नेपालगन्ज, माघ १८ बाँकेको जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि पुनः आवतजावत सुरु भएको छ । करिब ६ वर्षपछि अध्यागमन कार्यालय, जमुनाहले तेस्रो मुलुकका नागरिकका लागि आगमन र प्रस्थान सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याएपछि भारत हुँदै नेपाल आउने तथा नेपाल हुँदै भारत जाने पर्यटकलाई सहज भएको छ ।
अध्यागमन कार्यालय, जमुनाहका अनुसार एक साताअघिदेखि सेवा औपचारिक रूपमा सुरु भइसकेको छ । कार्यालयकी प्रमुख दुर्गा वलीले आगमन र प्रस्थान सेवा सञ्चालनमा आएपछि हालसम्म दुई जना तेस्रो मुलुकका पर्यटक भारत हुँदै आवतजावत गरिसकेको जानकारी दिइन् । उनका अनुसार लामो समयपछि जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि सेवा सुरु हुनु पर्यटन क्षेत्रका लागि सकारात्मक संकेत हो ।
‘जमुनाह नाकाबाट आवतजावत गर्ने कुनै पनि पर्यटकलाई असहज हुने अवस्था छैन । हामीले आवश्यक सबै सेवा सुरु गरेका छौँ,’ प्रमुख वलीले भनिन् । उनका अनुसार नेपाल हुँदै भारत जाने र भारत हुँदै नेपाल आउने तेस्रो मुलुकका नागरिकले अब जमुनाह नाकाबाट निर्वाध रूपमा आवतजावत गर्न पाउनेछन् । यसले सीमावर्ती क्षेत्रसँगै समग्र पर्यटन क्षेत्रलाई लाभ पुग्ने उनको विश्वास छ ।
वलीका अनुसार जमुनाह नाका प्रयोग गरी नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटक बाँके र बर्दियाका पर्यटकीय स्थलसम्म सहजै पुग्न सक्नेछन् । ‘यहाँबाट पर्यटक आउन थालेपछि स्थानीय होटल, रेस्टुरेन्ट र यातायात व्यवसाय चलायमान हुन्छन् । यसले आर्थिक गतिविधि बढ्नुका साथै राजस्व सङ्कलनमा पनि टेवा पुग्नेछ,’ उनले भनिन् ।

भारतीय पत्रकार एसके मधेसियाले जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकको आवतजावत सुरु हुनु नेपाल र भारत दुवैका लागि लाभदायक हुने बताए । भारत हुँदै आउने तेस्रो मुलुकका पर्यटकले सिधै नेपालका पर्यटकीय क्षेत्र अवलोकन गर्न पाउने भएकाले धार्मिक, प्राकृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ ।
यसैगरी नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले नाका सञ्चालनमा आएपछि सबैभन्दा बढी खुसी स्थानीय व्यवसायी हुने बताए । ‘तेस्रो मुलुकका पर्यटक भारत हुँदै आएर बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको भरपुर आनन्द लिन सक्छन् । यसले होटल, ट्राभल एजेन्सी र गाइड व्यवसायलाई प्रत्यक्ष लाभ पुग्छ,’ उनले भने ।
कोरोना महामारी सुरु भएयता जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको थियो । लामो समयपछि पुनः सेवा सुरु भएसँगै पर्यटन व्यवसायीहरूले यसलाई सीमावर्ती क्षेत्रको पर्यटन पुनर्जीवनको अवसरका रूपमा हेरेका छन् ।














