काठमाडौं । सरकारले विभिन्न १३ देशका लागि राजदूतमा सिफारिस गरेका व्यक्तिहरूमध्ये कसैलाई नियुक्त नगर्न मागसहित संसदीय सुनुवाइ समितिमा पाँचवटा उजुरी परेका छन्। सार्वजनिक बिदाका कारण उजुरी दिने म्याद थपिएपछि सोमबारसम्म समितिमा पाँचवटा उजुरी दर्ता भएका हुन्।
समितिले राजदूतमा सिफारिस भएका व्यक्तिहरूका सम्बन्धमा कुनै सूचना, गुनासो वा उजुरी भए प्रमाणसहित पेस गर्न सार्वजनिक आह्वान गरेको थियो। प्राप्त उजुरीहरू मंगलबार बस्ने समितिको बैठकमा खोलिनेछन्।
संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बिहान ११ः१५ बजेका लागि बोलाइएको छ। बैठकमा प्राप्त उजुरी खोल्नुका साथै राजदूतमा सिफारिस भएका व्यक्तिहरूको कार्ययोजनासमेत वितरण गर्ने तयारी गरिएको छ।
समितिले असोज ८ गतेको बैठकबाट राजदूतमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। सुनुवाइका क्रममा प्राप्त उजुरीमाथि अध्ययन तथा आवश्यक प्रक्रिया पूरा गरेपछि समितिले आफ्नो निर्णयसहित राजदूत नियुक्तिका लागि बाटो खुलाउनेछ।

मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरवशमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई राजदूतमा सिफारिस गरिएको छ।
त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्राडा सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ।
समितिमा परेका पाँचवटै उजुरी कुन–कुन सिफारिस भएका व्यक्तिविरुद्ध हुन् भन्ने विवरण भने मंगलबार उजुरी खोलेपछि मात्रै सार्वजनिक हुनेछ। त्यसपछि समितिले उजुरीको विषयवस्तु अध्ययन गरी सम्बन्धित सिफारिस भएका व्यक्तिसँग आवश्यक स्पष्टीकरण तथा सुनुवाइको प्रक्रिया अघि बढाउनेछ।

















