दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा एकै परिवारका तीन जनाको हत्या भएको छ। घरायसी विवादमा ३८ वर्षीय अम्बर सलामी मगरले बन्चरो प्रहार गरी श्रीमती र दुई छोराछोरीको हत्या गरेका हुन्। घटनामा अर्का एक छोरा गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार अम्बरले शनिबार बिहान १०ः३५ बजे दाउरा काट्ने बन्चरोले ३५ वर्षीया श्रीमती मनिसा र तीन छोराछोरीको टाउकोमा प्रहार गरेका थिए।
बन्चरो प्रहारबाट गम्भीर घाइते भएका मनिसा, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र तीन वर्षीया छोरी करिस्मालाई उपचारका लागि एम्बुलेन्समार्फत दुल्लुस्थित नगर अस्पताल पुर्याइएको थियो।
अस्पतालमा चिकित्सकले परीक्षण गर्दा बिहान ११ः१० बजे तपेन्द्र र करिस्मालाई मृत घोषणा गरेका थिए। थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ पठाइएकी मनिसालाई दिउँसो २ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। गम्भीर घाइते मिलनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थल प्रहरी चौकी हाँडाकोटबाट करिब तीन किलोमिटर टाढा पर्छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थल पुगेको थियो।
घटनामा संलग्न अम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायले जानकारी दिए।
















