दैलेख। दैलेखमा एक व्यक्तिले आफ्नै श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गर्दा चारै जना गम्भीर घाइते भएका छन्। चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानिखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले बुधबार बिहान घरायसी विवादका क्रममा उनीहरूमाथि बन्चरो प्रहार गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार अम्बरले ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिस्माको टाउकोमा दाउरा काट्ने बन्चरो प्रहार गरेका थिए।
बन्चरो प्रहारबाट घाइते चारै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि दुल्लु अस्पताल पुर्याइएको छ।
घटनापछि प्रहरीले अम्बरलाई नियन्त्रणमा लिएको छ। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

















