नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको फैसलाले पार्टीलाई एकताबद्ध बनाउँदै बलियो बनाउने साझा यात्राको वातावरण तयार गरेको बताएका छन्। शुक्रबार अदालतले पार्टीको आधिकारिकताबारे निर्णय गरेपछि शनिबार एक बयान जारी गर्दै उनले अब सबै मिलेर पार्टी निर्माणमा लाग्नुपर्नेमा जोड दिएका हुन्।
थापाले अदालतको निर्णयलाई जित-हारको रूपमा नलिन आग्रह गर्दै भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ। यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो।’
उनले देश तथा विदेशमा रहेका पार्टीका सदस्य र शुभेच्छुकहरूलाई जिम्मेवारीका साथ एकताको पक्षमा उभिन अपिल गरेका छन्। सभापतिको हैसियतले पार्टीलाई एकीकृत बनाउने मुख्य जिम्मेवारी आफ्नै भएको स्वीकार गर्दै उनले यसका लागि सक्रिय रूपमा लाग्ने प्रतिबद्धता समेत जनाएका छन्।
पार्टीको आगामी कार्यदिशाबारे उनले भनेका छन्, ‘पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ। महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ।’
उनले अग्रजहरूको योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताको आकांक्षा पूरा गर्न सक्ने पार्टी बनाउन सबैलाई एक ढिक्का हुन आह्वान गरेका छन्। उनले भनेका छन्, ‘अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ। जय नेपाल!’





















