२०८३ श्रावण १८ सोमबार
२०८३ श्रावण १८ सोमबार

अन्य निकुञ्जभन्दा बाँकेमा शतप्रतिशत बाघ वृद्धि बाँकेमा बाघको संख्या ५१ पुग्यो

यसअघि गरिएको गणनामा बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेकोमा पछिल्लो गणनाले थप २६ वटा बाघ बढेको देखाएको हो । संरक्षण, चोरीसिकारी नियन्त्रण, आहारा व्यवस्थापन र जलस्रोत विस्तारका कारण निकुञ्ज बाघ बस्नका लागि अझ उपयुक्त बासस्थान बन्दै गएको संरक्षणकर्मीहरूको भनाइ छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार बाघको संख्या बढ्नु सबै सरोकारवाला निकाय, सुरक्षाकर्मी र स्थानीय समुदायको सामूहिक प्रयासको परिणाम हो । उनका अनुसार बाघ बढेसँगै संरक्षणका चुनौती पनि बढेका छन्, तर यसले पर्यटन र जैविक विविधता संरक्षणका नयाँ अवसरसमेत सिर्जना गरेको छ ।


कोहलपुर, साउन १४  बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेख्यरूपमा वृद्धि भएको छ । पछिल्लो बाघ गणनाअनुसार निकुञ्जमा बाघको संख्या २५ बाट बढेर ५१ पुगेको छ । यससँगै बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या शतप्रतिशतभन्दा बढी अर्थात् १०४ प्रतिशतले वृद्धि भएको छ, जुन नेपालका राष्ट्रिय निकुञ्जहरूमध्ये प्रतिशत वृद्धिका आधारमा सबैभन्दा उल्लेखनीय मानिएको छ ।

यसअघि गरिएको गणनामा बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेकोमा पछिल्लो गणनाले थप २६ वटा बाघ बढेको देखाएको हो । संरक्षण, चोरीसिकारी नियन्त्रण, आहारा व्यवस्थापन र जलस्रोत विस्तारका कारण निकुञ्ज बाघ बस्नका लागि अझ उपयुक्त बासस्थान बन्दै गएको संरक्षणकर्मीहरूको भनाइ छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार बाघको संख्या बढ्नु सबै सरोकारवाला निकाय, सुरक्षाकर्मी र स्थानीय समुदायको सामूहिक प्रयासको परिणाम हो । उनका अनुसार बाघ बढेसँगै संरक्षणका चुनौती पनि बढेका छन्, तर यसले पर्यटन र जैविक विविधता संरक्षणका नयाँ अवसरसमेत सिर्जना गरेको छ ।

‘जहाँ आहारा र सुरक्षित ठाउँ हुन्छ, बाघ त्यही आउँछ,’ कँडेलले भने, ‘बाँके राष्ट्रिय निकुञ्ज अहिले पर्याप्त आहारा, पानी र सुरक्षित बासस्थान भएको क्षेत्रका रूपमा स्थापित भएको यो तथ्यांकले पुष्टि गरेको छ ।’ उनका अनुसार बाँके राष्ट्रिय निकुञ्ज चुरे–भावर क्षेत्रमा पर्ने भएकाले यहाँ सुख्खा मौसममा पानीको अभाव हुने समस्या थियो । त्यसलाई समाधान गर्न निकुञ्जले करिब ३० वटा कृत्रिम पोखरी निर्माण गरेको छ भने पाइपमार्फत विभिन्न जलाशयमा पानी पुर्‍याउने व्यवस्था गरिएको छ । चारैतिर पानीको पहुँच विस्तार भएपछि वन्यजन्तुका लागि अनुकूल वातावरण बनेको उनले बताए । निकुञ्जभित्र घाँसे मैदानको व्यवस्थापन, आहारा प्रजातिको संरक्षण तथा चोरीसिकारी नियन्त्रणमा गरिएको प्रभावकारी प्रयासले पनि बाघको संख्या बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । जरायो, चित्तल, चौका, निलगाई लगायतका आहारा प्रजातिको उपलब्धता बढ्दा बाघका लागि आवश्यक खाद्य शृंखला सुदृढ भएको संरक्षणकर्मीहरू बताउँछन् ।

त्यसैगरी निकुञ्ज क्षेत्रमा करिब ५६ किलोमिटर परिधिसम्म सुरक्षा व्यवस्थापन र नियमित निगरानी सुदृढ गरिएको छ । चोरीसिकारी नियन्त्रणका लागि नेपाली सेना, निकुञ्ज प्रशासन र स्थानीय समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाइएको कँडेलले जानकारी दिए । उनका अनुसार बाघको संख्या बढ्नु बाँके राष्ट्रिय निकुञ्जको पारिस्थितिक प्रणाली सुदृढ हुँदै गएको संकेत हो । बाघ बस्नका लागि आवश्यक पानी, आहारा र सुरक्षित बासस्थान उपलब्ध हुँदा बाघको प्रजनन दर पनि सकारात्मक भएको उनले बताए ।

‘बाघको संख्या बढ्नु मात्र पर्याप्त होइन, त्यसको दीर्घकालीन संरक्षण अझ महत्वपूर्ण विषय हो,’ कँडेलले भने, ‘अब मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, सडक दुर्घटनाबाट हुने क्षति रोकथाम र बासस्थानको संरक्षणमा थप ध्यान दिन आवश्यक छ ।’ बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या ५१ पुगेसँगै यो क्षेत्र नेपालका महŒवपूर्ण बाघ बासस्थानमध्ये एकका रूपमा थप मजबुत बनेको छ । संरक्षणविद्हरूका अनुसार पछिल्लो उपलब्धिले बाँकेमा गरिएको संरक्षण प्रयास प्रभावकारी रहेको पुष्टि गरेको छ र भविष्यमा पर्यटन, अनुसन्धान तथा जैविक विविधता संरक्षणका क्षेत्रमा नयाँ सम्भावनाहरू समेत खोल्ने अपेक्षा गरिएको छ ।

‘जहाँ आहारा र सुरक्षित बासस्थान हुन्छ, बाघ त्यही आउँछ’


वीरेन्द्रप्रसाद कँडेल
प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत
बाँके राष्ट्रिय निकुञ्ज

बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या ५१ पुगेको छ । यसलाई कसरी हेर्नुभएको छ ?

यो बाँके राष्ट्रिय निकुञ्जका लागि अत्यन्तै सकारात्मक र उत्साहजनक उपलब्धि हो । यसअघि २५ वटा बाघ रहेकोमा अहिले ५१ पुगेको छ, अर्थात् शतप्रतिशतभन्दा बढी वृद्धि भएको छ । यो केवल निकुञ्ज प्रशासनको मात्र उपलब्धि होइन, नेपाली सेना, सुरक्षाकर्मी, स्थानीय समुदाय र सबै सरोकारवालाको सामूहिक प्रयासको परिणाम हो ।

बाघको संख्या यति धेरै बढ्नुको मुख्य कारण के हो ?

मुख्य कारण भनेको बाघका लागि आवश्यक आहारा, पानी र सुरक्षित बासस्थानको उपलब्धता हो । जहाँ आहारा र सुरक्षित ठाउँ हुन्छ, बाघ त्यही आउँछ । बाँके राष्ट्रिय निकुञ्ज अहिले बाघ बस्नका लागि उपयुक्त क्षेत्र बनेको छ । चोरीसिकारी नियन्त्रण, घाँसे मैदान व्यवस्थापन र वन्यजन्तुको संरक्षणले पनि ठूलो भूमिका खेलेको छ ।

निकुञ्जले पानी व्यवस्थापनका क्षेत्रमा के काम गरेको छ ?

बाँके राष्ट्रिय निकुञ्ज चुरे–भावर क्षेत्रमा पर्ने भएकाले यहाँ सुख्खा मौसममा पानीको अभाव हुने समस्या थियो । त्यसलाई समाधान गर्न हामीले करिब ३० वटा कृत्रिम पोखरी निर्माण गरेका छौं । पाइपमार्फत विभिन्न जलाशयमा पानी पुर्‍याउने व्यवस्था पनि गरिएको छ । यसले वन्यजन्तु र बाघ दुवैका लागि अनुकूल वातावरण बनाएको छ ।

आहारा प्रजातिको व्यवस्थापन कत्तिको प्रभावकारी भएको छ ?

निकुञ्जभित्र घाँसे मैदानको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । जरायो, चित्तल, चौका, निलगाई लगायतका आहारा प्रजातिको संख्या र उपलब्धता बढेको छ । बाघका लागि पर्याप्त खाद्य स्रोत उपलब्ध हुनु यसको वृद्धिको महत्वपूर्ण आधार हो ।

अबको सबैभन्दा ठूलो चुनौती के देख्नुहुन्छ ?

बाघको संख्या बढ्नु खुशीको कुरा हो, तर यससँगै चुनौती पनि बढ्छन् । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, सडक दुर्घटनाबाट हुने क्षति रोकथाम, बासस्थान संरक्षण र चोरीसिकारी नियन्त्रणलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । संरक्षणलाई दिगो बनाउन स्थानीय समुदायको सहभागिता झन् महत्त्वपूर्ण हुन्छ ।

अन्त्यमा, बाँकेका नागरिकलाई के भन्न चाहनुहुन्छ ?

बाघ हाम्रो प्राकृतिक सम्पदा हो । यसको संरक्षण केवल निकुञ्जको जिम्मेवारी होइन, सबैको साझा दायित्व हो । स्थानीय समुदायको साथ र सहयोगले नै आजको उपलब्धि सम्भव भएको हो । आगामी दिनमा पनि यही सहकार्य कायम रह्यो भने बाँके राष्ट्रिय निकुञ्ज अझ सुरक्षित र समृद्ध वन्यजन्तु आवासका रूपमा स्थापित हुनेछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।