२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

गुल्मीमा थप ३० प्रजातिका चरा फेला परे

गुल्मी, पुस २० गुल्मी जिल्लामा थप ३० नयाँ प्रजातिका चरा फेला परेसँगै जिल्लामा हालसम्म अभिलेख गरिएका चरा प्रजातिको संख्या ३५५ पुगेको छ । नेपाल पन्छी संरक्षण संघ (बीसीएन) ले हालै गरेको चरा गणनाका क्रममा जिल्लाका विभिन्न वन संरक्षण क्षेत्रमा यसअघि अभिलेख नभएका ३० प्रजातिका चराहरू फेला परेका हुन् ।

नेपाल पन्छी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत शम्भु भट्टराईका अनुसार रेसुंगा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा गरिएको सर्वेक्षणमा नयाँ प्रजातिका चराहरू रेकर्ड भएका छन् । भट्टराईका अनुसार पछिल्लो सर्वेक्षणमा रेसुंगा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा मात्र २५ प्रजातिका चरा नयाँ रूपमा अभिलेख गरिएका छन् । यसअघि रेसुंगा र मदाने वन संरक्षण क्षेत्रमा वर्षमा दुई पटक नियमित रूपमा चरा सर्वेक्षण हुँदै आएकोमा यस वर्ष पहिलो पटक थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा पनि औपचारिक सर्वेक्षण गरिएको हो ।

नयाँ फेला परेका चरा प्रजातिहरूमा तिलहरी, मोटो ठूँडे पुष्प कोकिला, उमाचाँचर, तिबिल्चे, मुरालिडे ढिकुरे भ्याकुर, निलो लघुपङ्ख, हटचुर चाँचर, हलीमुख, सिम कुखुरालगायतका प्रजाति रहेका छन् । विश्वमा दुर्लभ मानिने चराहरूमध्ये गुल्मीमा छ प्रजाति पाइने गरेको संघले जनाएको छ । तीमध्ये रेसुंगा वन संरक्षण क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र गोमायो महाचिल पाइन्छन् । काँडे भ्याकुर भने रेसुंगा, मदाने र थाप्ले सत्यवती तीनवटै वन क्षेत्रमा रेकर्ड गरिएको छ ।

नेपालमा हालसम्म ९०३ प्रजातिका चरा पाइने गरेको तथ्यांक रहेको छ । तीमध्ये करिब ४० प्रतिशत चरा प्रजाति गुल्मी जिल्लामा पाइने नेपाल पन्छी संरक्षण संघले जनाएको छ । संघका अनुसार रेसुंगा वन क्षेत्रमा २७६, मदाने वन संरक्षण क्षेत्रमा २८९ र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा १९६ प्रजातिका चरा अभिलेख भएका छन् । तीनवटै क्षेत्रको संयुक्त तथ्यांकअनुसार जिल्लामा कुल ३५५ प्रजातिका चराहरूको अभिलेख तयार भएको हो ।

संघले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वन तथा जैविक विविधताको संरक्षणसँगै जीविकोपार्जनमा सहयोग पुग्ने कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जिल्लामा चरा पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै यसलाई स्थानीय अर्थतन्त्रसँग जोड्न सकिने उल्लेख गरे ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।