२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

जखेराताल बस्तीमा जग्गा खाली सूचनापछि त्रास र अन्योल

दाङ, जेठ १७  लमही नगरपालिका–३ सोनपुरस्थित जखेराताल आसपासको बस्ती यतिबेला अनिश्चितता र तनावको चपेटामा परेको छ । क्षेत्रीय प्रहरी आवासीय विद्यालय घोराही, दाङको नाममा रहेको जग्गा खाली गराउन १५ दिने सार्वजनिक सूचना जारी भएपछि दशकौँदेखि बसोबास गर्दै आएका स्थानीयवासीहरू आफ्नो घर–बार गुम्ने चिन्तामा परेका छन् ।

बस्तीका गल्लीहरूमा अहिले सामान्य चहलपहल भए पनि स्थानीयको अनुहारमा डर र दुविधा प्रस्ट देखिन्छ । कतिपय परिवार सामान कसरी व्यवस्थापन गर्ने भन्ने अन्योलमा छन् भने कतिपयले वैकल्पिक बसोबासको कुनै आधार नै नभएको गुनासो गरेका छन् । लमही–३ की मन्टुना कुमारी चौधरीका लागि यो सूचना सामान्य कागज मात्र होइन, जीवन नै अस्थिर बनाउने झट्का बनेको छ । भावुक हुँदै उनले भनिन्, ‘रातभर निद्रा लाग्दैन, दिनभर भोक लाग्दैन । हामी कहाँ जाने भन्ने कुनै ठेगाना छैन । घर छोड भन्न सजिलो छ, तर हामी कहाँ बस्ने ?’

उनका अनुसार उनीहरू बसेको जमिन प्रहरीको नाममा रहेको कुरा हालै मात्र थाहा पाएको बताउँछिन् । जखेराताल नजिकको समथर भूभागमा घर बनाएर बस्दै आएका स्थानीयले दशकौँदेखि त्यहीँ जीवन गुजारेको भन्दै वैकल्पिक व्यवस्था बिना विस्थापित गर्नु अन्याय हुने उनीहरूको भनाइ छ । त्यस्तै, स्थानीय सौनी चौधरीले पुर्खादेखि नै आफूहरू श्रममा आधारित जीवन बिताउँदै आएको बताइन् । ‘हामी कमैया–कमलहरी भएर काम गर्‍यौँ । जमिनको स्वामित्व कहिल्यै हाम्रो भएन,’ उनले भनिन्, ‘हामीले नै फाँडेर बसोबास योग्य बनाएको जग्गा अहिले प्रहरीको नाममा देखाइयो । तर यहाँ प्रहरी आएर कहिल्यै जोतेको छैन ।’

स्थानीयवासीका अनुसार उक्त बस्तीमा करिब ६२ घरधुरी बसोबास गर्दै आएका छन् । उनीहरूका अनुसार २०६२/०६३ सालतिरदेखि बस्ती विस्तार भएको र त्यतिबेला राजनीतिक तथा सामाजिक परिस्थितिका कारण यहाँ बसोबास बढेको हो । अधिकांश परिवार थारु समुदायका किसान तथा दैनिक मजदुरीमा निर्भर छन् । बस्तीका केही बासिन्दाले तत्कालीन समयमा विभिन्न राजनीतिक समूहको पहलमा यहाँ बसोबास भएको दाबी समेत गरेका छन् । तर अहिले एक्कासि खाली गर्न भनिएपछि आफूहरू अन्यायमा परेको उनीहरूको भनाइ छ ।

यता, क्षेत्रीय प्रहरी आवासीय विद्यालय पक्षले भने उक्त जग्गा आफ्नो नाममा दर्ता रहेको र लामो समयदेखि अतिक्रमण भएको दाबी गरेको छ । प्रहरी स्रोतका अनुसार बस्तीमा बसोबास गर्ने मध्ये करिब ४० घरधुरीको अन्यत्र पनि बसोबास रहेको पाइएको छ भने बाँकी केही घरधुरीको वैकल्पिक बसोबासबारे स्पष्ट विवरण नभएको जनाएको छ । विद्यालय प्रशासनद्वारा जारी सूचनामा साविक सोनपुर गाविस–५ हाल लमही नगरपालिका–३ स्थित कित्ता नम्बर ४१४ को कुल २१ बिघा ९ धुर ७ कट्ठा जग्गा अनधिकृत रूपमा कब्जा गरी घरटहरा निर्माण गरिएको उल्लेख छ ।

प्रहरी निरीक्षक रामकुमार केसीको हस्ताक्षर रहेको सूचनामा १५ दिनभित्र सबै घरटहरा तथा भौतिक संरचना हटाई जग्गा खाली गर्न निर्देशन दिइएको छ । तोकिएको समयभित्र अटेर गरिएमा कानुनी प्रक्रिया अनुसार बल प्रयोग गरी हटाइने चेतावनीसमेत दिइएको छ । सूचना सार्वजनिक भएसँगै स्थानीय र प्रहरीबीचको सम्बन्धमा थप तनाव बढ्ने संकेत देखिएको छ । एकातिर राज्यको सम्पत्ति संरक्षणको दाबी छ भने अर्कोतिर दशकौँदेखि बसोबास गर्दै आएका नागरिकको पुनःस्थापनाको प्रश्न उठेको छ । अहिले बस्तीको भविष्य अन्योलमा छ, र स्थानीयहरू समाधानको प्रतीक्षामा छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।