२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

थारु समुदायको प्रदेशस्तरीय सम्मेलन आजदेखि दाङामा हुँदै

दाङ, वैशाख २८ थारू समुदायको परम्परागत मटाँवा–बरघर–भलमन्सा प्रथालाई संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यसहित दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन हुन लागेको छ । मटाँवा बरघर भलमन्सा संघ केन्द्रीय समितिको आयोजनामा आजदेखि दंगीशरण गाउँपालिका–३, चखौरास्थित थारू सांस्कृतिक संग्रहालय परिसरमा दुई दिने कार्यक्रम सुरु हुन लागेको हो ।

आयोजकका अनुसार ‘थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटाँवा बरघर भलमन्साको अन्तर प्रदेशस्तरीय सम्मेलन तथा अनुभव आदानप्रदान कार्यक्रम’ मार्फत थारू समुदायको परम्परागत नेतृत्व प्रणाली, सामाजिक अभ्यास र यसको वर्तमान सान्दर्भिकताबारे विस्तृत छलफल हुने छ । सम्मेलनमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, कपिलवस्तु, रूपन्देही र नवलपरासी लगायत जिल्लाबाट करिब एक हजारभन्दा बढी मटाँवा, बरघर, भलमन्सा तथा थारू अगुवाहरू सहभागी हुनेछन् । मटाँवा बरघर भलमन्सा संघका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले यो सम्मेलनलाई थारू समुदायको साझा परम्परागत अभ्यासलाई एकै ठाउँमा राखेर अनुभव आदानप्रदान गर्ने ऐतिहासिक अवसरका रूपमा लिइएको बताए ।

उनका अनुसार थारू समुदायमा आदिमकालदेखि चलिआएको मटाँवा–बरघर–भलमन्सा प्रथा गाउँ समाज सञ्चालन गर्ने परम्परागत संरचना र अलिखित कानुनी अभ्यासका रूपमा स्थापित छ । जिल्ला अनुसार नाम फरक भए पनि यसको उद्देश्य, भूमिका र सामाजिक जिम्मेवारी समान रहेको उनले स्पष्ट पारे । थारू समुदायमा माघ पर्वको अवसरमा गाउँ–गाउँमा छलफल गरेर सर्वसम्मतिबाट मटाँवा, बरघर वा भलमन्सा चयन गर्ने परम्परा रहँदै आएको छ । उनीहरूले गाउँको नेतृत्व गर्दै सामाजिक विवाद समाधान, संस्कार संरक्षण तथा सामुदायिक व्यवस्थापनको महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमलाई पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँके तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर, दाङले समन्वय र सहकार्य गरेका छन् । सम्मेलनमा थारू समुदायको आर्थिक सशक्तीकरण, प्रथाजनित कानुन, अन्तर्राष्ट्रिय अभ्यास र नेपालले अपनाउनुपर्ने रणनीति, थारू संस्कारको संरक्षण तथा प्रवर्धन, बालविवाहमुक्त अभियानमा मटाँवा–बरघरहरूको भूमिका लगायत विषयमा छलफल सत्र सञ्चालन हुने छन् ।

त्यसैगरी छलफल सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुरेन्द्र चौधरी, प्रा.डा. कृष्ण भट्टचन, बेस संस्थाका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरी, थारू संस्कृतिविद् अशोक थारू, इलाका प्रहरी कार्यालयका प्रमुख होमबहादुर पराजुली तथा बेस संस्थाकी कार्यक्रम निर्देशक पिंकी डाँगीले स्रोत व्यक्तिका रूपमा सहजीकरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । यस्तै, थारू समुदायमा प्रचलित प्रथाजनित कानुन निर्माण तथा कार्यान्वयनमा योगदान पुर्‍याउने स्थानीय तहका प्रतिनिधि, गुरुवा तथा मटाँवा–बरघरहरूलाई सम्मेलनकै अवसरमा सम्मान गर्ने कार्यक्रम पनि समावेश गरिएको छ । आयोजकले यो सम्मेलनले थारू समुदायको परम्परागत नेतृत्व प्रणालीलाई संरक्षण गर्दै आधुनिक सामाजिक संरचनासँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।