गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्वु जोड्ने मोटरेबल पुल बगाएको छ। नदीमा लेदोसहित ठूला ढुंगा बगेर आउन थालेपछि आरुघाट क्षेत्रका बासिन्दा सुरक्षित स्थानतर्फ सर्न थालेका छन्।
आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार केहीबेरअघि बाढीले पुल बगाएको हो। उनका अनुसार नदीमा भोटेकोशीमा आएको बाढीजस्तै लेदो बगेर आएको छ भने आरुघाट नजिकै ठूला ढुंगा थुप्रिएका छन्।

‘अहिले आरुघाटका बासिन्दा पनि माथि आरुटार गएर बसेका छन्,’ अध्यक्ष गुरुङले भने, ‘कुन बेला के हुने हो, केही थाहा भएन।’
बाढीका कारण थप क्षति हुन सक्ने जोखिम बढेपछि स्थानीय बासिन्दा सुरक्षित स्थानमा आश्रय लिन थालेका छन्।


















