२०८३ श्रावण १८ सोमबार
२०८३ श्रावण १८ सोमबार

लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यलाई नै निरन्तरता

बाँके, साउन १५  अघि देखिएको नेतृत्व परिवर्तनको अन्योल अन्त्य गर्दै लुम्बिनी प्रदेश सरकारको नेतृत्वमा एमालेले वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेको छ । केन्द्रमा एमाले–नेकपाबीच भएको सत्ता साझेदारी सहमतिपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि अन्ततः आचार्यकै नेतृत्वमा नयाँ समीकरणअनुसार सरकार अघि बढ्ने निश्चित भएको हो ।

काठमाडौंमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटपछि मुख्यमन्त्री आचार्यले आफूलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको बताएका छन् । उनका अनुसार प्रदेशसभाको कार्यकाल छोटो बाँकी रहेको, बजेट पारित भइसकेको तथा सरकारको नेतृत्व फेरबदल गर्दा जनस्तरमा नकारात्मक सन्देश जाने निष्कर्षका आधारमा वर्तमान नेतृत्वलाई निरन्तरता दिने निर्णय भएको हो । केन्द्रमा एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तय भए पनि नेतृत्व कसले गर्ने भन्ने विषयमा केही दिनदेखि एमालेभित्रै तीव्र चर्चा चलिरहेको थियो । वर्तमान मुख्यमन्त्री आचार्यसँगै पूर्वमुख्यमन्त्री लिला गिरी, पूर्वमन्त्री भूमिश्वर ढकाल तथा एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले पनि नेतृत्वका लागि दाबी गर्दै आएका थिए ।

यसबीच पार्टी पुनर्गठनको विषयमा अध्यक्ष ओलीको पक्षमा सक्रिय रहेका भूमिश्वर ढकाललाई मुख्यमन्त्री बनाउन अध्यक्ष ओली सकारात्मक रहेको चर्चा सार्वजनिक भएपछि प्रदेश एमालेभित्र असन्तुष्टि समेत देखिएको थियो । तर अन्ततः वर्तमान नेतृत्वलाई नै निरन्तरता दिने निर्णय भएको हो । एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले मुख्यमन्त्री चयनका विषयमा विगतका कमजोरी दोहोरिन नहुने बताउँदै प्रदेश संसदीय दल र प्रदेश कमिटीको सिफारिसलाई आधार बनाएर निर्णय हुनुपर्ने धारणा राखेका छन् । मुख्यमन्त्रीको टुंगो लागे पनि अब मन्त्रिपरिषद् गठन भने एमालेका लागि चुनौतीपूर्ण हुने देखिएको छ । मन्त्रालयको संख्या १२ बाट घटाएर ८ मा सीमित गरिएकाले मन्त्री बन्ने आकांक्षी धेरै हुँदा व्यवस्थापन कठिन हुने अनुमान गरिएको छ । सत्ता साझेदारीअनुसार एमालेले चार मन्त्रालय राख्नेछ भने बाँकी चार मन्त्रालय गठबन्धनमा रहेका अन्य दललाई दिने तयारी छ ।

सरकारमा सहभागी हुन लागेको नेकपाका १३ प्रदेशसभा सदस्यमध्ये तीन जना नागरिक उन्मुक्ति पार्टीबाट र एक जना तत्कालीन नेकपा (एकीकृत समाजवादी)बाट एकीकरणमार्फत आएका सांसद हुन् । नेकपाका प्रदेश संयोजक सुदर्शन बरालले एमालेले मुख्यमन्त्रीको विषय औपचारिक रूपमा टुंग्याएपछि मात्रै मन्त्रालय बाँडफाँटबारे छलफल अघि बढ्ने बताएका छन् । बरालका अनुसार एमाले र नेकपाको मात्रै संख्या बहुमतका लागि पर्याप्त छैन । त्यसैले सरकारलाई पूर्ण बहुमत दिलाउन साना दल वा स्वतन्त्र सांसदमध्ये कम्तीमा एक पक्षको समर्थन आवश्यक पर्ने अवस्था छ ।

हाल ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा चार स्थान रिक्त रहेकाले ८३ सांसद कायम छन् । सरकार गठनका लागि ४२ मत आवश्यक पर्दछ । एमालेका २९ र नेकपाका १३ सांसद रहे पनि सभामुख मतदानमा सहभागी नहुने भएकाले गठबन्धनले बहुमत सुनिश्चित गर्न अन्य दल वा स्वतन्त्र सांसदको साथ लिनुपर्ने बाध्यता रहेको छ । यही कारण सरकार गठनसँगै साना दलको भूमिका पनि निर्णायक बन्ने देखिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।