दाङ, वैशाख २७ गते । दाङको देउखुरी क्षेत्रमा फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
घोराहीबाट प्युठानको बाहानेतर्फ जाँदै गरेको लु. २ ख. ६०२९ नम्बरको फोर्स गाडी महेन्द्र राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–४ स्थित मौरीघाटमा आज बिहान दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार बिहान करिब सवा १० बजेतिर भएको दुर्घटनामा चार जना सामान्य घाइते भएका छन् । घाइतेहरूको भालुबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेहरूको परिचय खुल्ने क्रम जारी रहेको छ । दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।














