यसअघि गरिएको गणनामा बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेकोमा पछिल्लो गणनाले थप २६ वटा बाघ बढेको देखाएको हो । संरक्षण, चोरीसिकारी नियन्त्रण, आहारा व्यवस्थापन र जलस्रोत विस्तारका कारण निकुञ्ज बाघ बस्नका लागि अझ उपयुक्त बासस्थान बन्दै गएको संरक्षणकर्मीहरूको भनाइ छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार बाघको संख्या बढ्नु सबै सरोकारवाला निकाय, सुरक्षाकर्मी र स्थानीय समुदायको सामूहिक प्रयासको परिणाम हो । उनका अनुसार बाघ बढेसँगै संरक्षणका चुनौती पनि बढेका छन्, तर यसले पर्यटन र जैविक विविधता संरक्षणका नयाँ अवसरसमेत सिर्जना गरेको छ ।
कोहलपुर, साउन १४ बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेख्यरूपमा वृद्धि भएको छ । पछिल्लो बाघ गणनाअनुसार निकुञ्जमा बाघको संख्या २५ बाट बढेर ५१ पुगेको छ । यससँगै बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या शतप्रतिशतभन्दा बढी अर्थात् १०४ प्रतिशतले वृद्धि भएको छ, जुन नेपालका राष्ट्रिय निकुञ्जहरूमध्ये प्रतिशत वृद्धिका आधारमा सबैभन्दा उल्लेखनीय मानिएको छ ।
यसअघि गरिएको गणनामा बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेकोमा पछिल्लो गणनाले थप २६ वटा बाघ बढेको देखाएको हो । संरक्षण, चोरीसिकारी नियन्त्रण, आहारा व्यवस्थापन र जलस्रोत विस्तारका कारण निकुञ्ज बाघ बस्नका लागि अझ उपयुक्त बासस्थान बन्दै गएको संरक्षणकर्मीहरूको भनाइ छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार बाघको संख्या बढ्नु सबै सरोकारवाला निकाय, सुरक्षाकर्मी र स्थानीय समुदायको सामूहिक प्रयासको परिणाम हो । उनका अनुसार बाघ बढेसँगै संरक्षणका चुनौती पनि बढेका छन्, तर यसले पर्यटन र जैविक विविधता संरक्षणका नयाँ अवसरसमेत सिर्जना गरेको छ ।


‘जहाँ आहारा र सुरक्षित ठाउँ हुन्छ, बाघ त्यही आउँछ,’ कँडेलले भने, ‘बाँके राष्ट्रिय निकुञ्ज अहिले पर्याप्त आहारा, पानी र सुरक्षित बासस्थान भएको क्षेत्रका रूपमा स्थापित भएको यो तथ्यांकले पुष्टि गरेको छ ।’ उनका अनुसार बाँके राष्ट्रिय निकुञ्ज चुरे–भावर क्षेत्रमा पर्ने भएकाले यहाँ सुख्खा मौसममा पानीको अभाव हुने समस्या थियो । त्यसलाई समाधान गर्न निकुञ्जले करिब ३० वटा कृत्रिम पोखरी निर्माण गरेको छ भने पाइपमार्फत विभिन्न जलाशयमा पानी पुर्याउने व्यवस्था गरिएको छ । चारैतिर पानीको पहुँच विस्तार भएपछि वन्यजन्तुका लागि अनुकूल वातावरण बनेको उनले बताए । निकुञ्जभित्र घाँसे मैदानको व्यवस्थापन, आहारा प्रजातिको संरक्षण तथा चोरीसिकारी नियन्त्रणमा गरिएको प्रभावकारी प्रयासले पनि बाघको संख्या बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । जरायो, चित्तल, चौका, निलगाई लगायतका आहारा प्रजातिको उपलब्धता बढ्दा बाघका लागि आवश्यक खाद्य शृंखला सुदृढ भएको संरक्षणकर्मीहरू बताउँछन् ।
त्यसैगरी निकुञ्ज क्षेत्रमा करिब ५६ किलोमिटर परिधिसम्म सुरक्षा व्यवस्थापन र नियमित निगरानी सुदृढ गरिएको छ । चोरीसिकारी नियन्त्रणका लागि नेपाली सेना, निकुञ्ज प्रशासन र स्थानीय समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाइएको कँडेलले जानकारी दिए । उनका अनुसार बाघको संख्या बढ्नु बाँके राष्ट्रिय निकुञ्जको पारिस्थितिक प्रणाली सुदृढ हुँदै गएको संकेत हो । बाघ बस्नका लागि आवश्यक पानी, आहारा र सुरक्षित बासस्थान उपलब्ध हुँदा बाघको प्रजनन दर पनि सकारात्मक भएको उनले बताए ।
‘बाघको संख्या बढ्नु मात्र पर्याप्त होइन, त्यसको दीर्घकालीन संरक्षण अझ महत्वपूर्ण विषय हो,’ कँडेलले भने, ‘अब मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, सडक दुर्घटनाबाट हुने क्षति रोकथाम र बासस्थानको संरक्षणमा थप ध्यान दिन आवश्यक छ ।’ बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या ५१ पुगेसँगै यो क्षेत्र नेपालका महŒवपूर्ण बाघ बासस्थानमध्ये एकका रूपमा थप मजबुत बनेको छ । संरक्षणविद्हरूका अनुसार पछिल्लो उपलब्धिले बाँकेमा गरिएको संरक्षण प्रयास प्रभावकारी रहेको पुष्टि गरेको छ र भविष्यमा पर्यटन, अनुसन्धान तथा जैविक विविधता संरक्षणका क्षेत्रमा नयाँ सम्भावनाहरू समेत खोल्ने अपेक्षा गरिएको छ ।
‘जहाँ आहारा र सुरक्षित बासस्थान हुन्छ, बाघ त्यही आउँछ’

वीरेन्द्रप्रसाद कँडेल
प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत
बाँके राष्ट्रिय निकुञ्ज
बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या ५१ पुगेको छ । यसलाई कसरी हेर्नुभएको छ ?
यो बाँके राष्ट्रिय निकुञ्जका लागि अत्यन्तै सकारात्मक र उत्साहजनक उपलब्धि हो । यसअघि २५ वटा बाघ रहेकोमा अहिले ५१ पुगेको छ, अर्थात् शतप्रतिशतभन्दा बढी वृद्धि भएको छ । यो केवल निकुञ्ज प्रशासनको मात्र उपलब्धि होइन, नेपाली सेना, सुरक्षाकर्मी, स्थानीय समुदाय र सबै सरोकारवालाको सामूहिक प्रयासको परिणाम हो ।
बाघको संख्या यति धेरै बढ्नुको मुख्य कारण के हो ?
मुख्य कारण भनेको बाघका लागि आवश्यक आहारा, पानी र सुरक्षित बासस्थानको उपलब्धता हो । जहाँ आहारा र सुरक्षित ठाउँ हुन्छ, बाघ त्यही आउँछ । बाँके राष्ट्रिय निकुञ्ज अहिले बाघ बस्नका लागि उपयुक्त क्षेत्र बनेको छ । चोरीसिकारी नियन्त्रण, घाँसे मैदान व्यवस्थापन र वन्यजन्तुको संरक्षणले पनि ठूलो भूमिका खेलेको छ ।
निकुञ्जले पानी व्यवस्थापनका क्षेत्रमा के काम गरेको छ ?
बाँके राष्ट्रिय निकुञ्ज चुरे–भावर क्षेत्रमा पर्ने भएकाले यहाँ सुख्खा मौसममा पानीको अभाव हुने समस्या थियो । त्यसलाई समाधान गर्न हामीले करिब ३० वटा कृत्रिम पोखरी निर्माण गरेका छौं । पाइपमार्फत विभिन्न जलाशयमा पानी पुर्याउने व्यवस्था पनि गरिएको छ । यसले वन्यजन्तु र बाघ दुवैका लागि अनुकूल वातावरण बनाएको छ ।
आहारा प्रजातिको व्यवस्थापन कत्तिको प्रभावकारी भएको छ ?
निकुञ्जभित्र घाँसे मैदानको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । जरायो, चित्तल, चौका, निलगाई लगायतका आहारा प्रजातिको संख्या र उपलब्धता बढेको छ । बाघका लागि पर्याप्त खाद्य स्रोत उपलब्ध हुनु यसको वृद्धिको महत्वपूर्ण आधार हो ।
अबको सबैभन्दा ठूलो चुनौती के देख्नुहुन्छ ?
बाघको संख्या बढ्नु खुशीको कुरा हो, तर यससँगै चुनौती पनि बढ्छन् । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, सडक दुर्घटनाबाट हुने क्षति रोकथाम, बासस्थान संरक्षण र चोरीसिकारी नियन्त्रणलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । संरक्षणलाई दिगो बनाउन स्थानीय समुदायको सहभागिता झन् महत्त्वपूर्ण हुन्छ ।
अन्त्यमा, बाँकेका नागरिकलाई के भन्न चाहनुहुन्छ ?
बाघ हाम्रो प्राकृतिक सम्पदा हो । यसको संरक्षण केवल निकुञ्जको जिम्मेवारी होइन, सबैको साझा दायित्व हो । स्थानीय समुदायको साथ र सहयोगले नै आजको उपलब्धि सम्भव भएको हो । आगामी दिनमा पनि यही सहकार्य कायम रह्यो भने बाँके राष्ट्रिय निकुञ्ज अझ सुरक्षित र समृद्ध वन्यजन्तु आवासका रूपमा स्थापित हुनेछ ।
















