बैतडी, वैशाख २३ लामो समयदेखि भूमिहीन तथा अव्यवस्थित बसोबासीका रूपमा बसोबास गर्दै आएका नागरिकलाई जग्गा स्वामित्व दिलाउने प्रक्रिया बैतडीमा औपचारिक रूपमा अघि बढेको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीले पञ्चेश्वर गाउँपालिकामा पहिचान गरिएका भूमिहीनमध्ये पहिलो चरणमा २० परिवारलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको हो । आयोगका अनुसार गाउँपालिकाले गरेको प्रमाणीकरणका आधारमा पञ्चेश्वरमा कुल ५९ जना भूमिहीन सुकुमवासी पहिचान गरिएको छ । तीमध्ये प्रारम्भिक चरणमा २० जनाको नाममा जग्गा स्वामित्व हस्तान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको आयोगका जिल्ला अध्यक्ष रमेश पाण्डेयले जानकारी दिए ।
उनका अनुसार वितरण प्रक्रियालाई पारदर्शी बनाउन सात दिनको सार्वजनिक सूचना जारी गरिएको थियो । उक्त अवधिमा कुनै पनि हकदाबी नपरेपछि अब लाभग्राहीको तीन पुस्ते विवरण मालपोत कार्यालयमा पठाइने तयारी गरिएको छ । त्यसपछि उनीहरूको वा परिवारको नाममा अन्यत्र जग्गा वा सम्पत्ति नभएको यकिन भएपछि मात्रै लालपुर्जा वितरण गरिने अध्यक्ष पाण्डेयले बताए । गाउँपालिकासँगको समन्वयमा नापजाँच गरिएको जग्गा भूमिहीन दलित तथा सुकुमवासीका लागि उपलब्ध गराउने काम अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । तर जिल्लाका अन्य स्थानीय तहमा भने आवश्यक प्रमाणीकरण प्रक्रिया अगाडि नबढेकाले हालसम्म सबै ठाउँमा पुर्जा वितरण सुरु हुन नसकेको बताइएको छ ।
पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दका अनुसार सरकारले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने निर्देशनअनुसार गाउँपालिकाले समेत विस्तृत छानबिन गरिरहेको छ । त्यही प्रक्रियासँगै वास्तविक भूमिहीन र अव्यवस्थित बसोबासी छुट्याउने काम भइरहेको उनले बताए । आयोगका तथ्यांकअनुसार पञ्चेश्वर गाउँपालिकामा मात्रै ५९ जना भूमिहीन परिवार रहेका छन् भने करिब चार सयको हाराहारीमा अव्यवस्थित बसोबासी रहेको अनुमान छ । यस्तै, जिल्लाभर तीन हजारभन्दा बढी भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीले जग्गा स्वामित्वका लागि आवेदन दर्ता गराइसकेका छन् । स्थानीय तहहरूमा जग्गा नापजाँच, तथ्यांक प्रमाणीकरण र कानुनी प्रक्रिया पूरा भएपछि अन्य क्षेत्रहरूमा पनि क्रमशः लालपुर्जा वितरण विस्तार गरिने आयोगले जनाएको छ ।















