तो अवस्थामा पंखा, कुलर, फ्रिज, पानी तान्ने मोटरलगायतका उपकरणको प्रयोग अत्यधिक बढ्ने भएकाले विद्युत् खपत पनि बढ्छ । तर, हरेक वर्ष दोहोरिने यही अवस्थालाई ध्यानमा राखेर समयमै पूर्वतयारी नगरिएको भन्दै स्थानीयले प्राधिकरणप्रति असन्तुष्टि व्यक्त गरेका छन् । स्थानीयवासीका अनुसार केही दिनयता दिनभरि पटकपटक विद्युत् जाने समस्या बढेको छ । कतिपय स्थानमा रातिको समयमा लामो समयसम्म विद्युत् अवरुद्ध हुँदा सुत्नसमेत समस्या भइरहेको उनीहरूको गुनासो छ । अत्यधिक गर्मीका कारण बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरू सबैभन्दा बढी प्रभावित बनेका छन् ।

नेपालगन्ज–१० का स्थानीय व्यवसायी रमेश गुप्ताले गर्मीका बेला नियमित विद्युत् नहुँदा व्यवसाय नै प्रभावित भएको बताए । ‘पसलमा ग्राहक बस्नै सक्दैनन् । इन्टरनेट चल्दैन, कम्प्युटर बन्द हुन्छ । दिनहुँ काम प्रभावित भइरहेको छ,’ उनले भने । त्यस्तै, नेपालगन्ज–१८ की गृहिणी सुष्मा थापाले रातिको समयमा पटकपटक लाइन जाँदा परिवारका सदस्य सुत्न नसक्ने अवस्था रहेको बताइन् । ‘पानी तान्ने मोटर चल्दैन । गर्मीले बच्चाहरू रातभर छटपटाउँछन्,’ उनले भनिन् । नागरिक अगुवाहरूले समस्या हरेक वर्ष दोहोरिने भए पनि दीर्घकालीन समाधानतर्फ प्राधिकरण गम्भीर नदेखिएको आरोप लगाएका छन् । उनीहरूले ट्रान्सफर्मरको क्षमता विस्तार, पुराना लाइनको मर्मत, वैकल्पिक आपूर्ति व्यवस्था तथा व्यवस्थित लोड व्यवस्थापनको योजना समयमै कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

बुधबार नागरिक सरोकार मञ्च बाँकेको नेतृत्वमा नागरिक अगुवाहरूले नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्र पुगेर विद्युत् सेवा नियमित गर्न मागसमेत गरिएको छ । मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठ नेतृत्वको टोलीले वितरण केन्द्र प्रमुख संजयकुमार मिश्र लाई भेटेर अत्यधिक गर्मीका बेला भइरहेका अनियमित कटौतीले नागरिकको दैनिक जीवन प्रभावित भएको गुनासो गरेको हो । नागरिक अगुवाहरूले गर्मीको समयमा नेपालगन्जमा विद्युत् आपूर्ति नियमित हुनु अत्यावश्यक भए पनि पटकपटक विद्युत् अवरुद्ध हुँदा सर्वसाधारण रातभर जाग्राम बस्न बाध्य भएको बताएका छन् । उनीहरूले विद्युत् अवरोधका कारण खानेपानी, इन्टरनेट, व्यवसाय, अध्ययन–अध्यापन तथा स्वास्थ्य सेवासमेत प्रभावित भइरहेको उल्लेख गरेका छन् ।

वितरण केन्द्र प्रमुख मिश्रले भने अत्यधिक गर्मीका कारण विद्युत् माग ह्वात्तै बढेकाले आपूर्तिमा समस्या देखिएको बताएका छन् । ‘अहिले विद्युत् खपत अत्यधिक बढेको छ । त्यसैले केही स्थानमा लाइन ट्रिप हुने तथा विद्युत् आउने–जाने समस्या भइरहेको छ,’ उनले भने, ‘कार्यालयको जनतालाई दुःख दिने कुनै नियत छैन । समस्या समाधानका लागि प्राविधिक टोली निरन्तर खटिएको छ ।’ स्थानीयले यदि कुनै प्राविधिक समस्या वा मर्मतका कारण विद्युत् कटौती गर्नुपरे त्यसबारे उपभोक्तालाई स्पष्ट जानकारी दिनुपर्ने मागसमेत गरेका छन् । ‘घण्टौँसम्म ‘प्राविधिक समस्या’ भनेर लाइन काट्ने तर कहिले आउने भन्ने जानकारी नदिने प्रवृत्ति अन्त्य हुनुपर्छ,’ नागरिक सरोकार मञ्चका प्रतिनिधिहरूले बताएका छन् ।

स्थानीयका अनुसार अहिले विद्युत् बत्ती बाल्ने सुविधा मात्र नभई आधारभूत आवश्यकता बनिसकेको छ । अस्पतालका सेवा, अनलाइन कक्षा, बैंकिङ कारोबार, सञ्चार सेवा तथा खानेपानी आपूर्ति सबै विद्युत्‌मै निर्भर भएकाले अनियमित आपूर्तिले जनजीवन अस्तव्यस्त बनाइरहेको छ । विशेषगरी नेपालगन्जजस्तो अत्यधिक गर्मी हुने क्षेत्रमा विद्युत् व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीयको माग छ । उनीहरूले हरेक वर्ष नागरिकले उही समस्या भोगिरहनु र समाधानका लागि आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् । नागरिक अगुवाहरूले सम्बन्धित निकायलाई अब अस्थायी व्यवस्थापनभन्दा दीर्घकालीन समाधानतर्फ ध्यान दिन आग्रह गरेका छन् । ‘समस्या हरेक वर्ष दोहोरिन्छ भने त्यसको समाधानका लागि समयमै तयारी हुनुपर्छ । अत्यधिक गर्मीमा घण्टौँसम्म बिजुली काटिनु केवल व्यवस्थापन कमजोरी मात्र होइन, यो जनताको स्वास्थ्य, सुरक्षा र सम्मानसँग जोडिएको विषय हो,’ उनीहरूको भनाइ छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।