२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

राप्तीसोनारी, जेठ ११  राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ स्थित अष्टम साना किसान कृषि सहकारी संस्था बैजापुरले श्री जनशक्ति माध्यमिक विद्यालय बैजापुरमा अध्ययनरत गरिब तथा विपन्न परिवारका १५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले झोला, कापी, कलम तथा विद्यालय पोसाक वितरण गरिएको हो ।

आर्थिक अभावका कारण अध्ययनमा समस्या झेलिरहेका विद्यार्थीलाई राहत पुग्ने विश्वाससहित सहयोग गरिएको संस्थाका प्रतिनिधिहरूले बताएका छन् । विद्यालय परिसरमा आयोजित कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष मिनराज खड्काले यस्ता कार्यक्रमले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न बालबालिकामा उत्साह थप्ने बताए । उनले शिक्षालाई सबैको पहुँचमा पुर्‍याउन स्थानीय तह, सहकारी संस्था तथा सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । ‘शिक्षा नै समाज परिवर्तनको मुख्य आधार हो । आर्थिक अवस्था कमजोर भएका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्ता सहयोग प्रभावकारी हुन्छन्,’ उनले भने ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रतिक रजकले विद्यालयमा अध्ययनरत धेरै विद्यार्थी आर्थिक रूपमा कमजोर परिवारबाट आउने भएकाले सहयोगले उनीहरूको मनोबल बढाएको बताए । उनले आगामी दिनमा पनि विभिन्न निकायसँग सहकार्य गर्दै विद्यार्थीलाई आवश्यक सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरे । विद्यालयका प्रधानाध्यापकले सहकारी संस्थाले गरेको सहयोगले विद्यार्थीलाई प्रत्यक्ष लाभ पुगेको बताए । उनले शैक्षिक सामग्रीको अभावमा कतिपय विद्यार्थी नियमित रूपमा विद्यालय आउन कठिनाइ भोग्दै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।

सहयोग प्राप्त गरेका विद्यार्थी तथा अभिभावकले पनि खुशी व्यक्त गरेका छन् । विद्यालय पोसाक, झोला र कापी खरिद गर्न समस्या भइरहेको अवस्थामा सहयोग पाउँदा राहत महसुस भएको उनीहरूको भनाइ थियो । कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, सहकारीका पदाधिकारी तथा समाजसेवीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले शिक्षा क्षेत्रमा निजी तथा सहकारी क्षेत्रको सहकार्य अझै आवश्यक रहेको धारणा राखेका थिए ।

अष्टम साना किसान बैजापुरले आगामी वर्षमा पनि विद्यालयमा विभिन्न शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको अष्टम साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक भगरथि लुङगेलीले जनाए । संस्थाले विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सहभागिता वृद्धि तथा विपन्न बालबालिकाको शिक्षामा पहुँच विस्तारका लागि निरन्तर सहयोग गर्ने उनको भनाइ छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।