बाँके, पुस ३० भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की क्षेत्रमा आगलागी र ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२, टाकुराका दुई परिवारका नौ जनाको ज्यान गएको छ । राति सुतेकै बेला पसलमा अचानक आगलागी भएको र त्यसपछि सिलिन्डर विस्फोट हुँदा घटना भएको हो ।
विस्फोटको कारण आगो तीव्र बनेपछि पसलमाथिको कोठामा सुतिरहेका सबै जनाको घटनास्थलमै मृत्यु भएको आफन्त प्रेम विकले जानकारी दिए । मृत्यु हुनेमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरीहरू राधा विक र रेनुका विक, छोरा राजन विक, साथै ४७ वर्षीय काशिराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक, १२ वर्षीया अनु विक र ७ वर्षीय किरण विक रहेका छन् ।
प्रेम विकका अनुसार धनबहादुर विक र काशिराम विकको परिवार पसलमाथिको कोठामा बस्दै आएका थिए । कामबाट फर्केर सुतेको बेला २७ गते राति आगलागी भएको हो । ‘सिलिन्डर विस्फोट हुँदा सबैको शव छियाछिया परेकाले पहिचान गर्नसमेत कठिन भएको छ,’ उनले बताए ।
आगलागी भएको थाहा पाएपछि नजिकैको अर्को घरमा सुतेका प्रेम विकसहित राजेन्द्र विक, गंगाराम विक र अर्का एक जना गरी चार जना भागेर ज्यान जोगाउन सफल भएका छन् । हाल हिमाचल प्रदेशको सोलान जिल्लास्थित सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर शव संकलनको काम गरिरहेको छ । विस्फोटको असर अत्यन्तै भयावह भएकाले शव संकलनमा कठिनाइ भइरहेको बताइएको छ ।

घरको आर्थिक अवस्था कमजोर भएपछि मृतक परिवारसहित टाकुरा बस्तीका केही परिवार करिब अढाई वर्षअघि भारत गएर मजदुरी गर्दै आएका थिए । दुई छाकको जोहो गर्नै कठिन भएपछि भारत जान बाध्य भएको प्रेम विकको भनाइ छ । सिद्धकुमाख गाउँपालिका–२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीले घटनाबारे फोनमार्फत जानकारी पाएको बताए । ‘दुई परिवारका नौ जनाको मृत्यु भएपछि वडा नै शोकमा डुबेको छ । मंगलबार शोक बिदा दिने निर्णय गरेका छौँ,’ उनले भने ।
उनले सरकारले गाउँघरमै रोजगारीको व्यवस्था गर्न नसक्दा आर्थिक अवस्था कमजोर भएकाहरू अझै पनि भारत जान बाध्य रहेको बताए । ‘कहिले बाढीपहिरो, कहिले दुर्घटना त कहिले आगलागीमा परेर नेपाली मजदुरले ज्यान गुमाइरहेका छन्,’ बुढाथोकीले दुःख व्यक्त गरे । शव संकलनको काम जारी रहेकाले दाहसंस्कार उतै गर्ने कि नेपाल ल्याउने भन्ने विषयमा अर्कीमा रहेका स्थानीय नेपालीहरूसँग छलफल भइरहेको वडाध्यक्षले जानकारी दिए ।















