२०८३ मंसिर ७ आईतवार
२०८३ मंसिर ७ आईतवार

आज काग तिहार र धन्वन्तरि जयन्ती मनाइँदै


नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन आज कात्तिक कृष्ण त्रयोदशीका अवसरमा काग तिहार मनाइँदैछ । हिन्दू धर्म र संस्कृतिमा कागलाई यमराजको दूतका रूपमा मानिने भएकाले आज कागको पूजा गरी मीठा परिकार खान दिने परम्परा छ ।

धार्मिक मान्यताअनुसार कागले यमराजसमक्ष मानिसका सन्देश पुर्‍याउने विश्वास गरिन्छ । कागलाई सन्देशवाहकका रूपमा सम्मान गर्दै आज बिहान घरको छत, आँगन वा खुला स्थानमा खानेकुरा राखेर कागलाई बोलाउने र खुवाउने चलन छ । कागलाई पूजा गर्दा परिवारमा सुख, शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वाससमेत रहेको छ । तिहारको पहिलो दिन कागको पूजा गरेर पाँच दिनसम्म मनाइने यस पर्वको औपचारिक सुरुआत गरिन्छ । तिहारमा काग, कुकुर, गाई, गोरु र दाजुभाइको पूजा गर्ने परम्परा छ ।

आजकै दिन आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको सम्झनामा धन्वन्तरि जयन्ती पनि मनाइँदैछ । समुद्र मन्थनका क्रममा अमृतको कलशसहित भगवान् धन्वन्तरिको प्रादुर्भाव भएको धार्मिक विश्वासका आधारमा प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन धन्वन्तरि जयन्ती मनाउने गरिन्छ । भगवान् धन्वन्तरिलाई आयुर्वेद चिकित्साका प्रवर्तक तथा स्वास्थ्य र आरोग्यका प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ । यस अवसरमा वैद्य, चिकित्सक, आयुर्वेदका विद्यार्थी तथा स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्तिहरूले विशेष पूजा तथा विभिन्न कार्यक्रम आयोजना गर्छन् । नेपालमा विसं १९७४ मा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पस स्थापना भएपछि विधिवत् रूपमा धन्वन्तरि जयन्ती मनाउन थालिएको मानिन्छ । विसं २०५६ देखि यस दिनलाई आरोग्य दिवसका रूपमा समेत मनाउन थालिएको हो ।

धन्वन्तरि जयन्तीका अवसरमा आयुर्वेद अस्पताल, क्याम्पस, वैद्यखाना तथा आयुर्वेद क्षेत्रमा क्रियाशील संघसंस्थाले विभिन्न कार्यक्रम गरी आयुर्वेद चिकित्सा पद्धतिको महत्त्व र प्राकृतिक औषधिको उपयोगबारे जनचेतना फैलाउने गरेका छन् । काग तिहार र धन्वन्तरि जयन्तीले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै प्रकृति, स्वास्थ्य र जीवजन्तुप्रतिको सम्मानको सन्देश दिने विश्वास गरिन्छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।