मुगु । मुगुमा भएको पिकअप जिप दुर्घटनामा घाइते भएका दुई जनालाई थप उपचारका लागि सोमबार काठमाडौं लगिएको छ। गम्भीर घाइते अन्जु थापा र कञ्चन थापालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याएर सेनाकै स्काई ट्रकमार्फत काठमाडौं पठाइएको हो।
दुर्घटनामा मृत्यु भएका तीन जनाको शव सुर्खेत ल्याउने तयारी पनि गरिएको छ। शव ल्याउन नेपाली सेनाको हेलिकप्टर पुनः मुगु जाने तयारी भइरहेको छ। हेलिकप्टरबाट शव सुर्खेत ल्याएर व्यवस्थापन गर्ने विषयमा सम्बन्धित निकायबीच छलफल भइरहेको जनाइएको छ।
आइतबार दिउँसो करिब ४ बजे मुगुको छायाँनाथ रारा नगरपालिका क्षेत्रमा पिकअप जिप दुर्घटना भएको थियो। दुर्घटनामा पाँच जना घाइते भएका थिए भने तीन जनाको मृत्यु भएको थियो।

















