राप्तीसोनारी, साउन २१ राप्तीसोनारी गाउँपालिका–६ मा धानलगायत कृषि उपज सुरक्षित भण्डारण गर्न खाद्यान्न गोदाम घर निर्माणको पहल थालिएको छ । किसानले उत्पादन गरेको अन्न सुरक्षित राख्ने, कृषि क्षेत्रमा आत्मनिर्भरता बढाउने तथा स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने उद्देश्यले गोदाम निर्माण योजना अघि बढाइएको हो ।
यसका लागि राप्तीसोनारी गाउँपालिका–६ का जनप्रतिनिधिहरूको टोलीले जलस्रोत तथा ऊर्जामन्त्री बिराज भक्त श्रेष्ठ को सिफारिसमा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी समक्ष डेलिगेसन भेट गरेको जनाएको छ । भेटमा राप्ती सोनारी र नरैनापुर क्षेत्रका किसानले उत्पादन गर्ने धान तथा अन्य कृषि उपजका लागि पर्याप्त भण्डारण संरचना नहुँदा किसानले उचित मूल्य नपाउने र उत्पादन सुरक्षित राख्न कठिनाइ हुने विषय उठाइएको थियो ।
जनप्रतिनिधिहरूले गोदाम निर्माण भएपछि किसानले तत्कालै कम मूल्यमा उत्पादन बिक्री गर्नुपर्ने बाध्यता हट्ने, आवश्यकताअनुसार सुरक्षित भण्डारण गर्न सकिने र बजार व्यवस्थापनमा समेत सहज हुने विश्वास व्यक्त गरेका छन् । उनीहरूले उक्त योजना कार्यान्वयनका लागि मन्त्रालयबाट आवश्यक बजेट तथा नीतिगत सहयोगको माग गरेका छन् । राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष लवराज खरेल ले कृषि उत्पादन बढ्दै गए पनि भण्डारण पूर्वाधारको अभाव किसानका लागि ठूलो समस्या बनेको बताए ।
उनका अनुसार खाद्यान्न गोदाम निर्माण भए किसानले उत्पादन सुरक्षित राख्न पाउने मात्र होइन, उचित समयमा बजारमा बिक्री गरेर राम्रो मूल्यसमेत प्राप्त गर्न सक्नेछन् ।
उनले भने, ‘राप्तीसोनारी र नरैनापुर कृषि उत्पादनका हिसाबले महत्वपूर्ण क्षेत्र हुन् । तर पर्याप्त भण्डारण संरचना नहुँदा किसानले धेरै समस्या भोग्दै आएका छन् । खाद्यान्न गोदाम निर्माण भए किसानको उत्पादन सुरक्षित हुनेछ, कृषि क्षेत्र थप व्यवस्थित बन्नेछ र स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्नेछ । यो योजना सफल बनाउन सबै पक्षको सहयोग आवश्यक छ ।’ वडाध्यक्ष खरेलले यस अभियानमा क्षेत्रका जनप्रतिनिधि, सम्बन्धित मन्त्रालय तथा सरोकारवाला सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै किसानमुखी पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

स्थानीय जनप्रतिनिधिहरूले पनि ‘किसान बलियो भए गाउँ समृद्ध हुन्छ, गाउँ समृद्ध भए देश समृद्ध बन्छ’ भन्ने मान्यताका साथ खाद्यान्न गोदाम निर्माणको योजना छिटो कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन् ।
















