२०८३ असार ३ बुधबार
२०८३ असार ३ बुधबार

नेपालगन्जमा ४३ वटा छाडा पशुचौपाया काञ्जी हाउसमा राखियो

नेपालगन्ज, वैशाख १३  नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र बढ्दै गएको छाडा पशुचौपाया व्यवस्थापन अभियानलाई तीव्र बनाएको छ । सडकमा अनियन्त्रित रूपमा हिँड्ने पशुचौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि नगर प्रहरीले विभिन्न स्थानबाट संकलन गरी काञ्जी हाउसमा राख्न थालेको हो ।

आज नगरका विभिन्न भागबाट संकलन गरिएका छाडा पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको काञ्जी हाउसमा राखिएको उपमहानगरपालिकाले जनाएको छ । सडक, चोक, बजार क्षेत्र तथा मुख्य राजमार्ग आसपासमा अनियन्त्रित रूपमा रहेका पशुचौपायालाई नियन्त्रणमा लिने अभियानलाई निरन्तरता दिइएको हो । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार आज मात्र ४३ वटा पशुचौपाया नियन्त्रणमा लिइएको छ । तीमध्ये गाई, बाच्छाबाछी, साँढे र गोरु गरी ३३ वटा रहेका छन् भने घोडा, घोडी र बछेरा ८ वटा रहेका छन् । नियन्त्रणमा लिइएका सबै पशुचौपायालाई सुरक्षित रूपमा काञ्जी हाउसमा राखिएको उनले जानकारी दिए ।

नगर क्षेत्रका मुख्य सडकहरूमा छाडा पशुचौपाया बढ्दै जाँदा यातायात सञ्चालनमा अवरोध, दुर्घटनाको जोखिम र पैदल यात्रुहरूलाई समेत असहजता हुँदै आएको गुनासो बढेपछि उपमहानगरपालिका सक्रिय बनेको हो । विशेषगरी साँझ र बिहानको समयमा सडकमा झुण्डझुण्डमा देखिने पशुचौपायाले ट्राफिक व्यवस्थापनमा चुनौती थप्दै आएको स्थानीयवासीले बताएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले पछिल्ला दिनमा नगर सौन्दर्यीकरण, सडक सुरक्षा र व्यवस्थित यातायात प्रणालीलाई प्राथमिकतामा राख्दै छाडा पशुचौपाया नियन्त्रण अभियानलाई नियमित बनाउँदै आएको छ । नगर प्रहरीको टोली परिचालन गरी बजार क्षेत्र, बसपार्क, मुख्य चोक तथा आवासीय क्षेत्रबाट समेत पशुचौपाया संकलन गर्ने कार्य भइरहेको जनाइएको छ ।

उपमहानगरपालिकाका अनुसार छाडा पशुचौपाया नियन्त्रण केवल अस्थायी व्यवस्थापन मात्र नभई दीर्घकालीन समाधानतर्फ पनि ध्यान दिइएको छ । पशुधनीहरूलाई आफ्ना पशुहरू खुला रूपमा नछोड्न र उचित व्यवस्थापन गर्न निरन्तर अनुरोध गरिएको छ । पटक–पटक गरिएको आग्रहका बाबजुद पनि केही पशु धनीले बेवास्ता गर्दा समस्या जटिल बन्दै गएको नगरपालिकाको भनाइ छ । नगर क्षेत्रमा सडक विस्तार, ट्राफिक चाप वृद्धि र जनसंख्या बढ्दै जाँदा छाडा पशुचौपायाको समस्या थप संवेदनशील बन्दै गएको छ । यसले सवारी दुर्घटना मात्र होइन, सडक सरसफाइ र वातावरणीय व्यवस्थापनमा समेत असर पारिरहेको उपमहानगरपालिकाले जनाएको छ ।

नगर प्रहरीले नियन्त्रण अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरेको छ । आवश्यक परे थप जनशक्ति परिचालन गरी नगरका सबै वडामा छाडा पशुचौपाया नियन्त्रण गरिने योजना रहेको बताइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सडक सुरक्षा सुनिश्चित गर्न, दुर्घटना न्यूनीकरण गर्न र सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउन छाडा पशुचौपाया नियन्त्रण अभियानलाई निरन्तर अघि बढाइने स्पष्ट पारेको छ । यस अभियानले नगर क्षेत्रलाई सुरक्षित, व्यवस्थित र सौन्दर्यपूर्ण बनाउने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।