२०८३ श्रावण १२ मंगलवार
२०८३ श्रावण १२ मंगलवार

बाँकेमा ९५ हजार स्मार्ट कार्ड आइपुग्यो

नेपालगन्ज, साउन १२  बाँकेको नेपालगन्जस्थित यातायात व्यवस्था कार्यालयमा करिब ९५ हजार थान स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कार्ड आइपुगेको छ । लामो समयदेखि छपाइ भएर पनि कार्ड अभावका कारण सेवाग्राहीलाई वितरण गर्न नसकिएको स्मार्ट कार्ड अब चरणबद्धरूपमा वितरण गरिने भएको हो ।

यातायात व्यवस्था कार्यालय नेपालगन्जले नयाँ, थप, नवीकरण तथा प्रतिलिपिका लागि विगतमा जारी भएका स्मार्ट लाइसेन्समध्ये कार्यालयमा प्राप्त भएका करिब ९५ हजार कार्ड वितरणको तयारी गरिएको जनाएको छ । एकैपटक ठूलो संख्यामा कार्ड वितरण गर्दा कार्यालयमा अत्यधिक भीड हुने र उपलब्ध जनशक्तिबाट सेवा व्यवस्थापन गर्न कठिन हुने भएकाले अंग्रेजी नामको पहिलो अक्षरका आधारमा पालो निर्धारण गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार ए, बी र सी वर्गका सेवाग्राहीले सोमबार, डी, इ, एफ, जी, एच, आइ र जे वर्गले मंगलबार, के, एल, एम र एन समूहले बुधबार, ओ, पी, क्यू, आर समूहले बिहीबार तथा एस, टी, यु, भी, डब्लु, एक्स, आइ र जेट समूहले शुक्रबार स्मार्ट कार्ड प्राप्त गर्न सक्नेछन् । कार्ड वितरणको समय बिहान ९ बजेदेखि दिउँसो ३ः३० बजेसम्म तोकिएको छ ।

कार्यालयका अनुसार लामो समयदेखि कार्ड छपाइमा ढिलाइ, आपूर्ति अभाव तथा प्राविधिक कारणले सेवाग्राहीले महिनौंसम्म स्मार्ट लाइसेन्स पाउन सकेका थिए । पछिल्लो पटक ठूलो परिमाणमा कार्ड प्राप्त भएपछि पुराना निवेदनकर्तालाई प्राथमिकताका आधारमा वितरण प्रक्रिया अघि बढाइएको हो । यसबाट लामो समयदेखि स्मार्ट कार्डको प्रतीक्षामा रहेका हजारौं सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ । कार्यालयले स्मार्ट कार्ड लिन आउँदा सम्बन्धित सक्कल रसिद, सवारी चालक अनुमतिपत्र तथा नागरिकता, राहदानी वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक परिचय खुल्ने सक्कल कागजात अनिवार्य रूपमा साथमा ल्याउन आग्रह गरेको छ । यदि पुरानो स्मार्ट कार्ड हराएको अवस्थामा भने ट्राफिक प्रहरीको सिफारिससमेत पेश गर्नुपर्ने जनाइएको छ ।

यातायात व्यवस्था कार्यालयले तोकिएको तालिका अनुसार मात्रै कार्ड वितरण गरिने स्पष्ट पारेको छ । आफ्नो नामको पहिलो अक्षरअनुसार तोकिएको दिनभन्दा फरक समयमा आएमा कार्यालय कार्ड उपलब्ध गराउन बाध्य नहुने सूचनामा उल्लेख गरिएको छ । कार्यालयले सेवाग्राहीलाई अनावश्यक भीड नगर्न, आफ्नो पालोको दिनमै उपस्थित हुन तथा आवश्यक कागजातसहित आउन आग्रह गरेको छ । यस व्यवस्थाबाट सेवा प्रवाहलाई व्यवस्थित, छिटो र प्रभावकारी बनाउने तथा सेवाग्राहीको अनावश्यक प्रतीक्षा र भीडभाड कम गर्ने अपेक्षा गरिएको कार्यालयको भनाइ छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।