दाङ, साउन २० दाङको गढवा गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयमा कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न दबाब दिँदै आन्दोलन सुरु गरेका छन् । देशव्यापी आन्दोलन कार्यक्रमअन्तर्गत शिक्षालयका कर्मचारीहरू पनि आन्दोलनमा उत्रिएका हुन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले सार्वजनिक गरेको चरणबद्ध आन्दोलन कार्यक्रमअनुसार देशभरका प्रदेश कार्यालय, शिक्षालय, तालिम केन्द्र तथा शाखा कार्यालयमा आन्दोलन सुरु भएको हो । त्यसैअनुसार राप्ती प्राविधिक शिक्षालयमा समेत कर्मचारीहरूले धर्ना दिँदै व्यवस्थापनमाथि दबाब बढाएका छन् ।
संघर्ष समितिका अनुसार कर्मचारीहरूको सेवाको सुनिश्चितता, सामाजिक सुरक्षा, वृत्ति विकासलगायतका विषय समेटिएको ९ बुँदे माग व्यवस्थापनसमक्ष यसअघि नै पेश गरिएको थियो । तर पटक–पटक ध्यानाकर्षण गराउँदा पनि मागप्रति कुनै ठोस निर्णय नभएकाले आन्दोलनको बाटो रोज्न बाध्य भएको समितिको भनाइ छ ।
समितिले २०७७ सालदेखि विभिन्न चरणमा आन्दोलन, ज्ञापनपत्र बुझाउने, छलफल तथा प्रतिवेदन तयार गर्ने काम भए पनि परिषद् व्यवस्थापनले समस्या समाधानतर्फ प्रभावकारी पहल नगरेको आरोप लगाएको छ । २०८३ साउन ११ गते २४ घण्टे अल्टिमेटम दिँदासमेत माग सम्बोधनका लागि कुनै सकारात्मक प्रतिक्रिया नआएपछि चरणबद्ध आन्दोलन सुरु गरिएको जनाइएको छ ।

आन्दोलन कार्यक्रमअनुसार साउन १८ गतेदेखि प्रशासनिक तथा आर्थिक शाखाको कामकाज पूर्ण रूपमा बन्द गरिएको छ । यसका कारण शिक्षालयका प्रशासनिक सेवा प्रभावित भएका छन् । संघर्ष समितिले माग सम्बोधन नभए साउन २२ गतेदेखि शैक्षिक गतिविधि तथा परीक्षा सम्बन्धी सम्पूर्ण कामसमेत ठप्प पार्ने चेतावनी दिएको छ । यसअघि राप्ती प्राविधिक शिक्षालयका करार संघर्ष संयोजक सुशील पौडेलले शिक्षालय प्रमुख परशुराम खनाललाई आन्दोलनसम्बन्धी अपिल तथा ज्ञापनपत्र बुझाउँदै कर्मचारीका मागप्रति गम्भीर हुन आग्रह गरेका थिए ।
कर्मचारीहरूले आफ्ना जायज माग तत्काल सम्बोधन गरी सेवा सुरक्षाको प्रत्याभूति दिन परिषद् व्यवस्थापनसँग माग गरेका छन् । माग सुनुवाइ नभए आन्दोलनलाई अझ सशक्त बनाइने संघर्ष समितिले जनाएको छ ।
















