२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

नेपाली कांग्रेस फुटेको हैन र फुट्दैन

नारायण पाण्डे

केही दिनअघि नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले आफ्नो फेसबुकमार्फत नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक मतभेदबारे टिप्पणी गर्दै लेखे, ‘कांग्रेस रबर हो तन्किन्छ तर चुँडिँदैन ।’ त्यस्तै आशयका भावना र शुभेक्षा अन्य प्रतिष्ठित व्यक्तिहरूले पनि व्यक्त गरेका छन् । तर, यतिबेला नेपाली कांग्रेस एक ठाउँमा उभिन सकेन । विशेष अधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको छ भने पूर्णबहादुर खड्का नेतृत्वमा रहेको अर्को पक्षले शेरबहादुर देउवा सभापति रहेको केन्द्रीय समिति नै वैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ । यहाँ नेपाली कांग्रेसले ध्यान दिनुपर्ने एउटा महत्त्वपूर्ण तथ्य छ । नेपाली कांग्रेसका मतदाता, कार्यकर्ता र सामान्य नागरिक तहमा हेर्दा कांग्रेस फुट्छ भन्ने अनुभूति देखिँदैन । अर्थात् नफुटोस भन्ने भावना सशक्त छ । आन्तरिक संघर्ष भए पनि अन्ततः पार्टी एकतामै अघि बढ्छ भन्ने विश्वासमा कुनै डगमगाहट छैन । तर यसबीच पुनः एकपटक नेपाली कांग्रेस एउटा गम्भीर अग्निपरीक्षामा उभिएको छ ।

“एकताभित्र संघर्ष र संघर्षका बीच पनि एकता” नेपाली कांग्रेसको मौलिक चरित्र हो । यही पहिचानलाई जीवित राख्नु आजको प्रमुख जिम्मेवारी हो । नेपाली कांग्रेसले आफ्नो ८० वर्षको इतिहासमा आफूमात्र होइन राष्ट्रलाई पनि पटकपटक संकटबाट सुरक्षित दिशातर्फ डोर्‍याउँदै आएको छ । त्यो इतिहास संयोग थिएन । राजनीतिक परिपक्वता र सामूहिक जिम्मेवारीको परिणाम थियो । विश्वास छ, यसपटक पनि नेपाली कांग्रेसले आफ्नो परम्परालाई निरन्तरता दिनेछ । यतिबेला पार्टी आन्तरिक संघर्षको चरम बिन्दुमा पुगेको छ । दुईवटा केन्द्रीय कार्यसमितिले आफूलाई वैधानिक भएको दाबी गरिरहेका छन् । विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति सर्वोच्च अदालत पुगेको छ । भोलि ६ गते मनोनयन दर्ताको समय नजिकिँदै गर्दा त्यसअघि सर्वोच्च अदालतबाट निर्णय आउने सम्भावना देखिँदैन ।

यसबीच नेपाली समाजले नेपाली कांग्रेसभित्रको आन्तरिक संघर्षलाई अत्यन्त चासोका साथ हेरिरहेको छ । कतिपयले पार्टी फुटिसकेको वा फुट्न सक्ने अड्कल गरिरहेका छन् । तर नेपाली कांग्रेसका कार्यकर्तामा पार्टी नफुट्ने भन्ने अद्भुत आत्मविश्वास पनि देखिन्छ । दुवै पक्षका नेताहरूले पार्टी नफुटेको र आफू नै वैधानिक समिति भएको दाबी गरिरहेका छन् । यद्यपि, नेता कार्यकर्तामा अन्योल पनि स्पष्ट रूपमा विद्यमान छ । यही आन्तरिक द्वन्द्वले नेपाली कांग्रेस अब कसरी अघि बढ्नुपर्छ भन्ने विषयमा गम्भीर आत्ममूल्यांकन गर्ने अवसर दिएको छ। नेपाली कांग्रेसको मौलिक चरित्र, यसको ऐतिहासिक भूमिका, समसामयिक सान्दर्भिकता र लोकतान्त्रिक संस्कारको न्यायोचित पुनर्व्याख्या गर्ने यही उपयुक्त समय हो ।

लोकतन्त्रमा एउटा जीवित राजनीतिक दलभित्र, विचारका आधारमा संघर्ष हुनु स्वाभाविक हो । नेपाली कांग्रेस स्थापना कालदेखि नै आन्तरिक संघर्षबाट परिपक्व हुँदै आएको दल हो । यही परम्पराको सस्थागत अनुकरण गर्न नेपाली कांग्रेस चुक्नु हुँदैन । चुक्ने छुट छैन । मनोनयन दर्ताभन्दा अघि सर्वोच्च अदालतको निर्णय आउन नसक्ने अवस्थालाई दृष्टिगत गर्दै, निर्वाचनको तयारी र टिकट वितरणका विषयमा दुवै पक्ष एक ठाउँमा उभिनुपर्छ । साथै, आआफ्ना वैधानिक दाबीलाई कायम राख्दै आन्तरिक संघर्षलाई पनि लोकतान्त्रिक र सहज ढंगले व्यवस्थापन गर्नुपर्छ । यस प्रक्रियामा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले संयोजनकारी र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ । आन्तरिक मतभेदका बीच पनि हार्दिकता र परिपक्वतासहित निर्वाचनमा जानु नै पुरानो र जिम्मेवार राजनीतिक दलको कर्तव्य हो । लोकतन्त्रका लागि लामो इतिहास बोकेका नेताहरू यस बिन्दुमा आएर चुक्नु हुँदैन ।

मनोनयन दर्ता पश्चात् निर्वाचन अवधिमा सर्वोच्च अदालतबाट जे निर्णय आउँछ त्यसलाई सबैले शिरोधार्य गर्दै अघि बढ्नुपर्छ । निर्वाचनअघि निर्णय आएन भने पनि निर्वाचनपछि फैसला आए दुवै पक्षले अदालतको आदेशलाई स्वीकार गर्नैपर्छ । विशेष महाधिवेशन वैध ठहरिएमा गगन थापा सभापति रहेको केन्द्रीय समितिले वैशाखमा नियमित महाधिवेशन सम्पन्न गर्नेछ । अन्यथा शेरबहादुर देउवा सभापति रहेको केन्द्रीय समितिले वैशाखमै नियमित महाधिवेशन आह्वान गरी नयाँ नेतृत्व चयन गर्नेछ । पार्टीको दीर्घकालीन हित, लोकतन्त्रको संरक्षण र राष्ट्रको स्थायित्वका लागि यस सम्पूर्ण प्रक्रियामा सबै काङ्ग्रेसजनले धैर्य, संयम र एकताको परिचय दिऊँ । नेपाली कांग्रेसको शक्ति विभाजनमा होइन एकतामा छ भन्ने नबिर्सौँ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।