२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

बाँकेमा आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढी लाभान्वित

नेपालगञ्ज ।  बाँकेमा रहेको आप्रवासी स्रोत केन्द्रबाट चालु आर्थिक वर्षमा हालसम्म ६ हजारभन्दा बढीले सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा सञ्चालनमा रहेको केन्द्रबाट ६ हजार २ सय ५६ जनाले वैदेशिक रोजगारी सम्बन्धी सूचना, परामर्श तथा सहजीकरण सेवा लिएका हुन् ।

सेवा लिनेमध्ये ४ हजार ४ सय १८ जना पुरुष र १ हजार ८ सय ३८ जना महिला रहेका छन् । केन्द्रमा सम्भावित वैदेशिक रोजगारीमा जाने कामदारलाई आवश्यक सूचना, काउन्सिलिङ्ग तथा परामर्श सेवा उपलब्ध गराइँदै आएको छ ।

सूचना तथा परामर्शकर्ता आस्था पोखरेलले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्तिलाई सुरक्षित आप्रवासनसम्बन्धी जानकारी प्रदान गरिने बताइन् । “विदेश जानुअघि कामदारलाई आवश्यक सूचना, कानुनी प्रक्रिया र सम्भावित जोखिमबारे परामर्श दिने गरेका छौं,” उनले भनिन् ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रममार्फत २०७५ सालदेखि उक्त सेवा सञ्चालन हुँदै आएको हो । जिल्ला प्रशासन कार्यालयमा हाल दुई जना सूचना तथा परामर्शकर्ता कार्यरत छन् । आस्था पोखरेल र विनिता बस्नेतले सेवा प्रदान गरिरहेका छन् । कोहलपुरमा समेत आप्रवासी स्रोत केन्द्रको उपकेन्द्र सञ्चालनमा रहेको छ ।

सेवा लिन आएका कोहलपुरका आरती पौडेल र कृष्णबहादुर खत्रीले केन्द्रबाट सहज रुपमा आवश्यक सूचना तथा परामर्श पाएको प्रतिक्रिया दिए ।

सामी कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक कमलसिंह नेपालीले आप्रवासी स्रोत केन्द्रलाई सामी कार्यक्रमको “मुटु” का रुपमा व्याख्या गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन केन्द्रले महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनका अनुसार चालु आर्थिक वर्षमा ठगी तथा अंगभंगसम्बन्धी ६५ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये १४ वटा समस्या समाधान भइसकेका छन् । कार्यक्रममार्फत ३३ लाख ६५ हजार रुपैयाँ ठगी रकम फिर्ता गराउन सहजीकरण गरिएको छ । गत आर्थिक वर्षको बाँकी ११ लाख ५० हजार रुपैयाँसमेत सहजीकरण गरिएको नेपालीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयस्थित आप्रवासी स्रोत केन्द्रमा पत्रकारहरुको उपस्थितिमा गरिएको अनुगमनका क्रममा नेपालीले सामी कार्यक्रम पाँच वटा मुख्य विषयमा केन्द्रित भएर काम गरिरहेको बताए । कार्यक्रमले सूचनामा पहुँच, न्यायमा पहुँच तथा कानुनी सहजीकरण, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरतामा काम गरिरहेको उनले बताए ।

सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालनमा रहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय तहको नेतृत्वमा कार्यान्वयन भइरहेको कार्यक्रममा स्वीस सरकारको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग प्रदान गर्दै आएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।