जाजरकोट। पौडी खेल्ने क्रममा भेरी नदीमा बगेर बेपत्ता भएका जाजरकोटका एक पुरुषको शव एक सातापछि फेला परेको छ। भेरी नगरपालिका–३, पिपलडाँडाका ४३ वर्षीय बबी शाहको शव सोमबार सल्यानको बनगाड कुपिण्डे नगरपालिका–स्थित बाहुवासंग्रही नजिकै बाङ्गिरहमा फेला परेको हो।
शाह गत सोमबार पिकनिक खान गएको समयमा भेरी नगरपालिका–१, छोटेबगरस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बगेका थिए। नदीमा बगेपछि बेपत्ता भएका उनको खोजीकार्य प्रहरी तथा स्थानीयले निरन्तर गर्दै आएका थिए।
बेपत्ता भएको एक सातापछि सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित भेरी नदीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। शाहको शव भेटिएको स्थान घटनास्थलभन्दा नदीको तल्लो क्षेत्रमा पर्छ।

















