नेपालगन्ज उपमहानगरपालिकामा चार, डुडुवा, नरैनापुर र खजुरामा एक–एक जनाको मृत्यु भएको छ । सबैको मृत्यु अस्पतालमै भएको तथ्यले समस्या स्वास्थ्य संस्थाभन्दा बाहिर, समुदायमै रहेको देखाउँछ ।
नेपालगन्ज, माघ २ नेपालगन्ज उपमहानगरपालिका–१५, पिप्रहवाको एउटा साधारण घरमा ३३ वर्षीया आलिया खातुन (नाम परिवर्तन) सुत्केरी व्यथासँग जुधिरहेकी थिइन् । परिवारले उनलाई घरमै सुत्केरी गराउने प्रयास गर्यो । व्यथा लागेपछि पनि तत्काल स्वास्थ्य संस्थामा लैजाने निर्णय भएन । भोलिपल्ट मात्रै उनलाई नजिकैको उदयपुर बर्थिङ सेन्टर पुर्याइयो । त्यतिबेलासम्म बच्चा जन्मिसकेको थिएन तर आलियाको शरीरबाट अत्यधिक रक्तश्राव भइरहेको थियो ।
स्वास्थ्यकर्मीले अवस्था गम्भीर रहेको भन्दै तत्काल भेरी अस्पताल रिफर गरे । अस्पताल ल्याइँदासम्म उनको अवस्था नियन्त्रणबाहिर पुगिसकेको थियो । उपचारकै क्रममा गत भदौ १४ गते आलियाको मृत्यु भयो । भेरी अस्पतालकी लेबररुम इन्चार्ज शीला शर्माका अनुसार घरमै सुत्केरी गराउने प्रयास र ढिलो गरी अस्पताल ल्याउनु नै उनको मृत्युको प्रमुख कारण बन्यो । रक्तश्राव अत्यधिक भइसकेपछि त्यसलाई नियन्त्रण गर्न निकै कठिन हुने उनी बताउँछिन् ।

यस्तै नियति नरैनापुर गाउँपालिका–२ लक्ष्मणपुरकी ४० वर्षीया काजल यादव (नाम परिवर्तन) ले पनि भोग्नुपर्यो । करिब २२ वर्षपछि पहिलोपटक आमा बन्ने तयारीमा रहेकी काजल लामो समयसम्म सन्तान नहुँदा मानसिक तनावमा थिइन् । २०८१ फागुनमा गर्भ बसेपछि उनी असाध्यै खुसी भइन् । नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित जाँच गराउँदै आएकी उनलाई चिकित्सकले २०८२ कात्तिक दोस्रो सातामा सुत्केरी हुने समय दिएका थिए । कात्तिक १२ गते दिउँसो पेट दुख्न थाले पनि परिवारले यसलाई सामान्य ठान्यो । भोलिपल्ट बिहान मात्रै उनलाई लक्ष्मणपुर बर्थिङ सेन्टर लगियो । जाँच गर्दा बच्चाको मुटुको धड्कन सुनिएन । स्वास्थ्यकर्मीले तुरुन्तै भेरी अस्पताल लैजानुपर्ने बताए । तर परिवारले स्थानीयमै सुत्केरी गराउन दबाब दियो । करिब तीन घण्टापछि मात्र उनलाई भेरी अस्पताल ल्याइयो ।
त्यतिबेलासम्म पेटभित्रै बच्चाको मृत्यु भइसकेको थियो । आमाको शरीरमा सेप्सिस संक्रमण फैलिसकेको थियो । उपचारका क्रममा कार्तिक १४ गते काजलको पनि मृत्यु भयो । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीका अनुसार बच्चा पेटमै मरेपछि समयमै ननिकाले संक्रमण फैलिन्छ । संक्रमण रगतसम्म पुगेपछि आमाको ज्यान जोगाउने सम्भावना अत्यन्तै न्यून हुन्छ । नेपालगन्ज उपमहानगरपालिका–१७ की ३४ वर्षीया कान्तु खटिक (नाम परिवर्तन) को मृत्यु पनि यही ढिलाइको अर्को उदाहरण हो । ज्वरो आएपछि उनी उपचारका लागि भारत गइन् । त्यहाँ चेकजाँच गर्दा उनी २० हप्ताको गर्भवती रहेको थाहा भयो । औषधि लिएर फर्किए पनि ज्वरो घटेन । योनीबाट रक्तश्राव सुरु भयो । अन्तिम अवस्थामा पुगेपछि मात्रै उनलाई भेरी अस्पताल ल्याइयो । धेरै रगत बगिसकेको थियो र संक्रमण रगतसम्म फैलिसकेको थियो । भोलिपल्ट, कार्तिक १९ गते, उनको मृत्यु भयो ।
लेबररुम इन्चार्ज शीला शर्मा भन्छिन्, जटिलता भइसकेपछि मात्रै अस्पताल ल्याउने प्रवृत्ति बाँकेमा सामान्यजस्तै भइसकेको छ । त्यतिबेलासम्म चिकित्सकसँग प्रयासबाहेक अरू विकल्प बाँकी रहँदैन । यी घटना अपवाद होइनन् । बाँकेमा चालु आर्थिक वर्ष ०८२/०८३ को पुस मसान्तसम्म आठ जना सुत्केरी आमाले ज्यान गुमाइसकेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा चार, डुडुवा, नरैनापुर र खजुरामा एक–एक जनाको मृत्यु भएको छ । सबैको मृत्यु अस्पतालमै भएको तथ्यले समस्या स्वास्थ्य संस्थाभन्दा बाहिर, समुदायमै रहेको देखाउँछ ।
स्वास्थ्यकर्मीका अनुसार नियमित गर्भ जाँच नहुनु मातृ मृत्युको मुख्य कारण हो । विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार गर्भवती महिलाले कम्तीमा आठ पटक गर्भ जाँच गर्नुपर्छ । नेपालमा व्यवहारिक रूपमा चार पटक अनिवार्य गरिएको छ । तर धेरै महिलाले दुई–तीन पटक मात्रै, कतिपयले त एक पटक पनि गर्भ जाँच गराउँदैनन् । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार गर्भ चेक नगर्ने, आइरन चक्की नखाने र खोप नलगाउने प्रवृत्तिले मातृ मृत्युदर घटाउन कठिन भएको छ । गर्भवती महिला सात–आठ महिनासम्म पनि स्वास्थ्य संस्थामा नआउँदा स्वास्थ्यकर्मी निरीह बन्ने अवस्था रहेको उनी बताउँछन् ।
मृत्यु हुनेमध्ये अधिकांश मधेशी तथा मुस्लिम समुदायका महिला छन् । मुस्लिम समुदायकी अगुवा साहिदा साहीका अनुसार रुढीवादी सोच अझै बलियो छ । हजुरआमा वा सासुले पहिलेको उदाहरण दिँदै गर्भ जाँच नगर्न प्रेरित गर्दा महिलाहरू स्वास्थ्य सेवाबाट टाढा रहन्छन् । नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र साह भन्छन्, गर्भावस्थालाई अझै पनि स्वास्थ्यसँग जोडिएको संवेदनशील अवस्था होइन, सामान्य प्रक्रिया ठान्ने मानसिकता गहिरो छ । शरीरमा देखिने गम्भीर लक्षणलाई सामान्य थकानका रूपमा बुझ्दा अवस्था बिग्रँदै जान्छ । अस्पताल पुग्दा धेरैजसो ढिलो भइसकेको हुन्छ ।
लुम्बिनी प्रदेशमा पछिल्ला दुई आर्थिक वर्षमा सबैभन्दा धेरै मातृ मृत्यु बाँके र कपिलवस्तु जिल्लामा भएका छन् । यी जिल्लामा मधेशी तथा मुस्लिम समुदायको बाहुल्य रहेको छ । कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश प्रसाद गुप्ताका अनुसार महिलाले आफैं निर्णय गर्न नपाउने सामाजिक संरचनाले पनि जोखिम बढाएको छ । सासू–ससुरा, पति वा समुदायको दबाबले स्वास्थ्य सेवामा ढिलाइ हुने गरेको उनी बताउँछन् ।समस्या पहिचान भइसकेको छ । कारण पनि स्पष्ट छन् । तर व्यवहारिक समाधान अझै प्रभावकारी बन्न सकेको छैन । भेरी अस्पतालका डा. सुवेदी भन्छन्, जबसम्म समाजले मातृ मृत्युलाई व्यक्तिगत कमजोरी होइन, संरचनात्मक समस्या ठान्दैन, तबसम्म बाह्य कार्यक्रमले सीमित प्रभाव मात्रै पार्छ । मातृ मृत्यु घटाउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि ‘आमा सुरक्षा अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ । बाँके, कपिलवस्तु, रुपन्देही र दाङमा यो कार्यक्रम केन्द्रित गरिने प्रदेश स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ बताउँछिन् । समुदायमै पुगेर गर्भवतीलाई नियमित जाँचमा ल्याउने योजना बनाइँदै छ । तर प्रश्न अझै उस्तै छ, योजना कागजमै सीमित रहने कि, ढिलाइका कारण ज्यान गुमाइरहेका आमाहरूको वास्तविक सुरक्षा बन्ने ?
पहिलो सन्तानको खुसी, अन्तिम पीडा
नरैनापुर गाउँपालिका–२ लक्ष्मणपुरकी ४० वर्षीया काजल यादव (नाम परिवर्तन) करिब २२ वर्षपछि पहिलोपटक आमा बन्ने तयारीमा थिइन् । लामो समयसम्म सन्तान नहुँदा तनावमा रहेकी काजल २०८१ फागुनमा गर्भवती भएको थाहा पाएपछि असाध्यै खुसी भइन् ।उनी नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा नियमित जाँच गराउँदै आएकी थिइन् । चिकित्सकले २०८२ कार्तिक दोस्रो सातालाई सुत्केरी हुने समय तोकेका थिए । कात्तिक १२ गते दिउँसो पेट दुख्न थाले पनि परिवारले गम्भीर रूपमा लिएन । भोलिपल्ट बिहान मात्रै उनलाई लक्ष्मणपुर बर्थिङ सेन्टर लगियो । जाँच गर्दा बच्चाको मुटुको धड्कन सुनिएन ।
स्वास्थ्यकर्मीले तत्काल भेरी अस्पताल रिफर गरे । तर परिवारले स्थानीयमै सुत्केरी गराउन दबाब दियो । करिब तीन घण्टापछि मात्र उनलाई भेरी अस्पताल ल्याइयो । त्यतिबेलासम्म पेटभित्रै बच्चाको मृत्यु भइसकेको थियो । आमामा सेप्सिस संक्रमण फैलिसकेको थियो । उपचारका क्रममा कार्तिक १४ गते काजलको पनि मृत्यु भयो ।प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी भन्छन्, ‘पेटभित्रै बच्चा मरेपछि समयमै ननिकाले संक्रमण फैलिन्छ । सेप्सिस भएपछि आमाको ज्यान जोगाउने सम्भावना अत्यन्तै कम हुन्छ ।”’
अन्तिम अवस्थामा मात्रै अस्पताल
नेपालगन्ज उपमहानगरपालिका–१७ की ३४ वर्षीया कान्तु खटिक (नाम परिवर्तन) ज्वरो आएपछि उपचारका लागि भारत गइन् । त्यहाँ थाहा भयो, उनी २० हप्ताको गर्भवती थिइन् । औषधि लिएर फर्किए पनि ज्वरो घटेन । योनीबाट रक्तश्राव सुरु भयो ।अवस्था अत्यन्तै गम्भीर भएपछि मात्रै परिवारले उनलाई भेरी अस्पताल ल्यायो । धेरै रगत बगिसकेको थियो, संक्रमण रगतसम्म फैलिसकेको थियो । भोलिपल्ट, कार्तिक १९ गते, उनको मृत्यु भयो । ‘जटिल भइसकेपछि मात्रै अस्पताल ल्याइन्छ,’ लेबररुम इन्चार्ज शीला शर्मा भन्छिन्, ‘त्यतिबेलासम्म हामीसँग प्रयासबाहेक विकल्प हुँदैन ।’














