बर्दिया। जलवायु परिवर्तन र मानवीय गतिविधिका कारण नदीमा माछाको प्राकृतिक बासस्थान संकटमा पर्दै गएपछि बबई नदीमा १० हजार माछाका भुरा छोडिएको छ। विश्व मत्स्य दिवसको अवसर पारेर एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले शनिबार गुलरिया नगरपालिका–४ स्थित जब्दीघाटमा माछाका भुरा छोडेको हो।
‘जलवायु परिवर्तनप्रति हाम्रो जिम्मेवारी, मत्स्य सम्पदाको संरक्षणमा गरौँ साझेदारी’ भन्ने नारासहित नदीमा माछाका भुरा छोडेर दिवस मनाइएको हो।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयकी प्रमुख कमला अधिकारीले जलवायु परिवर्तनको असर नदी, नाला, सिमसार क्षेत्र र जलचर प्राणीमा देखिन थालेको बताइन्। उनका अनुसार अनियमित वर्षा, नदीको बहावमा परिवर्तन, बाढी र खडेरीले माछाको प्राकृतिक बासस्थान तथा प्रजनन प्रक्रियामा प्रतिकूल असर पारिरहेको छ।
यसले प्राकृतिक मत्स्य उत्पादनसँगै जलचर जैविक विविधता र माछामा आश्रित समुदायको जीविकोपार्जनमा समेत चुनौती थपेको उनले बताइन्।

अव्यवस्थित माछा मार्ने प्रवृत्ति, विषादी तथा विद्युतीय करेन्टको प्रयोग, नदी तथा जलाशयमा फोहोर र प्रदूषण विसर्जन तथा जथाभावी उत्खननले माछाको प्राकृतिक बासस्थान विनाश भइरहेको अधिकारीको भनाइ छ।
जलचर सम्पदाको संरक्षण सबैको साझा दायित्व भएकाले नदी तथा जलाशयको संरक्षणमा सामूहिक पहल आवश्यक रहेको उनले बताइन्।
















