बाँके, साउन १८ । विपद्को समयमा आवश्यक सामग्री सुरक्षित राख्दै तत्काल उद्धार तथा सुरक्षित स्थानमा जान सहज होस् भन्ने उद्देश्यले बाँकेको राप्ती सोनारी गाउँपालिका–४ का १९१ जोखिमयुक्त परिवारलाई आपतकालीन ‘इमर्जेन्सी गो-ब्याग’ तथा पानी नछिर्ने वाटरप्रूफ झोला वितरण गरिएको छ।
कारितास नेपालले सञ्चालन गरिरहेको ‘PREPARE’ र ‘PRABL’ परियोजनाअन्तर्गत स्थानीय सरकार तथा सामुदायिक सरोकारवालासँगको समन्वयमा उक्त सामग्री वितरण गरिएको हो। बाढी, डुबान तथा अन्य विपद्को जोखिममा रहेका परिवारलाई पूर्वतयारीमा सक्षम बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कारितास नेपालले जनाएको छ।
वितरण कार्यक्रममा जोखिममा रहेका घरपरिवारका साथै कृषक समूह (एफएफएस) का सदस्य र किशोरी संवाद समूहका सदस्यहरू लाभान्वित भएका छन्। लाभग्राहीहरूलाई आपतकालीन अवस्थाका लागि आवश्यक कागजात, औषधि, टर्च, सुक्खा खाद्यान्नलगायत अत्यावश्यक सामग्री ‘गो-ब्याग’मा सुरक्षित राख्ने तरिका तथा विपद् आउनुअघि अपनाउनुपर्ने सावधानीबारे अभिमुखीकरणसमेत गरिएको थियो।
कारितास नेपालका अनुसार ‘गो-ब्याग’को प्रयोगले विपद्का बेला आवश्यक सामग्री संकलन गर्न समय खर्चिनु नपर्ने, तत्काल सुरक्षित स्थानतर्फ जान सकिने तथा परिवारका महत्त्वपूर्ण कागजात र अत्यावश्यक सामग्री सुरक्षित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा तथा परियोजनाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। उनीहरूले विपद् व्यवस्थापनमा राहतभन्दा पूर्वतयारी प्रभावकारी हुने भएकाले समुदायस्तरमा यस्ता कार्यक्रम आवश्यक रहेको बताएका थिए।
कारितास नेपालले PRABL परियोजना START READY/START NETWORK र सीआरएस नेपालको सहयोगमा तथा PREPARE परियोजना सीआरएस नेपालको सहयोगमा सञ्चालन भइरहेको जनाएको छ। यी परियोजनामार्फत समुदायको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्दै जोखिम न्यूनीकरणका गतिविधि सञ्चालन भइरहेका छन्।
















