२०८३ श्रावण ५ मंगलवार
२०८३ श्रावण ५ मंगलवार

राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रम

राप्तीसोनारी, असार १४  राप्तीसोनारी गाउँपालिकाले विद्यार्थीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको शैक्षिक अवस्था, भविष्यको लक्ष्य र विद्यालयको समग्र गुणस्तरबारे जानकारी लिन ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रम आयोजना गरेको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भई विद्यार्थीसँग खुला अन्तरक्रिया गरेका थिए ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले आफ्नो भविष्यको लक्ष्य प्रस्तुत गर्दै नेपालमै बसेर सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विद्यार्थी विजयकुमार जैसवालले शिक्षक बनेर समाजमा गुणस्तरीय शिक्षा प्रवाह गर्ने लक्ष्य रहेको बताए । रविन पोखरेल र नरेश केसीले पनि भविष्यमा शिक्षक बनेर आफ्नै गाउँ र देशको शैक्षिक विकासमा योगदान पुर्‍याउने इच्छा व्यक्त गरे । त्यस्तै रेनुका खड्का र सृष्टि कसेराले निजामती कर्मचारी बनेर जनताको सेवा गर्ने लक्ष्य रहेको सुनाए । सञ्चिता थारु, समीक्षा चौधरी, स्मृति थारु र रोशनी थारुले शिक्षिका बनेर नयाँ पुस्तालाई शिक्षित र सक्षम बनाउने चाहना व्यक्त गरे ।

कार्यक्रममा सहभागी अन्य विद्यार्थीले नेपाली सेना, बैंकिङ क्षेत्र, स्वास्थ्य सेवा, इन्जिनियरिङ, प्राविधिक तथा अन्य विभिन्न पेशामा आबद्ध भएर नेपालमै रोजगारी गर्दै देश र जनताको सेवा गर्ने लक्ष्य रहेको बताएका थिए । अधिकांश विद्यार्थीले विदेशभन्दा आफ्नै देशमा अवसर सिर्जना गर्दै योगदान दिन चाहेको धारणा राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले विद्यार्थीसँग आत्मीय सम्बन्ध स्थापित गर्न र उनीहरूको वास्तविक अवस्था बुझ्न यस्तो कार्यक्रम आयोजना गरिएको बताए । उनले विद्यार्थीको पठनपाठनको अवस्था, विद्यालयमा उनीहरूको सहभागिता, सिकाइको गुणस्तर, विषयगत शिक्षक–शिक्षिकाको भूमिका तथा विद्यार्थीमा रहेको प्रतिभाबारे प्रत्यक्ष जानकारी लिन कार्यक्रम उपयोगी बनेको बताए ।

‘पालिकाको भविष्य विद्यार्थी नै हुन् । आजका विद्यार्थी सक्षम भए मात्र भोलिको समाज र राष्ट्र समृद्ध बन्छ,’ अध्यक्ष पौडेलले भने, ‘विद्यार्थीका समस्या, अपेक्षा र लक्ष्यलाई नजिकबाट बुझेर त्यसअनुसार शैक्षिक नीति तथा कार्यक्रम सञ्चालन गर्न गाउँपालिका प्रतिबद्ध छ ।’ उनले शिक्षालाई केवल परीक्षा उत्तीर्ण गर्ने माध्यमका रूपमा नभई सक्षम, नैतिक र जिम्मेवार नागरिक उत्पादन गर्ने आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए । विद्यार्थीलाई आफ्नो लक्ष्यप्रति दृढ रहँदै मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न पनि उनले आग्रह गरे ।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तथा वरिष्ठ शिक्षा अधिकृत ८८मोहन वि.सी.८८ले ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रमले विद्यार्थी र स्थानीय सरकारबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरेको बताए । उनका अनुसार कार्यक्रममार्फत विद्यार्थीका आकांक्षा, समस्या, प्रतिभा र आवश्यकतालाई नजिकबाट बुझ्ने अवसर प्राप्त भएको छ । यसबाट गाउँपालिकाले आगामी दिनमा विद्यार्थीमैत्री तथा गुणस्तरीय शिक्षा प्रवद्र्धनका कार्यक्रम तर्जुमा गर्न थप सहज हुने विश्वास उनले व्यक्त गरे । उनले विद्यार्थीमा आत्मविश्वास अभिवृद्धि गर्ने, नेतृत्व क्षमता विकास गर्ने तथा आफ्नो भविष्यप्रति स्पष्ट लक्ष्य निर्धारण गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

कार्यक्रममा विद्यार्थीहरूले खुलेर आफ्ना विचार, जिज्ञासा र भविष्यका योजनाबारे धारणा राखेका थिए । सहभागी अधिकांश विद्यार्थीले आफ्नो अध्ययन पूरा गरी नेपालमै रोजगारी गर्दै समाज र राष्ट्रको सेवामा समर्पित हुने प्रतिबद्धता जनाएका थिए । गाउँपालिकाले यस्ता संवादमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।