नेपालगञ्ज । नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरस्थित तलाउमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ । छठ पर्वको अन्तिम दिन बिहानैदेखि ठूलो संख्यामा व्रतालु तथा श्रद्धालुहरू तलाउ परिसरमा भेला भएर सूर्यदेवको पूजा आराधना गरेका थिए ।
आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरूले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चारदिने छठ पर्वको समापन गरेका हुन् । सूर्यको उपासना, आराधना र प्रकृतिप्रतिको सम्मानका रूपमा मनाइने छठ पर्वमा नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा भक्तजनको उल्लेख्य सहभागिता देखिएको थियो ।
छठ पर्वलाई लक्षित गरी यस वर्ष पनि बागेश्वरी मन्दिर परिसरस्थित तलाउलाई आकर्षक रूपमा सजाएर छठी घाट निर्माण गरिएको थियो । घाट क्षेत्रमा टेन्ट, विद्युत् बत्ती, सरसफाइ तथा बाजागाजाको व्यवस्था मिलाइएको थियो । त्यस्तै, सांस्कृतिक भजन प्रस्तुतिका लागि मञ्चसमेत निर्माण गरिएको थियो ।
पछिल्ला वर्षहरूमा नेपालगञ्जमा छठ पर्व मनाउनेको संख्या बढ्दै गएको छ । पहिले विशेषगरी पूर्वी तराई र मधेस क्षेत्रमा धुमधामका साथ मनाइने यो पर्व पछिल्लो समय पश्चिम नेपालमा पनि उत्तिकै श्रद्धा र उत्साहका साथ मनाउन थालिएको छ । नेपालगञ्जमा बागेश्वरी मन्दिर परिसरको तलाउ छठ पर्व मनाउने प्रमुख स्थलका रूपमा स्थापित हुँदै गएको छ ।

चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले नुहाएर चोखो भई सात्त्विक भोजन ग्रहण गर्छन् । दोस्रो दिन खरना विधिअन्तर्गत खिरलगायतका प्रसाद ग्रहण गरिन्छ । तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ ।
















