जुम्ला, असार १० जुम्लाको गुठीचौर गाउँपालिकामा राजनीतिक दल परिवर्तनका कारण प्रमुख पद नै रिक्त भएको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा दल त्यागसम्बन्धी कानुनी प्रक्रियापछि पदमुक्त भएका हुन् ।
गुठीचौर गाउँपालिका का अध्यक्ष बुढा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस बाट निर्वाचित भएका थिए । तर पछि उनले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरेपछि उनीमाथि दल त्यागसम्बन्धी कारबाही अघि बढाइएको थियो । निर्वाचन आयोगले असार ९ गते सार्वजनिक गरेको सूचनाअनुसार अध्यक्ष बुढाले दल त्याग गरेको तथ्य प्रमाणित भएपछि उनको पद स्वतः रिक्त भएको हो । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२(१) तथा नियमावली २०७४ को नियम २२ बमोजिम निर्णय गर्दै पद रिक्त भएको जानकारी सार्वजनिक गरेको हो ।
आयोगको मिति २०८३ असार ८ गतेको निर्णयपछि अध्यक्ष बुढाको पद औपचारिक रूपमा रिक्त भएको उल्लेख गरिएको छ । पार्टी परित्यागपछि जिल्ला तहबाट सुरु भएको कारबाही प्रक्रिया केन्द्रीय समितिसम्म पुगेको थियो । त्यसपछि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले उनलाई दल त्याग गरेको ठहर गर्दै निर्वाचन आयोगमा विवरण पठाएको हो । बुढा कांग्रेसबाट निर्वाचित हुँदा एक वर्षभन्दा बढी कार्यकाल बाँकी रहँदै दल परिवर्तन गरेपछि जिल्लास्तरमा तीव्र राजनीतिक प्रतिक्रिया देखिएको थियो । स्थानीय तहमा जनमतका आधारमा निर्वाचित जनप्रतिनिधिले पार्टी बदल्दा पद गुमाउने विषयमा बहस पनि चुलिएको छ ।
यसै प्रकरणसँगै आयोगले थप दुई जना निर्वाचित जनप्रतिनिधिको पद पनि रिक्त भएको जनाएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हीनन्दन गाउँपालिका की उपाध्यक्ष फातिमा खातुन अन्सारी र रूपन्देहीको बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकालको पद पनि दल त्यागका कारण खारेज भएको आयोगको सूचनामा उल्लेख छ । दल त्यागसम्बन्धी कानुनअनुसार निर्वाचित जनप्रतिनिधिले आफू निर्वाचित भएको राजनीतिक दल परित्याग गरेमा स्वतः पद रिक्त हुने व्यवस्था छ । यसै प्रावधानका आधारमा तीनै जनप्रतिनिधिको पद समाप्त भएको निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
यो घटनासँगै स्थानीय तहमा दल परिवर्तन र राजनीतिक अनुशासनबारे फेरि बहस सुरु भएको छ ।













