२०८३ श्रावण १८ सोमबार
२०८३ श्रावण १८ सोमबार

विशेषज्ञ चिकित्सक अभावले रोल्पा अस्पतालको सेवा संकटमा

रोल्पा, साउन १५    ५० शय्यामा स्तरोन्नति गरिएको रोल्पा अस्पताल विशेषज्ञ चिकित्सकविहीन बनेपछि अस्पतालबाट प्रवाह हुने अत्यावश्यक स्वास्थ्य सेवा गम्भीर रूपमा प्रभावित भएको छ । प्रदेश सरकारले खटाएका विशेषज्ञ चिकित्सक फिर्ता बोलाइएपछि र लामो समयदेखि सहयोग गर्दै आएको निक साइमन्स इन्स्टिच्युटले पनि आफ्नो स्वास्थ्य टोली फिर्ता गरेसँगै अस्पतालमा शल्यक्रिया तथा विशेषज्ञ सेवा लगभग ठप्प बनेको हो ।

अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि पदपूर्ति हुन नसक्दा सर्वसाधारणले जिल्लामै पाउनुपर्ने उपचारका लागि बाहिर जानुपर्ने बाध्यता बढेको छ । अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीका अनुसार कार्यालय प्रमुखसहित वरिष्ठ विशेषज्ञ चिकित्सक नहुँदा गुणस्तरीय स्वास्थ्य सेवा दिन कठिन भएको छ । एक वर्षअघि वरिष्ठ कन्सल्टेन्ट तथा स्त्रीरोग विशेषज्ञ डा. प्रमोद कट्टेललाई प्रदेश सरकारले फिर्ता बोलाएपछि उनको स्थानमा अर्को विशेषज्ञ चिकित्सक पठाइएको छैन । त्यसयता अस्पताल निमित्त प्रमुखको भरमा सञ्चालन भइरहेको छ । हाल दन्त चिकित्सक (मेडिकल अधिकृत)लाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ, जबकि अस्पतालको नेतृत्व एघारौं वा दसौं तहका कन्सल्टेन्ट चिकित्सकले गर्नुपर्ने व्यवस्था छ ।

विशेषज्ञ चिकित्सक नहुँदा अप्रेसनमार्फत बच्चा जन्माउने सेवा पूर्ण रूपमा बन्द भएको अस्पतालले जनाएको छ । शल्यक्रिया गर्नुपर्ने सामान्यदेखि जटिल प्रकृतिका बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने अवस्था छ । अस्पतालका अनुसार प्रत्येक महिना करिब १० देखि १५ जना बिरामीलाई उपचारका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता छ । सूचना अधिकारी डाँगीले विशेषगरी महिला र बालबालिकाको स्वास्थ्यमा यसको प्रत्यक्ष असर परेको बताए । आर्थिक अभावका कारण धेरै बिरामी समयमै बाहिर उपचार गराउन नसक्दा गम्भीर स्वास्थ्य समस्या भोग्नुपरेको र कतिपय अवस्थामा ज्यानसमेत गुमाउने अवस्था सिर्जना हुने गरेको उनले बताए ।

अस्पताललाई थप धक्का त्यतिबेला पुग्यो जब निक साइमन्स इन्स्टिच्युटले पाँच वर्षदेखि उपलब्ध गराउँदै आएको विशेषज्ञ स्वास्थ्य टोली पनि फिर्ता बोलायो । संस्थाले वरिष्ठ एमडीजीपी डा. संजय पोखरेल, मेडिकल अधिकृत, एनेस्थेसिया सहायक तथा बायोमेडिकल उपकरण प्राविधिकसहितको टोली अघिल्लो महिनादेखि हटाएको हो । ती स्वास्थ्यकर्मीको तलबभत्ता संस्थाले नै व्यहोर्दै आएको थियो । संस्थाले वार्षिक करिब एकदेखि डेढ करोड रुपैयाँ बराबरको सहयोग गर्दै आएको भए पनि अब सीमित आर्थिक सहयोग मात्र उपलब्ध गराउने जनाएको छ । रोल्पा अस्पताल ५० शय्यामा स्तरोन्नति भइसकेकाले सरकारी संरचनाले नै जनशक्ति व्यवस्थापन गर्नुपर्ने निष्कर्षका आधारमा टोली फिर्ता गरिएको जनाइएको छ ।

अस्पतालको नयाँ भवन निर्माणमा करिब २९ करोड रुपैयाँ खर्च भइसके पनि आवश्यक जनशक्ति अभावले पूर्वाधारको पूर्ण उपयोग हुन सकेको छैन । अस्पतालमा एघारौं तहका मेडिकल सुपरिटेन्डेन्टसहित १८ जना चिकित्सकको दरबन्दी भए पनि हाल सीमित मेडिकल अधिकृतको भरमा सेवा सञ्चालन भइरहेको छ । स्थानीयवासीले विशेषज्ञ चिकित्सकको तत्काल व्यवस्था गर्न माग गरेका छन् । दरबन्दीअनुसार चिकित्सक नियुक्ति हुन नसके ५० शय्याको अस्पताल बनाउने सरकारी निर्णय कागजमै सीमित हुने र दुर्गम जिल्लाका नागरिक अझै पनि आधारभूत विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित रहने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।