ढल्केबर, वैशाख २७ गते । धनुषाको मिथिला नगरपालिका–९ लालगढ नजिक पूर्वपश्चिम राजमार्गमा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन् । काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बस ओभरटेक गर्ने क्रममा अर्को बससँग ठोक्किएपछि अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बसले सोही दिशातर्फ अघि बढिरहेको प्र १–०१–००१ ख ४२२४ नम्बरको बसलाई उछिन्ने प्रयास गर्दा पछाडिको भागमा ठोक्किएको थियो । ठक्करपछि यात्रुवाहक बस सडकमा पल्टिएको हो ।
दुर्घटनामा परेको बसमा ३३ जना यात्रु सवार रहेकोमा चालकसहित १७ जना घाइते भएका छन् । घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर लागेको अर्को बसमा भने सामान्य क्षति पुगेको छ ।
घाइतेमध्ये चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–९ निवासी ४३ वर्षीय विष्णु घाइते भएका छन् । भारत आसाम निवासी ५० वर्षीय बिराज शेख र ३५ वर्षीय सतन शेखको टाउको तथा शरीरमा मध्यम चोट लागेको छ भने २८ वर्षीय अफताब अन्सारी सामान्य घाइते भएका छन् ।

त्यस्तै सुनसरी हरिनगर–४ निवासी २० वर्षीय सुजन यादव, उदयपुर चन्दनगढी–६ निवासी ३२ वर्षीय अजय काफ्ले, काठमाडौं महानगरपालिका–३२ निवासी २१ वर्षीया रिद्धि खड्की र २१ वर्षीया सरन खड्की पनि घाइते भएका छन् ।
यसैगरी धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ निवासी ४२ वर्षीया ललिता भुजेल, सर्लाही लालबन्दी–१ निवासी ३८ वर्षीय दिजेन्द्र न्यौपाने, सहचालक मोरङ विराटनगर निवासी २८ वर्षीय मुकेश साह, तेह्रथुम थथर गाउँपालिका–४ निवासी २८ वर्षीया कविता भुजेल, सुनसरी धरान–१७ निवासी ३४ वर्षीया मेरी राई, झापा झिलझिले–८ निवासी २० वर्षीय न्युसन थापा, सुनसरी इनरुवा निवासी ३३ वर्षीय राजकुमार उराउ, सिरहा मिर्चैया–१ निवासी ४४ वर्षीय रतनदेव मण्डल तथा सुनसरी इनरुवा निवासी ३३ वर्षीया सन्तोषी उराउ घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।















