२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार

कृषि प्रविधि हस्तान्तरण कार्यक्रम खजुरामा सम्पन्न


नेपालगन्ज । कृषि अनुसन्धान निर्देशनालय, खजुरा बाँकेले लुम्बिनी प्रदेशमा कृषि प्रविधि हस्तान्तरणलाई प्रभावकारी बनाउने उद्देश्यले प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपालमा कृषि प्रविधि हस्तान्तरणको अवस्था कमजोर रहेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका थिए । उनीहरूका अनुसार नेपालमा प्रविधि हस्तान्तरण सेवा २.१ प्रतिशतमा सीमित रहेकाले अनुसन्धानबाट प्राप्त प्रविधि किसानसम्म पुर्‍याउन प्रभावकारी पहल आवश्यक छ ।

कृषि अनुसन्धान निर्देशनालय, खजुराका निर्देशक डा. बन्धुराज बरालको अध्यक्षता तथा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पशु तथा मत्स्य अनुसन्धान निर्देशनालयकी निर्देशक डा. निना अमात्य गोर्खालीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नार्कको अनुगमन तथा मूल्याङ्कन महाशाखाका वैज्ञानिक विवेक सापकोटाले प्रविधि हस्तान्तरणसम्बन्धी अभिमुखीकरण प्रस्तुति गरेका थिए । नार्क अन्तर्गतका कार्यालयमार्फत लुम्बिनी प्रदेशमा सञ्चालन गरिने क्रियाकलापबारे कृषि अनुसन्धान निर्देशनालय, खजुराका वैज्ञानिक रविन गिरीले जानकारी गराएका थिए । त्यसैगरी, नार्कको योजना महाशाखाका कम्प्युटर अधिकृत प्रदीप कार्कीले कृषिका समस्या दर्ता प्रणालीको नमुना प्रदर्शन (डेमो) सहित प्रस्तुति गरेका थिए । कार्यक्रममा प्रविधि हस्तान्तरणका लागि स्थानीय तह छनोट गर्ने, सरोकारवालासँग सहकार्य र सहलगानीका अवसर खोज्ने, किसानका समस्या पहिचान गर्ने विधि तथा उपकरणको प्रदर्शन गर्ने र छनोट भएका पालिकामा पहिचान गरिएका कृषि समस्यालाई नार्कको वेबसाइटमार्फत दर्ता गर्ने विषयमा छलफल गरिएको थियो ।

साथै, सम्बन्धित पालिकाका कृषि प्राविधिकको क्षमता अभिवृद्धि गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको थियो । कृषि अनुसन्धान निर्देशनालय, खजुराका वैज्ञानिक गिरीले उपलब्ध प्रविधि तथा ‘वालिका’ जातका बारेमा प्रस्तुति गरेका थिए । उनले प्रविधि हस्तान्तरणका लागि छनोट गरिएका पालिकाका किसानलाई मिनी किट वितरण गर्नुका साथै ठूलो क्षेत्रफलमा प्रविधिको प्रदर्शन गरिने जानकारी दिए ।

प्रविधि हस्तान्तरण कार्यक्रम प्रभावकारी बनाउन किसान, स्थानीय तह, कृषि प्राविधिक तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै वैज्ञानिक गिरीले सबै सरोकारवालाको सहभागिता र अपनत्व हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कृषि विकास निर्देशनालय, बुटवलका महानिर्देशक रामप्रसाद पाण्डे, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, बुटवलका महानिर्देशक भास्कर पौडेल लगायत लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र प्युठान जिल्लाका प्रतिनिधिहरूको सहभागिता थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।