नेपालगञ्ज ,साउन १२ । बाँकेको राप्तीसोनारी अस्पतालमा आगामी भदौ १ गतेदेखि विशेषज्ञ स्वास्थ्य सेवा तथा शल्यक्रियामार्फत सुरक्षित प्रसूति सेवा सञ्चालन हुने भएको छ। लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र निक साइमन्स इन्स्टिच्युट (NSI) बीच ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना (आरएचएसएसपी) कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएपछि अस्पतालमा विशेषज्ञ सेवा विस्तारको प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो।
समझदारी पत्र हस्ताक्षर कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, अस्पताल विकास समितिका अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मिनराज खड्का र निक साइमन्स इन्स्टिच्युटका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। उक्त समझदारीसँगै परियोजना कार्यान्वयनका लागि आवश्यक तयारीलाई तीव्र बनाइएको छ।
परियोजनाअन्तर्गत राप्तीसोनारी अस्पतालमा विशेषज्ञ चिकित्सकीय सेवा विस्तार गरिनुका साथै आमा सुरक्षा कार्यक्रमअन्तर्गत शल्यक्रियामार्फत सुरक्षित प्रसूति सेवा सञ्चालन गरिनेछ। सेवा सुरु भएपछि जटिल प्रसूति भएका गर्भवती महिलाले सामान्य शल्यक्रियाका लागि नेपालगञ्ज वा अन्य अस्पताल धाउनुपर्ने बाध्यता उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ।
अस्पताल प्रशासनका अनुसार विशेषज्ञ जनशक्ति व्यवस्थापन, आवश्यक स्वास्थ्य उपकरण जडान, पूर्वाधार सुदृढीकरण तथा सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ। निर्धारित समयमै सेवा सञ्चालन गर्ने लक्ष्यका साथ आवश्यक व्यवस्थापन भइरहेको अस्पतालले जनाएको छ।

परियोजना कार्यान्वयनपछि राप्तीसोनारी गाउँपालिकासहित आसपासका क्षेत्रका नागरिकले आफ्नै नजिकबाट विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर पाउनेछन्। विशेषगरी मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षामा सुधार आउने, उपचार सेवामा पहुँच बढ्ने र सुरक्षित मातृत्व कार्यक्रम थप प्रभावकारी बन्ने विश्वास गरिएको छ।
स्थानीय सरकार, प्रदेश सरकार र विकास साझेदारबीचको सहकार्यमा सञ्चालन हुन लागेको यो परियोजनालाई ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले ग्रामीण भेगका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्थानीय अस्पतालप्रतिको विश्वाससमेत थप बलियो बनाउने अपेक्षा गरिएको छ।













